काठमाडौँ ।
नेपाल लेयर्स कुखुरापालक संघले फार्म समर्थन बिक्री मूल्यमा पुनः वृद्धि गरेसँगै बजारमा अन्डाको भाउले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबारदेखि लागू हुने गरी संघले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार सबै प्रकारका अन्डामा प्रतिक्रेट १५ रूपैयाँँ वृद्धि गरिएको छ । यो वृद्धिसँगै अन्डाको फार्म मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । लागत मूल्यमा भएको वृद्धि र बजार माग सन्तुलनमा राख्न मूल्य समायोजन गर्नुपरेको संघको दाबी छ ।
यसअघि ४ भदौमा तोकिएको मूल्य अनुसार एक्सएल आकारको अन्डाको फार्म मूल्य प्रतिक्रेट ५ सय ९० रूपैयाँँ रहेकोमा अहिले १५ रूपैयाँँ बढेर ६ सय ५ रूपैयाँँ पुगेको छ । त्यसैगरी ठूलो अन्डा प्रतिक्रेट ५ सय ७५ बाट ५ सय ९० रूपैयाँँ पुगेको छ भने मिडियम अन्डाको मूल्य ५ सय ३५ बाट ५ सय ५० रूपैयाँँ कायम भएको छ ।
सानो अन्डाको हकमा भने प्रतिपेटी ३ हजार २ सय रूपैयाँँ नै यथावत राखिएको छ । यो फार्म मूल्य हो । उपभोक्ता मूल्य भने २५ रूपैयाँँ तोकिएको छ । त्यस्तै मिडियम अन्डा दुई वटा खरिद गर्दा उपभोक्ताले ४५ रूपैयाँँ (प्रति गोटा साढे २२ रूपैयाँँ) भुक्तानी गर्नुपर्ने छ । संघ सचिव मदन पोखरेलका अनुसार चितवनलाई मुख्य आधार मानी यो मूल्य देशभरिका लागि तय गरिएको हो । पछिल्लो समय कुखुराको दाना, औषधि र ढुवानी खर्चमा भएको निरन्तरको मूल्य वृद्धिका कारण किसान मर्कामा परिरहेको संघले बताउँदै आएको छ ।









प्रतिक्रिया दिनुहोस्