कैलाली ।
कैलालीको लम्कीचुहा नगरपालिका–१ मा मुख्य कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र टीकापुर नगरपालिका–१ स्थित ओम कृष्ण अस्पताल तथा रिसर्च सेन्टर प्रालिबीच स्वास्थ्य सेवा तथा सहुलियतसम्बन्धी द्विपक्षीय सम्झौता भएको छ। ‘स्वस्थ सदस्य, समृद्ध समुदाय’ भन्ने उद्देश्यका साथ बुधबार आयोजित विशेष समारोहमा दुवै संस्थाबीच सम्झौता–पत्रमा औपचारिक हस्ताक्षर गरिएको हो।
सम्झौतासँगै कैलालीको लम्कीचुहा र टीकापुर नगरपालिका, जानकी तथा जोशीपुर गाउँपालिका र बर्दियाको राजापुर नगरपालिका क्षेत्रमा बसोबास गर्ने सहकारीका २३ हजारभन्दा बढी शेयर सदस्य तथा उनीहरूका एकाघरका आश्रित परिवारजन प्रत्यक्ष लाभान्वित हुने भएका छन्।
उपचारमा १० देखि २० प्रतिशतसम्म छुट
सम्झौताअनुसार किसान बहुउद्देश्यीय सहकारीका सदस्य तथा उनीहरूका एकाघरका परिवारले ओम कृष्ण अस्पतालबाट विभिन्न स्वास्थ्य सेवा लिँदा न्यूनतम १० प्रतिशतदेखि अधिकतम २० प्रतिशतसम्म विशेष छुट पाउनेछन्। अस्पतालले जनरल बेड तथा क्याबिनमा बिरामी भर्ना, आईसीयू, एनआईसीयू, विभिन्न जटिल तथा सामान्य शल्यक्रिया, ल्याब परीक्षण, भिडियो एक्सरे, एक्सरे तथा अस्पतालको आफ्नै फार्मेसीबाट औषधि खरिदमा तोकिएको सहुलियत उपलब्ध गराउनेछ।
यसैगरी ओपीडी दर्ता तथा एमबीबीएस चिकित्सकको परामर्श शुल्क अधिकतम रु। १५० कायम गरिएको छ। नियमित फलो–अप परामर्श भने पूर्ण रूपमा निःशुल्क हुने व्यवस्था गरिएको छ। सहुलियत सुविधा लिन सेवाग्राहीले अस्पतालमा शुल्क भुक्तानी गर्नुअघि किसान सहकारीले जारी गरेको आधिकारिक शेयर सदस्य परिचयपत्र वा सम्बन्धित शाखा कार्यालयको सिफारिस पत्र पेस गर्नुपर्नेछ।
स्वास्थ्य शिविरदेखि सचेतना कार्यक्रमसम्म
सम्झौतापछि दुई संस्थाको संयुक्त पहलमा समुदायस्तरमा निःशुल्क स्वास्थ्य शिविर, मातृशिशु कल्याणसम्बन्धी कार्यक्रम तथा विभिन्न स्वास्थ्य सचेतनामूलक गतिविधिसमेत सञ्चालन गरिने भएको छ। सम्झौता–पत्रमा हस्ताक्षरपछि ओम कृष्ण अस्पतालका प्रबन्ध निर्देशक कृष्णप्रसाद उपाध्याय ९बजगाईं० ले समुदायमा आधारित सहकारीका सदस्यलाई सहुलियत दरमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन पाउँदा खुसी लागेको बताउनुभयो।
उहाँले पूर्वी कैलालीमा अत्याधुनिक प्रविधि तथा उपकरणसहित विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालबाट सहकारीका सदस्य तथा उनीहरूका परिवारले वास्तविक राहत पाउने विश्वास व्यक्त गर्नुभयो। किसान बहुउद्देश्यीय सहकारी संस्थाका महाप्रबन्धक डम्बरबहादुर शाहले सहकारीले वित्तीय कारोबारसँगै सदस्यहरूको सामाजिक सुरक्षा र स्वास्थ्य सेवामा समेत प्रत्यक्ष टेवा पुर्याउने उद्देश्यले अस्पतालसँग सहकार्य गरेको बताउनुभयो।
उहाँले सम्झौताबाट प्राप्त स्वास्थ्य सहुलियतको अधिकतम लाभ लिन सम्पूर्ण शेयर सदस्य तथा उनीहरूका परिवारलाई आग्रह गर्नुभयो। सुदूरपश्चिम प्रदेश तथा लुम्बिनी प्रदेशको राजापुर नगरपालिका कार्यक्षेत्र रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थामा हाल ७६ हजार ८८४ जना शेयर सदस्य आबद्ध रहेका छन्। सम्झौताको क्षेत्रअनुसार २३ हजारभन्दा बढी सदस्य तथा उनीहरूका आश्रित परिवारले ओम कृष्ण अस्पतालबाट सहुलियतपूर्ण स्वास्थ्य सेवा प्राप्त गर्नेछन्।









प्रतिक्रिया दिनुहोस्