नेपाल भलिबल लिगको खेलतालिका सार्वजनिक



काठमाडौँ ।

नेपाल भलिबल लिग (एनभीएल)को पहिलो खेलमा सगरमाथा स्म्यासर्स र मधेश वारियर्सबीच प्रतिस्पर्धा हुने भएको छ । आयोजक केडिया ग्रुपले आइतबार लिगको खेलतालिका सार्वजनिक गरेको हो । यही भदौ १९ देखि त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा हुने लिगको पहिलो दिन दुई खेल हुनेछ । पहिलो दिनको दोस्रो खेल अन्नपूर्ण स्पाइकर किंग्स र कर्णाली शिवराजबीच हुनेछ ।

नेपालमा पहिलो पटक आयोजना हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिगमा कूल ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । लिगमा कूल १७ खेल हुनेछ । लिग चरणको खेलहरू सिंगल राउन्ड रोबिनको आधारमा हुनेछ । लिग चरणमा १५ खेल हुनेछ । लिग चरणको खेलहरू पछि शीर्ष स्थानमा रहने टोली सिधै फाइनल प्रवेश गर्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीच प्लेअफ खेल हुनेछ । यो खेलको विजेता फाइनल प्रवेश गर्नेछ ।

पहिलो दिनको टिकट बिक्रीको रकम उद्धार कोषमा जम्मा गरिने

एनभीएलले भोटेकोशी बाढीपीडितको सहयोगका लागि लिगको पहिलो दिनको टिकट बिक्रीबाट संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ । एनभीएलले भदौ १९ गते हुने पहिलो दिनका खेलको टिकट बिक्रीबाट प्राप्त सम्पूर्ण रकम बाढीपीडितको उद्धार तथा राहतका लागि कोषमा उपलब्ध गराउने घोषणा गरेको हो ।

एनभीएलका टिकटहरू खल्ती बाई आईएमईमार्फत अनलाइन तथा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलबाट खरिद गर्न सकिनेछ । खल्ती बाई आईएमईमार्फत भदौ १४ गतेदेखि टिकट बुकिङ खुला गरिएको छ ।
भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि एनभीएलले खेलकुदमार्फत प्रभावित परिवारको सहयोगमा योगदान गर्ने निर्णय गरेको जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ १६ गते मंगलबार