बाँके ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय दाङका कार्यालय प्रमुख रामपुकार जयसवाल, डिभिजन वन कार्यालय दाङ (देउखुरी)का तत्कालीन वन अधिकृत राजु क्षेत्री र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पूर्व पश्चिम राजमार्गको भालुवाङ्ग लमही सडकखण्डअन्तर्गत रहेका २ हजार ७२४ थान रुख कटान गरि मिलेमतोमा ४० हजार ५५५ घनफिट काठको कूल जम्मा ८१ लाख ३७ हजार नौ सय रूपैयाँँ हिनामिना गरेको अख्तियारको आरोप छ ।
आयोगले सोमबार सडक र वन अधिकृत, पालिका अध्यक्ष, दुई जना वडाअध्यक्षसहित ९ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । आयोगका अनुसार पूर्व पश्चिम राजमार्गको भालुवाङ्ग लमही सडक खण्डको चे.६९०+००० पाखापानी देखि चे.७१२+००० लमही खण्डमा सडक क्षेत्राधिकार भित्रका सिसौलगायत अन्य जातका काठ÷कुकाठ, ठूला, मझौला र सानासमेत गरी करिब १४०० भन्दा बढी सङ्ख्यामा रूखहरू कटानी भएको विवरण डिभिजन सडक दाङबाट पेस भएको छ ।
वन जंगल तथा बोटबिरूवाको संरक्षण सम्बद्र्धन र उपयोगमा जिल्ला स्थित डिभिजन वन कार्यालयहरूले नियामक र नेतृत्वदायी दुवै भूमिका खेल्नुपर्नेमा सडक विभागको स्वामित्वमा रहेको पूर्व पश्चिम राजमार्गको सडक सीमा २५÷२५ मिटर भित्रका यस्ता जोखिमयुक्त रूखहरू हटाउन विभागीय प्रक्रिया चलिरहेको साथै लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरी राप्ती उपत्यकामा सार्न मिति तोकिएको अवस्थामा २०७९ मंसिरको अन्तिम हप्ता र पुसको पहिलो हप्तामा जिल्लास्थित वन पदाधिकारीहरूको संलग्नतामै रूखहरू कटान गरी काठहरू गायब पारी सरकारी सम्पत्तिको हिनामिना गरेको भन्नेसमेत बेहोराको उजुरी अख्तियारमा प्राप्त भएको जनाएको छ ।
सो सम्बन्धमा अनुसन्धान हुँदा सडक डिभिजन कार्यालय दाङका कार्यालय प्रमुख रामपुकार जयसवाल समेतको मिलेमतोमा जिल्ला दाङ, राप्ती गाउँपालिका वडा नं.१ पाखापानीदेखि लमही नगरपालिका–४ अर्नहवासम्मको पूर्व पश्चिम राजमार्गको दायाँ बायाँ दुवै किनारको सडक क्षेत्राधिकारभित्र काटिएका सिमल, सिसौलगायत विभिन्न जातका रूख थान २७२४ कटान भएको देखिन्छ ।
प्रतिवादीहरूको एक आपसको मिलेमतोमा वदनियत गरी सूचना प्रकाशन गर्ने गराउने कार्य गरे गराएको देखिएको, पालिका र उक्त वडा कार्यालयले सूचना बमोजिमको कार्य गर्न संयन्त्र बनाई उक्त कार्य गर्नु गराउनु पर्नेमा बदनियतपूर्वक सरकारी सम्पत्ति संक्षण गर्ने कार्य गरे गराएको नदेखिएको, डिभिजन वन कार्यालय दाङ (देउखुरी)ले आफ्नो क्षेत्राधिकार भित्र राप्ती गाउँपालिका र लमही नगरपालिकाअन्तर्गत रहेका रूखहरू अनधिकृत रूपमा कटान हुँदा तत्कालै नियन्त्रणमा लिन सकिनेमा जानी बुझी वदनियतपूर्वक बेमतलव गरेको अख्तियारको ठहर छ ।
सडक डिभिजन दाङले आफ्नो सडक क्षेत्रभित्रका रूख कटान भएको सम्बन्धमा सार्वजनिक सडक ऐन, २०३१ मा भएको व्यवस्थाबमोजिम कुनै छानबिन समिति वा अनुसन्धान अधिकृत तोकी अनुसन्धान कार्य अगाडि नबढाइ प्रचलित कानुनको कार्यविधि पूरा नगरी बिनाइजाजत अवैध रूपमा सडक क्षेत्राधिकारभित्र पर्ने रूखहरूको कटान गरी ओसारपसार गरी विभिन्न जातको ४० हजार ५५५ घनफिट काठको कूल जम्मा ८१ लाख ३७ हजार नौ सय रूपैयाँँ हानिनोक्सानीसमेत गरेको कसुर पुष्टि हुन आएको अख्तियारले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्