गजेन्द्र गुरुङ । नेपालगन्ज (बाँके) ।
नेपाल–भारत सीमानजिक भारतको रुपैडिहास्थित नेपालगन्ज रोड रेलवे स्टेसनबाट वाराणसीसम्मको रेल सेवा सोमबारदेखि सञ्चालनमा आएको छ । भारतका केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णव र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालगन्ज रोड रेलवे स्टेसनमा संयुक्त रुपमा नयाँ रेल सेवाको शुभारम्भ गरेका हुन् । नेपालमा हालै भएको प्राकृतिक विपत्तिप्रति सम्मान जनाउँदै कार्यक्रममा दुई मिनेट मौनधारणसमेत गरिएको थियो ।
बहराइच–नानपारा–नेपालगन्ज रोड रेलखण्डको स्तरोन्नति तथा विद्युतीकरण सम्पन्न भएपछि नयाँ सेवा सुरु गरिएको हो । करिब ५६ किलोमिटर लामो रेलखण्ड स्तरोन्नतिका लागि करिब ७३० करोड भारतीय रूपैयाँ खर्च भएको जानकारी दिइएको छ । यससँगै नेपालगन्ज रोड, बाबागन्ज, नानपारा, मटेरा, रिसिया र बहराइचलगायतका स्टेसनबाट रेल सेवा सञ्चालनमा आएको छ । नयाँ सेवाअन्तर्गत नेपालगन्ज रोडबाट वाराणसीसम्म इन्टरसिटी तथा एक्सप्रेस रेल सञ्चालन हुनेछन् । गोंडाबाट नेपालगन्ज रोडसम्म यात्रुवाहक रेल सेवासमेत विस्तार गरिएको छ ।
नेपालगन्ज रोडबाट वाराणसी जाने इन्टरसिटी बिहान करिब ४ बजे छुटेर दिउँसो १ः३५ बजे वाराणसी पुग्ने र वाराणसीबाट दिउँसो २ बजे छुटेर राति ११ बजे नेपालगन्ज रोड पुग्ने समयतालिका सार्वजनिक गरिएको छ । भारतका केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवले नेपालमा भएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरे । भारत र नेपालबीचको निकट सम्बन्धलाई स्मरण गर्दै उनले विपत्तिबाट प्रभावित नेपाली तथा अन्य यात्रुलाई आवश्यक सहयोग भइरहेको बताए ।
वैष्णवले सीमा क्षेत्रबाट उद्धार भएर भारतीय रेलवे स्टेसनमा पुगेका यात्रुलाई गन्तव्यसम्म पु¥याउन रेल अधिकारीहरूले सम्बन्धित प्रशासन तथा भारतीय विदेश मन्त्रालयसँग समन्वय गरिरहेको बताए ।
नयाँ रेल सेवाले सीमावर्ती क्षेत्रका नागरिकको आवागमन सहज बनाउने उनको भनाइ थियो । शिक्षा, स्वास्थ्य, रोजगारी तथा व्यापारका लागि हुने यात्रामा नयाँ रेल सम्पर्क उपयोगी हुने अपेक्षा उनले व्यक्त गरे । मुख्यमन्त्री योगी आदित्यनाथले नयाँ रेल सम्पर्कले बहराइच र सीमावर्ती क्षेत्रको विकासलाई गति दिने बताए । उनले बहराइचबाट नेपालगन्ज रोडसम्मको रेल सम्पर्कलाई क्षेत्रीय कनेक्टिभिटी विस्तारको नयाँ सुरुवातका रूपमा व्याख्या गरे ।
योगीले आगामी दिनमा बहराइचलाई अन्य क्षेत्रसँग रेलमार्फत जोड्ने योजनासमेत अघि बढिरहेको बताए । नेपालगन्ज रोडसँगको रेल सम्पर्कले सीमावर्ती क्षेत्रमा आवागमनसँगै आर्थिक गतिविधि विस्तार गर्न सहयोग पुग्ने उनको भनाइ थियो । ७३० करोड भारतीय रूपैयाँको लागतमा तयार भएको परियोजनाले भारत–नेपाल सम्पर्क तथा व्यापारिक सम्बन्धलाई थप बलियो बनाउने उनको भनाइ थियो ।
नेपाली यात्रुलाई सहजता
रुपैडिहा नेपालगन्जसँग जोडिएको प्रमुख भारतीय सीमावर्ती बजार भएकाले नयाँ रेल सेवाको प्रभाव नेपालगन्जसहित पश्चिम नेपालका यात्रुमा समेत पर्ने अपेक्षा गरिएको छ । नेपालगन्जबाट स्थलमार्ग हुँदै रुपैडिहा पुगेपछि नेपाली यात्रुले भारतका विभिन्न सहरसम्म रेलमार्फत यात्रा गर्न सक्नेछन् । विशेषगरी उपचार, शिक्षा, रोजगारी, व्यापार तथा धार्मिक यात्राका लागि भारत जाने नेपालीका लागि रेल सेवा नयाँ यातायात विकल्प बन्न सक्छ । वाराणसी, गोरखपुरलगायतका सहरसँग रेल सम्पर्क विस्तार हुँदा पश्चिम नेपालबाट भारततर्फ हुने लामो दूरीको यात्रामा सहजता थपिने देखिएको छ । नयाँ सेवाबाट नेपाल सीमासँग जोडिएका यात्रु तथा व्यवसायीलाई लाभ पुग्ने र यसले व्यापार तथा आवागमनलाई गति दिने अपेक्षा गरिएको छ ।
नेपालगन्जको व्यापारमा पनि प्रभाव
नेपालगन्ज–रुपैडिहा नाका पश्चिम नेपाल र भारतबीचको महत्वपूर्ण व्यापारिक तथा यात्रु आवागमनको मार्ग हो । रुपैडिहाबाट भारतका प्रमुख सहरसम्म रेल सम्पर्क विस्तार भएपछि नेपालगन्जका व्यवसायी तथा भारतका विभिन्न सहरमा व्यापारिक कारोबार गर्ने नेपालीलाई यातायातको नयाँ विकल्प प्राप्त भएको छ । रेलमार्फत भारतीय बजारसम्मको पहुँच विस्तार हुँदा नेपालगन्जमा हुने व्यापार, होटल, यातायात, पर्यटन तथा अन्य सेवामूलक गतिविधिमा समेत प्रभाव पर्न सक्ने देखिएको छ ।
यात्रु आवागमन बढेमा सीमावर्ती दुई सहरमा सेवा तथा व्यापारका नयाँ गतिविधि थपिन सक्ने सम्भावना छ । तर, नयाँ रेल सेवा नेपाली भूमिसम्म विस्तार भएको भने होइन । नेपाली यात्रुले नेपालगन्जबाट सडकमार्ग हुँदै रुपैडिहा पुगेर रेल चढ्नुपर्नेछ । त्यसैले यात्रुको सङ्ख्या बढ्दै जाँदा नेपालगन्ज–रुपैडिहा सडक, सीमा नाका, पार्किङ तथा सार्वजनिक यातायात व्यवस्थापनमा थप दबाब पर्न सक्छ । नेपालले नयाँ रेल सेवाबाट सिर्जना हुने अवसरलाई व्यापार, पर्यटन र यात्रासँग जोड्न सके भारतका प्रमुख सहरसँग पश्चिम नेपालको सम्पर्क थप सहज हुन सक्छ ।
त्यसका लागि नेपालतर्फको सीमा पूर्वाधार, यात्रु सहजीकरण र सार्वजनिक यातायात व्यवस्थापनलाई पनि समयानुकूल सुधार गर्नुपर्ने आवश्यकता देखिन्छ । रुपैडिहाबाट वाराणसीसम्मको रेल सेवा भारतको सीमावर्ती पूर्वाधार विस्तार मात्र नभई नेपालसँग जोडिएको यातायात सञ्जालको विस्तारसमेत हो । यसको प्रभावकारी उपयोग गर्न सके यसले नेपाल–भारत सीमावर्ती व्यापार, पर्यटन र जनस्तरको आवागमनमा नयाँ सम्भावना खोल्न सक्नेछ ।









प्रतिक्रिया दिनुहोस्