काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले बाढी तथा डुबानबाट प्रभावित नागरिकहरूको व्यवस्थापनका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा डिजिटल माध्यमबाट पठाइने राहत रकमको अधिकतम कारोबार सीमा हटाएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले बिहीबार अनुमतिप्राप्त भुक्तानीसम्बन्धी कार्य गर्ने सबै संस्थाहरूलाई एक पत्र जारी गर्दै यो विशेष व्यवस्था लागू गर्न निर्देशन दिएको हो । हाल बाढी र डुबान पीडितहरूको सहयोगार्थ नेपाल सरकारद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत आर्थिक सहयोग परिचालन भइरहेको छ ।
‘यस संवेदनशील परिस्थितिमा मोबाइल बैंकिङ, वेब एप्लिकेसन तथा ई–मनी (डिजिटल वालेट)मार्फत यी कोषका खाताहरूमा रकम पठाउँदा भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२’ को निर्देशन नं. ५÷०८२ को बुँदा नं. २ र ३ मा तोकिएको अधिकतम कारोबार सीमा लागू हुने छैन,’ जारी पत्रमा उल्लेख छ । भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक निश्चल अधिकारी यस निर्णयले दाताहरूलाई बिनाझन्झट जतिसुकै सहयोग रकम पनि डिजिटल माध्यमबाट सोझै आधिकारिक खातामा पठाउन सहज बनाउने बताउँछन् ।
यस्तो सहयोग आधिकारिक राहत कोषका खाताहरूमा पठाउनु पर्नेछ । विपद् व्यवस्थापनका लागि स्थापित यस कोषमा तोकिएका ९ बैंकका १५ खाता नम्बरमार्फत रकम जम्मा गर्न सकिनेछ ।
जसमा हिमालयन बैंक लिमिटेडमा भने अमेरिकी डलरका लागि खाता नम्बर ०१९०५६३१२१००४६ तोकिएको छ । यस्तै अन्य बैंकमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको खाता ०१०१३२४३८०१ र ०२०१३२४३८०१, राष्ट्रिय वाणिज्य बैंकको ११३०१००००३७६२००१ र ११३०१०००००००६००६, एभरेष्ट बैंकको ००१००१०५२००२७० र ००१०११०२२०००१२, नेपाल बैंकको ००२११६००५१००३९०००००३ र ००२००१००५१००३९०००००१ खातामार्फत सहयोग गर्न सकिने छ ।
यसैगरी ग्लोबल आइएमई बैंकको ००४०१०१०१००००००५७ र ००४११०१००००००००५, नबिल बैंकको १७१००१७५०५२८५, कृषि विकास बैंकको ०१००२०१००२९०७०१४ खातामा सहयोग जुटाउन अनुरोध गरिएको छ । यस्तै, प्रधानमन्त्री राहत कोषका लागि भने राष्ट्रिय वाणिज्य बैंकमा खाताहरू रहेका छन् । जसअनुरुप राष्ट्रिय वाणिज्य बैंकको १४३०१००००००२५००६ र १४३०१०००११६४०००१ मा रकम पठाउन सकिनेछ । राष्ट्र बैंकले अनुमतिपत्र प्राप्त सबै भुक्तानी प्रदायक संस्थाहरूलाई आ–आफ्नो प्रणालीमा यो व्यवस्था तत्काल मिलाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले प्राकृतिक विपत्तिको यस कठिन घडीमा पीडित नागरिकहरूको उद्धार र पुनस्र्थापनाका लागि आ–आफ्नो क्षेत्रबाट सक्दो आर्थिक सहयोग उपलब्ध गराई मानवीय कार्यमा सरिक हुन सबैमा अपिल गरेको छ ।









प्रतिक्रिया दिनुहोस्