समाज सेवा संस्थाको वार्षिक साधारणसभा तथा अधिवेशन



कोहलपुर (बाँके)।

बाँकेको कोहलपुर–१४ स्थित समाज सेवा संस्था नेपालको १०औँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले दीप प्रज्वलन गरेर उद्घाटन गरेकी थिइन् । सुवेदीले समाज सेवा संस्थाले नामजस्तै काम गर्दै आएको बताइन् । उनले समाजमा विद्यमान सामाजिक विकृति र विसंगतिविरुद्ध संस्थाले प्रशंसायोग्य काम गर्दै आएको उल्लेख गरिन् ।

उनले कोहलपुर नगरपालिकाभित्र जलचेतनामूलक कार्यक्रम गर्दै विभिन्न विषयमा सचेतना फैलाउने कार्यमा संस्थाले उत्कृष्ट कार्य गरिरहेको बताइन् । ‘संस्थासँग नगरपालिकाले सहकार्य गर्दै आएको छ । उहाँहरुले राम्रो काम गरिरहनुभएको छ । निजी क्षेत्र स्थानीय सरकारका साझेदार हुन् । आगामी दिनमा थप सहकार्य र समन्वय गरेर सँगै अघि बढ्न हामी तयार छौँ,’ उनले भनिन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक चक्र डमरपालले समाज सेवा संस्थाले सुरक्षा निकायले गर्ने काम गरिरहेको बताए । उनले लागूऔषध दुव्र्यसन न्यूनीकरण, समुदाय प्रहरी साझेदारीदेखि सडक नाटक लगायतका कार्य प्रहरीसँग गर्दै आएको बताए । समाजमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी सचेत नागरिकहरुको भएको उनको भनाइ थियो ।

संस्थाका अध्यक्ष विनोद थापाले संस्थाले स्थापनाकालदेखि नै जिल्लाभर काम गर्दै आएको बताए । उनका अनुसार बाँकेस्थित स्थानीय सरकार, सरोकारवाला निकायहरुसँगको सहकार्यमा १० वर्ष पूरा गरेको छ । यो अवधिमा संस्थाले विभिन्न सामाजिक कार्य गर्नुका साथै एम्बुलेन्स सेवासमेत सुरु गरेको उनले जानकारी दिए ।

 

  • No tags available
प्रकाशित मिति : २०८३ साउन २७ गते बुधबार