काबो भर्डेका गोलकिपर भोजिन्हालाई चिलीमा न्यानो स्वागत



काठमाडौँ ।
फिफा विश्वकपमा तहल्का पिटेका काबो भर्डेका गोलकिपर भोजिन्हालाई चिलीमा भव्य स्वागत गरिएको छ । विश्वकपमा बलिया टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेर सनसनी मच्चाएका भोजिन्हालाई व्यावसायिक फुटबल खेल्न पुग्दा चिलीमा भव्य स्वागत भएको हो । दक्षिण अमेरिकी चिलीका सयौँ समर्थकले उनलाई स्वागत गरेका छन् । विश्वकपमा मञ्चमा चम्किएका उनलाई चिलीको कोलो–कोलो क्लबले अनुबन्ध गरेको थियो । ४० वर्षको उमेरमा पनि भोजिन्हाले विश्व च्याम्पियनलाई पहिलो खेलमै गोलरहित बराबरी खेल्दा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

समूह चरणमा उरुग्वेसँगको २–२ गोलको बराबरी र तेस्रो खेलमा साउदी अरेबियासँगको गोलरहित बराबरीमा पनि पनि उत्कृष्ट प्रदर्शन गरेका थिए, जसले काबो भर्डे पहिलो सहभागितामै नकआउट चरणमा प्रवेश गरेको थियो ।अन्तिम ३२ खेलमा पनि भोजिन्हाले उत्कृष्ट प्रदर्शन गरेपछि अर्जेन्टिनाले मुस्किलको जित हात पारेको थियो । अतिरिक्त समयमा धकेलिएको खेलमा अर्जेन्टिना काबोभर्डेमाथि ३–२ गोलले विजयी भएको थियो ।

नियमित समयमा अर्जेन्टिनालाई जित्न नदिन भोजिन्हाले प्रभावशाली प्रदर्शन गरेका थिए । भोजिन्हाले उत्कृष्ट प्रदर्शन गरेका स्पेन र अर्जेन्टिना नै अन्ततः विश्वकपको फाइनलमा पुगेका थिए । सोही प्रदर्शनले भोजिन्हा विश्वचर्चित बनेका थिए । ४० वर्षको उमेरमा पनि उम्दा प्रदर्शन गरेपछि उनलाई चिलीको क्लबले अनुबन्ध गरेको हो । कोलो–कोलो चिलीको फुटबल लिगमा पहिलो स्थानमा भएको टोली हो । भोजिन्हाले क्लबसँग १८ महिनाको सम्झौता गरेका छन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८३ साउन २० गते बुधबार