लुम्बिनीमा राष्ट्रियस्तरको ‘लुम्बिनी एक्स’ ह्याकाथन हुँदै



रुपन्देही ।
लुम्बिनीमा पहिलो पटक राष्ट्रियस्तरको ४८ घण्टे ‘लुम्बिनी एक्स’ ह्याकाथन आयोजना हुने भएको छ । यही साउन २३ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने ह्याकाथनबारे आयोजकले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी सिटी कलेजका सहायक प्राचार्य नारायणप्रसाद भुसालले कलेजका विद्यार्थीहरूको आयोजनामा राष्ट्रियस्तरको प्रविधिमूलक प्रतियोगिता हुन लागेको बताए । उनले यस्ता कार्यक्रमले विद्यार्थीको सृजनशीलता, अनुसन्धान क्षमता र नवप्रवर्तनलाई प्रोत्साहन गर्नुका साथै लुम्बिनीलाई प्रविधि र नवप्रवर्तनसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

आयोजकका अनुसार ह्याकाथनको उद्देश्य लुम्बिनीको आध्यात्मिक तथा ऐतिहासिक पहिचानलाई आधुनिक प्रविधिसँग जोड्दै नेपाली युवालाई नवीन सोच विकास गर्न, वास्तविक समस्याको समाधान खोज्न तथा प्रविधिको क्षेत्रमा नयाँ अवसर सिर्जना गर्नु हो । कार्यक्रममार्फत लुम्बिनीलाई आध्यात्मिक केन्द्रसँगै प्रविधि र नवप्रवर्तनको सम्भावना बोकेको गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ ।

कार्यक्रमको आयोजना लुम्बिनी एलिट उपभोक्ता समितिले गरेको हो, जुन लुम्बिनी सिटी कलेजका १५ जना सक्रिय विद्यार्थीद्वारा गठित टोली हो । कार्यक्रमको मुख्य प्रायोजक लुम्बिनी सिटी कलेज रहेको छ भने ४० भन्दा बढी संस्था तथा समूह साझेदार र सहयोगीका रूपमा आबद्ध छन् । कार्यक्रमको संयोजन आयुष चापागाईँ र आविष्कार ढेंगाले गरेका छन् भने निशान्त भुटेल सचिव र आयाम रेग्मी निर्देशक रहेका छन् ।

आयोजकका अनुसार देशभरका विद्यालय, कक्षा १२ तथा स्नातक तहका विद्यार्थीबाट ११८ टोलीको आवेदन परेको थियो । आवेदनमा प्रस्तुत नवीन अवधारणा, टोलीको संरचना, अनुभव तथा अन्य मापदण्डका आधारमा उत्कृष्ट १० टोली छनोट गरिएको छ । आवेदन निःशुल्क रहे पनि छनोट भएका टोलीले सहभागिताका लागि प्रतिटोली तीन हजार पाँच सय रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । हाल छनोट भएका टोलीको सहभागिता पुष्टि गर्ने प्रक्रिया जारी रहेको आयोजकले जनाएको छ ।

कार्यक्रम साउन २३ र २४ गते लुम्बिनी सिटी कलेजमा सञ्चालन हुनेछ । यस अवधिमा सहभागीले सङ्केत लेखन (कोडिङ), अनुसन्धान, डिजाइन तथा परियोजना विकासमा काम गर्नेछन् । अन्तिम दिन साउन २५ गते मायादेवी मन्दिर र सेतो मन्दिर नजिक रहेको लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय कार्यालयमा अन्तिम प्रस्तुति, मूल्याङ्कन, पुरस्कार वितरण तथा समापन कार्यक्रम आयोजना गरिनेछ । सहभागी टोलीलाई तीन दिनका लागि आवास, भोजन, लुम्बिनी भ्रमण तथा आवश्यक व्यवस्थापन गरिने आयोजकले जनाएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८३ साउन २० गते बुधबार