नेपालगन्ज ।
नेपालगन्जस्थित भेरी अस्पतालमा अनुसन्धान कार्य पनि सुरु गरिने भएको छ । अस्पतालमा अध्ययन, अनुसन्धान र प्रमाणमा आधारित चिकित्सा प्रणालीको विकास गर्ने उद्देश्यले जनावर तथा जीवहरुको टोकाइबाट बिरामी भएर आउनेहरुको रेकर्ड राख्न बाइट रजिस्टरी सञ्चालनमा ल्याइएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालका अनुसार विद्युतीय स्वास्थ्य अभिलेखमा आधारित अनुसन्धान प्लेटफर्मअन्तर्गत पहिलो संस्थागत परियोजनाका रूपमा यो प्रणाली सुरु गरिएको हो ।
उक्त अनुसन्धान अस्पतालका प्रमुख कन्सल्टेन्ट डर्मेटोलोजिस्ट डा. बद्री चापागाईंको नेतृत्वमा हुनेछ । अनुसन्धान टोलीमा मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डे, एनेस्थेसियोलोजी विभाग प्रमुख डा. पारश पाण्डे, कन्सल्टेन्ट फरेन्सिक मेसिसिन विशेषज्ञ डा. अर्बिन शाक्य, कन्सल्टेन्ट फिजिसियन डा. संकेत रिसाल, कन्सल्टेन्ट नेफ्रोलोजिस्ट डा. सौरभ हमाल र कन्सल्टेन्ट बालरोग विशेषज्ञ डा. प्रतिभा खड्का लगायतका स्वास्थकर्मीहरू संलग्न हुने अस्पतालले जानकारी दिएको छ ।
यस अनुसन्धान साउन १६ देखि प्रारम्भ भई प्रारम्भिक रूपमा एक वर्ष सञ्चालन हुने जनाइएको छ । उक्त अध्ययनमा कुकुरलगायत अन्य जनावरको टोकाइ, सर्पदंश, किराफट्याङ्ग्रा तथा अन्य विषाक्त वा हानिकारक जीवजन्तुसँग सम्बन्धित घटनाहरूको एकीकृत अभिलेख राखिने भएको छ । साथै रेबिज खोप, रेबिज इम्युनोग्लोबुलिन तथा एन्टि स्नेक भेनोमको उपलब्धता, उपयोग, प्रभावकारिता र जनस्वास्थ्यमा पर्ने प्रभावको पनि अध्ययन गरिने भएको छ ।
साथै, उपचारमा लाग्ने खर्च र स्वास्थ्य अर्थशास्त्रका विविध पक्षहरूको विश्लेषण पनि गरिने भएको छ । यसले राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र तथा मानव बस्तीबीचको अन्तरक्रियाबाट उत्पन्न हुने जंगली जनावरसँग सम्बन्धित घटनाहरूको समेत अध्ययन हुने अस्पतालको दाबी छ ।अस्पतालका अनुसार यो अनुसन्धानका लागि आवश्यक तथ्याङ्क सङ्कलन हालको प्रणालीसँगसँग अन्तरआबद्ध गरिएको छ ।
यसले गर्दा नियमित उपचारको क्रममा नै तथ्याङ्क दर्ता हुने भएकाले बिरामी वा स्वास्थ्यकर्मीहरूलाई कुनै अतिरिक्त भार पर्ने छैन । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. दर्नालका अनुसार यस अध्ययनबाट प्राप्त निष्कर्षले उपचार सेवाको गुणस्तर अभिवृद्धि, सेवा सुधार, उपचार निर्देशिकाको परिमार्जन र भावी स्वास्थ्य नीति निर्माणमा सहयोग पुग्नेछ । आवश्यकताअनुसार यसको अवधि विस्तार गरी भविष्यमा यसलाई राष्ट्रियस्तरको रजिस्टरीका रूपमा विकास गर्ने लक्ष्य राखिएको उनले बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्