भारत सरकारको सहयोगमा विद्यालयको भवन निर्माण हुँदै



खगेन्द्र दाहाल । खजुरा (बाँके) ।

बाँकेको खजुरा गाउँपालिका ४ बद्रीपुरस्थित श्री जन कल्याण माविमा १६ कोठाको भवन बन्ने भएको छ । नेपाल भारत विकास सहयोगअन्तर्गत निर्माण हुन लागेको उक्त विद्यालयको भवन शिलान्यास गरिएको छ । १६ कोठे भवनको शुक्रबार एक समारोहका बीच भारतीय राजदूतावास काठमाडौँका काउन्सिलर गिताञ्जली ब्रैंडन र खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले संयुक्त रुपमा शिलान्यास गरे ।

भवन शिलान्यास गर्दै ब्रैंडनले विद्यालय भवन निर्माण एक उच्च विकास परियोजना रहेको बताइन् । उनले नेपाल भारत विकास सहयोगअन्तर्गत भारत सरकारको आर्थिक अनुदान सहयोगमा निर्माण गरिने उल्लेख गरिन् । उनले यस नेपाल भारत विकास साझेदारी महत्वपूर्ण परियोजना साबित हुनेमा विश्वस्त रहेको बताइन् । उनले भनिन्, ‘मलाई पूर्ण विस्वास छ कि यस परियोजनाले बाँकेको खजुरा गाउँपालिकाका विद्यार्थी र शिक्षकहरुका लागि अध्ययन र अध्यापनको वातावरणलाई अझ सुदृढ बनाउन मद्दत गर्नेछ ।’

गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले खजुरामा महत्वपूर्ण परियोजना सञ्चालन हुन सफल भएकोप्रति खुसी व्यक्त गरे । उनले घाम, पानी हावाहुरीबाट जोगिन यस भवनले ठूलो मद्दत गर्ने बताए । उनले भारत सरकार, भारतीय राजदूतावास र भारतीय जनतालाई धन्यवाद ज्ञापन गरे । भवन निर्माणका लागि खजुरा गाउँपालिका र भारतीय राजदूतावासबीच २०८२ चैत १९ मा सम्झौता भएको खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले जनाए ।

भ्याटबाहेकको ४ करोड ८१ लाख ९७ हजार ९ सय ४२ रुपैयाँमा सम्झौता भएको थियो । जसमा भारतीय राजदूतावासको ९५ प्रतिशत र खजुरा गाउँपालिकाको ५ प्रतिशत लागत साझेदारी रहने सम्झौतामा उल्लेख गरिएको छ । यसमा लाग्ने भ्याट रकम भने नेपाल सरकार र खजुरा गाउँपालिकाले बेहोर्नेगरि सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए ।

जम्मा लागत ५ करोड ४२ लाख १ हजार २ सय ३६ अनुमानित लागतको ठेक्का आह्वान गर्दा १५ निर्माण कम्पनीहरुको प्रतिस्पर्धाबाट जेविजी र नागरिक निर्माण सेवा बारबर्दिया ९ बर्दियाले ३ करोड ७७ लाख ९५ हजार ९ सय ९८ रुपैयाँको लागतमा ठेक्का पारेको जनाइएको छ । उक्त निर्माण व्यवसायीसँग २०८३ असार ११ मा सम्झौता भई १५ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नेगरि कार्यआदेश दिइएको खजुरा गाउँपालिकाले जनाएको छ ।

भवनमा १६ कोठामा स्मार्ट कक्षा कोठासहित भुइँतला ८ कोठाको रहनेछ भने पहिलो तला ८ कोठा रहने अध्यक्ष विकले बताए । जसमा छात्र र छात्राको लागि फरक फरक शौचालयको व्यवस्थापन र आँगन व्यवस्थापनका लागि इन्टरलकको समेत व्यवस्थापन हुनेगरि कार्य अघि बढेको अध्यक्ष विकले जनाए । विद्यालयमा केही टिनले छाएका कक्षा कोठा भएकाले विद्यार्थीहरुलाई पठनपाठन गराउन समस्याहरु झेल्न परिरहेको अवस्थामा नयाँ भवनले सहज रुपमा शिक्षा आदान प्रदानमा टेवा पुग्ने विश्वास लिइएको जन कल्याण माविका प्रध्यानाध्यापक भीमबहादुर थापाले बताए ।

कार्यक्रममा पूर्वसंसद् सचिवालय सचिव गोपालनाथ योगी, खजुरा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेकबहादुर रोका क्षेत्री, वडा नम्बर २ का वडाध्यक्ष धनराम वली, वडा नम्बर ३ का वडाध्यक्ष पूर्णबहादुर भण्डारी, कार्यपालिका सदस्य, वडा सदस्य, इलाका प्रहरी कार्यालय धनौली इन्चार्ज नवीन चापागाईं, भूपू सैनिक, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, वर्तमान समितिका पदाधिकारी, शिक्षक, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति थियो ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन १७ गते आइतबार