एक वर्षमा ८३ जनामा एचआईभी सङ्क्रमण



गजेन्द्र गुरुङ । नेपालगन्ज (बाँके) ।

भेरी अस्पताल नेपालगन्जमा गत आर्थिक वर्ष २०८२–०८३ मा परीक्षण गराएकामध्ये ८३ जना नयाँ व्यक्तिमा एचआईभी सङ्क्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी, कन्सल्टेन्ट ग्यास्ट्रोएन्टेरोलोजिस्ट तथा एचआईभी फोकल पर्सन डा. सङ्केतकुमार रिसालले गत आवमा सात हजार ८०५ जना व्यक्तिमा एचआईभी परीक्षण गरिएकामध्ये ८३ जना नयाँ व्यक्तिमा एचआईभी सङ्क्रमण पुष्टि भएको बताए ।

उनले एचटिसी कार्यक्रमअन्तर्गत सात हजार ८०५ जनामा एचआईभी परीक्षण गरिएकोमा ८३ जनामा सङ्क्रमण पुष्टि भएको र यसको सङ्क्रमण दर १ प्रतिशत रहेको बताए । बाह्यरोग विभाग (ओपिडी)बाट गरिएका परीक्षणहरु पनि समावेश गरिएकाले परीक्षण सङ्ख्या उल्लेखनीय रुपमा बढेको उनले बताए । त्यसैगरी आमाबाट शिशुमा एचआईभी रोकथामअन्तर्गत गर्भवती महिलाहरूलाई नियमित एचआईभी परीक्षण पनि गरिँदै आइएको छ । गत वर्ष दुई जना गर्भवती महिलामा एचआईभी सङ्क्रमण पुष्टि भएको डा. रिसालले जानकारी दिए ।

साथै उपचारमा रहेका चार जना एचआईभी सङ्क्रमित आमाले सुरक्षित रूपमा शिशु जन्माएका उनले बताए । परीक्षण सम्पन्न भएका शिशुहरूको पहिलो डिएनए पिसिआर परीक्षणमा सङ्क्रमण नदेखिएको उनले बताए । सरकारले सन् २०१७ देखि लागू गरेको टेस्ट एण्ड ट्रिट नीतिअनुसार एचआईभी पुष्टि भएपछि तुरुन्तै उपचार सुरु गरिँदै आएको उनले बताए । उनका अनुसार भेरी अस्पतालले स्थापना भएदेखि हालसम्म एक हजार ८०० भन्दा बढी व्यक्तिलाई एआरटी सेवा प्रदान गरिसकेको छ । गत आवसम्म ६५१ जना सेवाग्राही नियमित उपचारमा रहेका छन् ।

नियमित उपचारमा रहेका कारण ९५ प्रतिशत सेवाग्राहीले पछिल्लो १२ महिनामा भाइरल लोड परीक्षण गराएका छन् भने तीमध्ये ९९ प्रतिशतको भाइरल लोड सफलतापूर्वक नियन्त्रणमा रहेको उनले बताए । सरकारले एचआईभीसँग बाँचिरहेका व्यक्तिहरूका लागि सञ्चालन गरेको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत भेरी अस्पताल एआरटी क्लिनिकले हालसम्म ६३१ भन्दा बढी सेवाग्राहीलाई यस सरकारी स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गरिसकेको छ र उनीहरूले यस कार्यक्रममार्फत स्वास्थ्य सेवा प्राप्त गरिरहेका उनले बताए ।

उनका अनुसार भेरी एआरटी क्लिनिकले डिएचआईएसटु ट्र्याकर प्रणालीमा सबै सेवाग्राहीको विवरण अद्यावधिक गरेको छ । हालसम्म ३८५ जना सेवाग्राहीले क्षयरोग रोकथामका लागि आइपीटीको कम्तीमा एक चरण पूरा गरेका छन् भने नयाँ पहिचान भएका सबै (शतप्रतिशत) एचआईभी सङ्क्रमितलाई समयमै एआरटी सेवामा आबद्ध गरिएको छ । एएचएफ नेपालले भेरी अस्पताल एआरटी क्लिनिकमा चार जना दक्ष जनशक्ति र सेवाग्राहीहरूलाई यातायात सहयोग, प्रयोगशाला परीक्षण सहयोग, पोषण तथा आवश्यक औषधि सहयोग, जटिल केस व्यवस्थापन सहयोगहरु निरन्तर उपलब्ध गराउँदै आएको उनको भनाइ छ ।

यसका साथै स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि तथा सेवाको गुणस्तर सुधारका लागि टेक्निकल वर्किङ ग्रुप तथा क्वालिटी इम्प्रुभमेन्ट गुणस्तर सुधार बैठक, निरन्तर चिकित्सकीय शिक्षा कन्टिन्यु मेडिकल एजुकेसन, विभिन्न स्वास्थ्यसम्बन्धी दिवसहरूको आयोजना तथा नेपाल–भारत सीमापार उपचार समन्वयलगायतका कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै एआरटी सेवाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको उनले बताए ।

भेरी अस्पतालमा एआरटी सेवा २०६१ साल फागुनबाट सञ्चालनमा आएको हो । त्यसपछि क्रमशः २०६२, २०६३ र २०६४ सालमा पिएमटिसिटी, भिसिटी तथा सिडीफोर सेवाहरू थप गरी एचआईभीसम्बन्धी समग्र सेवा उपलब्ध गराउन थालिएको डा. रिसालले जानकारी दिए । नियमित सञ्चालन हुने भेरीको क्लिनिकमा एचआईभी परामर्श तथा परीक्षण, एआरटी औषधि, अवसरवादी सङ्क्रमणको उपचार, क्षयरोग तथा यौनजन्य सङ्क्रमणसम्बन्धी सेवा उपलब्ध छन् । आवश्यकतानुसार अस्पतालका अन्य विभागहरूसँग समन्वय गरी थप उपचार तथा सेवा पनि प्रदान गरिँदै आएको उनले बताए ।

कतिपय बिरामीमा ढिलो एचआईभी पहिचान हुनु, उपचार सुरु गर्न ढिलाइ गर्नु, केही स्वास्थ्यकर्मीमा अझै लुकेको लाञ्छना तथा भेदभाव हुनु, बिरामीको बसाइँसराइका कारण उपचार बीचमै छुट्नु मुख्य चुनौतीका रूपमा रहेका उनले बताए । डा. रिसालका अनुसार भेरी अस्पताल एआरटी क्लिनिकले विगत तीन आर्थिक वर्षदेखि न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा शतप्रतिशत अंक प्राप्त गर्दै आएको छ । यसले भेरी अस्पताललाई केन्द्रस्तरीय अस्पतालहरूमध्ये उत्कृष्ट अस्पताल बन्नसमेत महत्वपूर्ण योगदान पु¥याएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन १७ गते आइतबार