नेपालगन्ज ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रमेश मल्लले कोलहपुर र दाङमा भएका मजदुरहरुको मृत्युसम्बन्धी घटनामा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको आकस्मिक समयमा बोल्दै मल्लले दाङमा निर्माणाधीन भवनको पानी ट्याङ्कीभित्र र कोहलपुरमा सेफ्टि ट्यांकीभित्र मजदुरहरुको ज्यान गएको विषयमा उचित छानबिन गर्न पनि माग गरेका हुन् ।
दाङमा निर्माणाधीन भवनको पानी ट्याङ्कीभित्र सटरिङका सामग्री निकाल्ने क्रममा ज्यान गुमाएका दुईजना र कोहलपुरमा सेफ्टी ट्यांकीभित्र बुधबार तीन जनाको ज्यान गएको घटनाले निर्माण तथा बन्द संरचनाभित्र हुने काममा श्रमिक सुरक्षाको अवस्था अत्यन्तै चिन्ताजनक रहेको स्पष्ट गरेको सांसद मल्लले बताए । ती घटनाको समुचित छानबिन गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन, कार्यस्थलमा सुरक्षा मापदण्डको अनिवार्य पालना, श्रम निरीक्षण प्रणालीको प्रभावकारी कार्यान्वयन तथा प्रत्येक श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा अनिवार्य आबद्ध गर्ने व्यवस्था गर्न सरकारसँग उनले सरकारसँग माग गरे ।
यसका साथै सांसद मल्लले मल तथा खाना पकाउने ग्यासको पर्याप्त आपूर्ति गराउन र बारम्बार विद्युत् आपूर्ति अवरुद्ध हुने समस्या हटाउन पनि माग गरे । यसैगरी, सल्यान अस्पतालमा महिनौँदेखि चिकित्सकको उपलब्धता नभएको विषय पनि ध्यानाकर्षण गराउँदै मल्लले स्वदेशी कृषि उत्पादनको संरक्षण तथा उचित मूल्य निर्धारण गर्न पनि माग गरे । यस्तै, जाजरकोट भूकम्पबाट प्रभावित सल्यानको दार्मा गाउँपालिकामा आवास पुनर्निर्माणको प्रगति शून्य रहेको बताउँदै उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।









प्रतिक्रिया दिनुहोस्