वीरेन्द्रनगर ।
पश्चिम सुर्खेतमा निर्माणाधीन मदन भण्डारी राजमार्ग निर्माणको काम सुस्त गतिमा भइरहेको छ । बड्डीचौर–खम्बागाडे खण्डको साढे १२ किलोमिटर सडक निर्माणमा ढिलाइ भएको हो । सम्झौताअनुसार यो सडक २०८१ साल असार १५ मा सकिनुपर्ने हो तर संघीय सरकारबाट बजेट नआएको कारण देखाउँदै प्रक्रिया नै पूरा नगरी प्रदेश सरकारले स्वामित्व लिएको यो आयोजना सम्पन्न हुन अझै डेढ वर्ष लाग्ने देखिएको छ।
वनको कारण देखाउँदै निर्माण कम्पनीले काममा आलटाल गरिरहेको छ । बड्डीचौर–खम्बागाडे सडकखण्डको काम निकै सुस्त गतिमा भइरहेको पूर्वाधार विकास निर्देशनालय सुर्खेतले जनाएको छ । राजमार्गको हालसम्म ३५ प्रतिशत भौतिक प्रगति भएको छ । उक्त सडकखण्डको साढे १२ किलोमिटरमा सडक निर्माणको काम भइरहेको हो ।
प्रदेशका तत्कालीन अर्थमन्त्री विन्दमान विष्टले साढे १२ किलोमिटर सडक कालोपत्रे गर्न बजेट सुनिश्चित गरेका थिए । यो सडकखण्डका लागि प्रदेश सरकारले ४२ करोड बजेट विनियोजन गरेको छ । उक्त खण्डमा अनक जयदेवी जेभी बाँकेले ४२ करोड ४७ लाख ६१ हजार रूपैयाँमा प्रदेश सरकारको पूर्वाधार विकास निर्देशनालयसँग सम्झौता गरेको छ ।
२०७९ सालदेखि काम सुरु भएको उक्त खण्डमा २०८१ साल असार १५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने भए पनि काम अझै अधुरै छ । अहिले २०८३ असारसम्मका लागि म्याद थपिएको छ । म्याद थप गरेर निर्माणको काम भइरहेको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका सूचना अधिकारी वीरेन्द्रजङ्ग शाहीले बताए । प्रक्रियागत ढिलाइसँगै ठेकेदार कम्पनीको गम्भीर लापबाहीका कारण काम लक्ष्यअनुरूप हुन नसकेको हो तर अहिले भने काम धमाधम भइरहेको जनाइएको छ ।
मदन भण्डारी राजमार्गअन्तर्गत पश्चिम सुर्खेतका तीन खण्डमा काम भइरहेको छ । ४५ किलोमिटरको सडकलाई तीन खण्डमा विभाजन गरेर निर्माण थालिएको छ । यस्तै विद्यापुर–बल्दे सडकखण्डमा अहिले काम धमाधम भइरहेको छ । पश्चिम क्षेत्रका तीन खण्डमध्ये यो तेस्रो खण्ड हो। २२ किलोमिटर सडकखण्ड निर्माणका लागि एक अर्ब २१ करोड रूपैयाँमा काम सम्पन्न गर्ने गरी बानियाँ मोतिदान डिएस जेभी काठमाडौँले ठेक्का सम्झौता गरेको छ ।
सम्झौताअनुसार २०७९ फागुन १७ गतेदेखि सुरु भएको काम २०८२ फागुन १६ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने छ । उक्त खण्डमा काम सन्तोषजनक भएको पाइएको छ । राजमार्गअन्तर्गत खम्बागाडे–विद्यापुर सडकखण्डको काम पनि भइरहेको छ । खम्बागाडे–विद्यापुर सडकखण्डको १० किलोमिटरको काम हुने छ ।









प्रतिक्रिया दिनुहोस्