नेपालगन्ज ।
मधेश प्रदेशमा भड्किएको सामाजिक सद्भावविपरीतका गतिविधिको प्रभाव पर्न नदिन र सद्भाव कायम राख्न बर्दिया र बुटवलमा सामूहिक आह्वान गरिएको छ । बर्दियामा जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सबै राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधहरु, नागरिक अगुवा सम्मिलित बैठकले सद्भाव कायम राख्ने प्रतिबद्धता जनाएको हो ।
बैठकबाट शान्ति सुरक्षा, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न सबै सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, उद्योग व्यापारी, सांस्कृतिक, धार्मिक अगुवा एवम् सरोकारवाला निकायबीच निरन्तर समन्वय, सूचना आदान प्रदान तथा सहकार्य गर्ने प्रतिबद्धता पनि गरिएको छ । यसैगरी, सामाजिक सद्भावमा प्रतिकूल असर पार्ने गतिविधि, भ्रामक सूचना, अफवाह तथा कानुनविपरीतका कार्य नियन्त्रण गर्न सम्बन्धित निकायले आ–आफ्नो क्षेत्रबाट प्रभावकारी निगरानी, जनचेतनामूलक कार्यक्रम तथा आवश्यक कानुनी कारबाही गर्ने प्रतिबद्धता गरिएको छ । साथै, कुनै पनि धार्मिक सांस्कृतिक, सार्वजनिक कार्यक्रम गर्दा प्रचलित कानुन, स्थानीय तहको मापदण्ड तथा सम्बन्धित निकायबाट जारी भएका निर्देशिकाको पूर्णपालना गर्ने तथा अनावश्यक रुपमा चर्को आवाजमा डिजे, माइक, साउण्ड प्रयोग नगर्ने निर्णयसमेत गरिएको छ ।
उता, बुटवल उपमहानगरपालिकामा क्रियाशील १२ राजनीतिक दलले पनि सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल गरेका छन् । सत्तारुढ रास्वपा, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा, राप्रपासहित १२ दलका नगरप्रमुख र प्रतिनिधिहरुले सुनसरीलगायत आसपासका जिल्लाहरुमा घटेका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक र धार्मिक सद्भाव कायम राख्न अपिल गरेका हुन् । विज्ञप्तिमा कुनै पनि प्रकारका हिंसा, द्वेष, जातीय वा साम्प्रदायिक तनाव सिर्जना गर्ने गतिविधि लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन नसक्ने उल्लेख गरिएको छ ।
दलका नेताहरूले सबै पक्षलाई संयमता अपनाउन, कानुनको सम्मान गर्न तथा सामाजिक, जातीय र धार्मिक सद्भाव कायम राख्न अपिल गरेका छन् । साथै घटनाको सत्यतथ्य निष्पक्ष र पारदर्शी ढंगले छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । विज्ञप्तिमा बुटवल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक सहर भएको उल्लेख गर्दै यहाँको सामाजिक एकता र सद्भावलाई थप सुदृढ बनाउन सबै राजनीतिक दलले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आग्रह गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्