गुरुलाई सम्मान गर्ने संस्कार जोगाउनुपर्नेमा जोड



नेपालगन्ज (बाँके) ।

सूचना र प्रविधिको तीव्र विकाससँगै गुरु–शिष्य परम्परा र गुरुप्रतिको सम्मान गर्ने संस्कार कमजोर बन्दै गएको भन्दै त्यसको संरक्षण र प्रवद्र्धनमा सबैले ध्यान दिनुपर्नेमा जोड दिइएको छ । गुरु पूर्णिमाको अवसरमा पतञ्जली योग समिति बाँकेले नेपालगन्जस्थित घरबारीटोल योग साधना केन्द्रमा आयोजना गरेको गुरु पूर्णिमा विशेष दर्शन, आशीर्वाद तथा जिल्ला समिति पुनर्गठन कार्यक्रममा वक्ताहरूले गुरु केवल ज्ञान दिने व्यक्ति मात्र नभई जीवनलाई सही दिशा दिने पथप्रदर्शक, नैतिक चरित्र निर्माणका आधार र आध्यात्मिक उन्नतिका प्रेरणास्रोत भएको बताए ।

सूचना र प्रविधिबाट ज्ञान प्राप्त गर्न सकिए पनि अनुशासित, संस्कारित र उद्देश्यपूर्ण जीवनका लागि गुरुको मार्गदर्शन अपरिहार्य रहने उनीहरूको भनाइ थियो ।तत्कालीन जिल्ला अध्यक्ष हरपाल सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पतञ्जली योग समितिका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष नरकान्त जोशी प्रमुख अतिथि र लुम्बिनी प्रदेश सहप्रभारी धर्मराज पोखरेल विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा गुरु दर्शन, आशीर्वाद ग्रहण, टीका तथा वैदिक विधिअनुसार हवन सम्पन्न गरिएको थियो ।

वक्ताहरूले गुरु पूर्णिमा केवल धार्मिक पर्व नभई गुरुहरूप्रति कृतज्ञता प्रकट गर्ने सांस्कृतिक अवसर भएको उल्लेख गर्दै पछिल्लो पुस्तामा गुरु प्रतिको श्रद्धा र सम्मान घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे । उनीहरूले सेवा, समर्पण, अनुशासन, सदाचार र सकारात्मक जीवनशैलीलाई व्यवहारमा उतार्दै गुरु–शिष्य सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा पतञ्जलीका वरिष्ठ योगगुरुहरूले योगका माध्यमबाट स्वस्थ, अनुशासित र सकारात्मक समाज निर्माणमा संस्थाले खेल्दै आएको भूमिकाबारे जानकारी गराउँदै नियमित योग अभ्यासले शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताए ।

सोही अवसरमा पतञ्जली योग समिति बाँकेको नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ । नवगठित समितिको अध्यक्षमा पुष्कर आचार्य चयन भएका छन् । उपाध्यक्षमा बोधराज प्याकुरेल र नयनसिंह धामी, महासचिवमा वीरबहादुर हमाल, संगठन सचिवमा लक्ष्मणबहादुर कार्की, कोषाध्यक्षमा ओमप्रकाश मित्तल, सचिवमा नवराज भण्डारी, प्रशिक्षण प्रमुखमा गौरीशंकर मण्डल, शारीरिक विभाग प्रमुखमा डा. शिवराज सुबेदी तथा सामाजिक सञ्जाल प्रमुखमा खिमराज देवकोटा चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा प्रेम जीएम, तारानाथ योगी, मनिराम बटाला, पूर्णचन्द्र उपाध्याय र तुलसीकुमारी खड्का चयन भएका छन् । सल्लाहकारमा हरपाल सिंह, सञ्जय सोनी, ध्रुवकुमार वैश्य, घनश्याम वैश्य र चन्द्र चौधरी तथा संरक्षकमा नरकान्त जोशी चयन भएका छन् । मानवअधिकारकर्मी तथा अधिवक्ता वसन्त गौतमलाई समितिको कानुनी सल्लाहकारको जिम्मेवारी दिइएको छ ।

नवनिर्वाचित अध्यक्ष पुष्कर आचार्यले बाँके जिल्लाभर योग, आयुर्वेद र प्राकृतिक जीवनशैलीको प्रवद्र्धनलाई अभियानका रूपमा अघि बढाउँदै योगलाई घर–घरमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे । उनले गुरु परम्पराको सम्मान, योग संस्कृतिको विस्तार र समाजमा सकारात्मक चेतना अभिवृद्धिका लागि समिति निरन्तर सक्रिय रहने बताए ।

यसैबीच, योग समिति नेपालले पनि बाँकेमा छुट्टै कार्यक्रम आयोजना गरी गुरु पूर्णिमा मनाएको छ । कार्यक्रममा बाँके र बर्दियाका विभिन्न योग केन्द्रबाट आएका योगगुरु तथा योग अभ्यासीहरूको सहभागिता रहेको थियो । सहभागीहरूले गुरु पूर्णिमाको महत्वबारे चर्चा गर्दै योगगुरु गिरीगारजबाट आशीर्वाद ग्रहण गरेका थिए । कार्यक्रममा योगलाई स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैलीको आधारका रूपमा विस्तार गर्न तथा गुरु परम्पराको सम्मानलाई व्यवहारमा उतार्न सबैले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिइएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन १४ गते बिहीबार