भेरी अस्पतालले आज १३६औँ वार्षिकोत्सव मनाउँदै



नेपालगन्ज ।

नेपालगन्जस्थित भेरी अस्पतालले मंगलबार १३६औँ वार्षिकोत्सव मनाउँदै छ । पश्चिम नेपालकै ऐतिहासिक तथा प्रमुख स्वास्थ्य सेवा प्रदायकका रूपमा रहेको अस्पतालले वार्षिकोत्सवका अवसरमा एक विशेष कार्यक्रम गर्दै विगतको समीक्षा, वर्तमान सुधारका प्रयासको मूल्याङ्कन र आगामी दिनको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिने जनाएको छ ।

वार्षिकोत्सव समारोहलाई थप आकर्षक बनाउन सामूहिक दौड तथा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले सहभागितामा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिसमेत दिने अस्पताल विकास समितिका कार्यवाहक अध्यक्ष एवम् वार्षिकोत्सव मूल आयोजक समारोहका संयोजक डा। डक्टप्रसाद धितालले बताए । समारोहमा ९ वटा नृत्य प्रस्तुति र एउटा नाटक प्रस्तुत पनि प्रस्तुत गरिने उनले बताए । यसैगरी, अस्पताल गेटदेखि चारबाहीनी, गणेशमान चोक, वीपी चोक, इदगाह रोड, त्रिभुवन चोक, सदरलाईन हुँदै पुनः अस्पताल गेटसम्म पुग्नेगरी सामूहिक दौड पनि आयोजना गरिने अस्पतालले जनाएको छ ।

वार्षिकोत्सवको अवसर पारेर अस्पताल परिवारभित्र आपसी सद्भाव, सहकार्य, मित्रता र टीम भावना विकास गर्ने उद्देश्यले विभिन्न खेलकुद प्रतियोगितासमेत आयोजना गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विजयी हुने समूह तथा खेलाडीहरूलाई वार्षिकोत्सव समारोहका अवसरमा पुरस्कार वितरण गरिने भएको छ । उत्कृष्ट कार्य गर्ने तथा सहयोगीहरू सम्मानित हुने वार्षिकोत्सव समारोहमा अस्पतालको सेवा प्रवाह, व्यवस्थापन तथा संस्थागत विकासमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तिहरूलाई समेत सम्मान गरिने भएको छ ।

अस्पतालमा उत्कृष्ट कार्य गर्ने, जिम्मेवारीप्रति समर्पित भएर योगदान पु¥याउने तथा अस्पतालको विकास र सेवा सुधारमा सहयोग गर्ने व्यक्तिहरूलाई कदरपत्रद्वारा सम्मान गर्ने कार्यक्रम तय गरिएको छ । त्यसैगरी, १३६औँ वार्षिकोत्सव सफल बनाउन विभिन्न जिम्मेवारी सम्हाल्दै सक्रिय भूमिका निर्वाह गर्ने विभिन्न उपसमितिका सदस्यहरूलाई समेत कदरपत्र प्रदान गरी सम्मान गर्ने कार्यक्रम छ । वार्षिकोत्सव समारोहमा पूर्वमन्त्री तथा संघीय सांसद मोहम्मद इस्तियाक राई प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ ।

भेरी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टका रूपमा डा। नवीन दर्नालको आगमनसँगै बिरामीको उपचार अवस्था, सेवामा देखिएका समस्या तथा आवश्यक सुधारका विषयमा चिकित्सक तथा स्वास्थ्यकर्मीबीच नियमित छलफल र समन्वय गर्ने वातावरण निर्माण गर्न मर्निङ कन्फ्रेन्स गर्ने, गुनासो सुन्ने अधिकारीको व्यवस्था गरिएको जनाइएको छ । कार्यक्रममा अस्पतालले प्रकाशन गरेको ‘अक्सिजन’ नामक स्मारिका पनि विमोचन गरिने जनाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन १२ गते मंगलबार