नन्दराम जैशी । सुर्खेत ।
जिल्लाको श्रीनगर बसपार्क वर्षौँदेखि अस्तव्यस्त थियो । पार्किङको स्पष्ट व्यवस्था थिएन । सार्वजनिक यातायातका काउन्टर सडकमै सञ्चालन हुन्थे । सवारीसाधन जथाभावी रोकिन्थे । हिउँदमा धुलो र बर्खामा हिलोले यात्रु, चालक र व्यापारी सबैलाई हैरान बनाउँथ्यो । जसले बजारको सौन्दर्य मात्र होइन, सडक सुरक्षासमेत प्रभावित भएको थियो । यही अवस्थालाई अन्त्य गर्न शारदा नगरपालिका अघि बढ्यो ।
तर बसपार्क क्षेत्रमा वर्षौँदेखि बनेका अनधिकृत संरचना हटाउन भने सहज थिएन । पटक–पटक सूचना जारी गर्दा पनि स्थानीयले अटेर गरेपछि अन्ततः डोजर प्रयोग गर्नुप¥यो । त्यो निर्णय तत्कालीन समयमा विवादित भए पनि आज त्यसैलाई विकासको टर्निङ प्वाइन्टका रूपमा हेरिएको छ । शारदा नगरपालिका–१४ का स्थानीय सुशील रावत बसपार्कको परिवर्तनलाई नजिकबाट देखेका साक्षी पनि हुन् । पहिले बसपार्क अव्यवस्थित हुँदा सडकमै गाडी पार्किङ गर्नुपर्ने अवस्थाले उनले पनि हैरानी खेपेको तितो यथार्थ छ ।
‘अव्यवस्थित गाडी पार्किङले बजारको सौन्दर्य हराएको थियो । व्यापारीलाई पनि व्यवस्थित संरचना नहुँदा व्यापार गर्न समस्या थियो,’ उनले भने, ‘अहिले सबै अव्यवस्थाको अन्त्य भएको छ । बसपार्कको मुहार नै फेरिएको छ ।’ यता शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारी बसपार्क क्षेत्रमा डोजर चलाइएको दिनलाई स्थानीय विकासको ऐतिहासिक क्षणका रूपमा सम्झिन्छन् । उनका अनुसार विकासको सबैभन्दा ठूलो चुनौती संरचना निर्माण नभई परिवर्तनका लागि आवश्यक निर्णय लिनु थियो ।
‘पटक–पटक सूचना जारी गर्दा पनि अनाधिकृत घर–टहरा नहटेपछि हामीले डोजर चलाउनु परेको अवस्था त्यो ऐतिहासिक क्षण थियो । स्थानीय नागरिकको सहयोगले त्यो सम्भव पनि भयो,’ उनले भने, ‘सुरुमा बसपार्क निर्माण पूरा हुन्छ कि हुँदैन भन्ने चिन्ता थियो । तर विभिन्न निकायसँग सहकार्य गर्दै परियोजना अघि बढाइयो र अहिले सफलतापूर्वक सम्पन्न भएको छ ।’ उनका अनुसार श्रीनगर सल्यानको प्रमुख व्यापारिक केन्द्र पनि हो । यहाँ व्यवस्थित बसपार्क बनाउन २ माघ २०७९ मा भएको निणर्य कार्यान्वयन भएको हो ।
जसले तत्कालिन अवस्थामा विभिन्न बहस पनि जन्माएको थियो । तर बहसका बीच शारदा नगरपालिकाले वर्षौँदेखि बसपार्क क्षेत्रमा बनेका अव्यवस्थित घरटहरा हटाउन डोजर चलाउनुुपर्ने बाध्यता आयो । यसलाई कसैले साहसिक त, कसैले विकासको नाममा गरिएको कठोर कदम भने । कतिपयले त बसपार्क निर्माण नै अलपत्र पर्ने आशंका पनि व्यक्त गरेका थिए । तर तीन वर्ष नबित्दै त्यही स्थान अहिले सल्यानको विकासको एउटा सफल उदाहरण बनेको छ ।
जहाँ एक समय धुलो, हिलो, जाम र अव्यवस्था थियो । त्यहीँ अहिले व्यवस्थित पार्किङ, व्यापारिक संरचना, यात्रुमैत्री सुविधा र स्थानीय सरकारका लागि नियमित आम्दानीको आधार तयार भएको छ । श्रीनगर बसपार्कले देखाएको परिवर्तनले स्थानीय तहको इच्छाशक्ति, राजनीतिक नेतृत्व र नागरिकको साथ मिले विकासका जटिल परियोजनासमेत सफल हुन सक्ने सन्देश दिएको छ ।
आशंकालाई जित्यो
बसपार्क निर्माणको यात्रा भने सहज थिएन । केही समय बजेट अभावले काम सुस्त बन्यो । सुरुवाती दिनमा निर्माण पूरा नहुने आशंका पनि बढ्दै गयो । तर स्थानीय सरकारको पहलसँगै संघीय सरकार, कर्णाली प्रदेश सरकार र स्थानीयको सहयोग जुट्दै गयो । अन्ततः हाल परियोजनाले पूर्णता पाएको छ । पाँच करोड ६० लाख रुपैयाँको लागतमा बनेको आधुनिक बसपार्कमा दुई वटा ३४ कोठे व्यापारिक भवन, ३५ वटा स्टल, ३४ वटा सटर तथा व्यवस्थित पार्किङ क्षेत्र निर्माण गरिएको छ । यसले यात्रु र व्यवसायी दुवैलाई सहज वातावरण उपलब्ध गराएको छ ।
पहिले बसपार्कमा पार्किङको व्यवस्था नहुँदा सवारीसाधन सडकमै रोक्नुपर्ने बाध्यता थियो । त्यसले सडक जाम मात्र नभई दुर्घटनाको जोखिम पनि बढाएको थियो । सल्यान–रुकुम यातायात प्रालिका इञ्चार्ज नवीन वलीका अनुसार अहिले त्यो अवस्था पूर्ण रूपमा फेरिएको छ । ‘पहिले अस्तव्यस्त बजार थियो । पार्किङ थिएन । काउन्टर पनि सडकमै थिए । गाडी जाम हुने समस्या थियो,’ उनले भने, ‘अहिले बसपार्क क्षेत्रमै व्यवस्थित पार्किङको व्यवस्था गरिएको छ, यसले सार्वजनिक यातायात सञ्चालन सहज हुनुका साथै यात्रुलाई पनि सुरक्षित र व्यवस्थित सेवा पाउन मद्दत पुगेको छ ।’
आम्दानीको स्रोत
श्रीनगर बसपार्क अहिले यात्रु चढ्ने–ओर्लिने स्थानमा मात्र सीमित छैन । यसले नगरपालिकाको आर्थिक आधारसमेत बढाएको छ । बसपार्क सञ्चालनको जिम्मा ठेक्का प्रक्रियामार्फत जय बागेश्वरी कन्स्ट्रक्सन एन्ड सप्लायर्सले लिएको थियो । सम्झौताअनुसार कम्पनीले नगरपालिकालाई वार्षिक करिब ५२ लाख रुपैयाँ राजस्व बुझाउनेछ । नगरप्रमुख भण्डारीका अनुसार स्थानीय सरकारका लागि पूर्वाधार निर्माण मात्र नभइ त्यसलाई दीर्घकालीन आम्दानीको स्रोत बनाउनु पनि उत्तिकै महत्त्वपूर्ण थियो ।
बसपार्कलाई आम्दानीको स्रोतका रूपमा विकास गरिएको उल्लेख गर्दै अब वार्षिक करिब ५२ लाख रुपैयाँ राजस्व प्राप्त हुने उनको अपेक्षा छ । ‘यो कामले स्थानीय सरकारलाई भविष्यमा थप पूर्वाधार विकासका लागि आर्थिक स्रोतसमेत उपलब्ध गराउने अपेक्षा गरेका छौँ,’ उनले थपे, ‘बसपार्क सञ्चालनमा आएपछि अव्यवस्थित पार्किङ समस्या समाधान हुँदै गएको छ भने व्यापारिक गतिविधि पनि व्यवस्थित भएका छन् ।’
एक समय डोजरको आवाजले चर्चा कमाएको यही ठाउँ आज व्यवस्थित सहरी पूर्वाधार, सहज यातायात सेवा र आर्थिक सम्भावनाको प्रतीक बनेको छ । श्रीनगर बसपार्कले दूरदृष्टिसहितको निर्णय, राजनीतिक इच्छाशक्ति र नागरिकको साथ मिले स्थानीय विकासले स्थायी परिणाम दिन सक्छ भन्ने प्रमाणित पनि गरेको छ ।








प्रतिक्रिया दिनुहोस्