४४औँ वीपी स्मृति दिवसः साहित्यकार र लेखकसँग अन्तरक्रिया



कोहलपुर ।

४४औँ वीपी स्मृति दिवसको अवसरमा ‘साहित्य र पुस्तकालयको अन्तरसम्बन्ध’ विषयक साहित्यकार तथा लेखकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुर बाँकेको आयोजना तथा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान बाँकेको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको अध्यक्षता ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष एकराज शर्माले गरेका थिए भने प्रमुख अतिथिका रूपमा वरिष्ठ राजनीतिक विश्लेषक, साहित्यकार तथा लेखक नरेन्द्रजंग पिटर रहेका थिए ।

कार्यक्रममा साहित्यकार तथा लेखक प्रा.डा. जनार्दन आचार्य, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष डा. पुष्कर रिजाल, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य महानन्द ढकाल र डा. हरिप्रसाद तिमिल्सिना, बाँसगढी सामुदायिक पुस्तकालयका अध्यक्ष बलराम भुजेल, त्रिभुवन सामुदायिक पुस्तकालयका अध्यक्ष यज्ञबहादुर वली, साहित्यकार सागर गैरे र शेखर दहित लगायतको उपस्थिति रहेको थियो । प्रमुख अतिथि नरेन्द्रजंग पिटरले सूचना र ज्ञान प्राप्तिका माध्यम तथा स्रोतहरू परिवर्तन भइरहेका वर्तमान अवस्थामा पुस्तकालयहरूका सामु पठन संस्कृतिको विकास चुनौतीपूर्ण बन्दै गएको उल्लेख गरे ।

उनले पुस्तकालयले आम नागरिकमा जिज्ञासा, प्रश्न गर्ने संस्कार र ज्ञान प्राप्तिको उत्कट चाहना जगाउने भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । पुस्तकालयलाई केवल पुस्तक राख्ने स्थलका रूपमा नभई ज्ञान, बहस र वैचारिक संवादको केन्द्रका रूपमा संस्थागत विकास गर्न आवश्यक रहेको उनको भनाइ थियो । ज्ञान र सत्ताबीचको संघर्षमा पुस्तकालय पनि महत्त्वपूर्ण ‘ज्ञान–युद्धस्थल’का रूपमा रहेको उल्लेख गर्दै उनले वीपी कोइरालाको साहित्यमा देखिने अराजकतावादी विमर्श र नेपाली साहित्यमा उनको योगदानबारे समेत चर्चा गरे ।

कार्यक्रममा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका उपाध्यक्षसमेत रहेका प्राध्यापक डा. खोपिराम वलीले ‘वीपी कोइरालाको साहित्यिक योगदान’ विषयमा कार्यपत्र प्रस्तुत गरे । उनले वीपीका कृतिहरूमा प्रगतिशील चेतनाले विशेष स्थान पाएको उल्लेख गर्दै तीन घुम्ती उपन्यासकी पात्र इन्द्रमायाको चरित्रलाई त्यसको सशक्त उदाहरणका रूपमा प्रस्तुत गरे । आफूले गरेको अध्ययन र अनुसन्धानका आधारमा वीपी कोइरालालाई प्रगतिशील दृष्टिकोणबाट मूल्याङ्कन गर्नुपर्ने धारणा राख्दै उनले नेपाली साहित्यमा नवीन प्रयोग गर्ने महान् साहित्यकारका रूपमा वीपीलाई चित्रण गरे ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य महानन्द ढकालले ज्ञानलाई प्रत्येक पाठक, व्यक्ति र समुदायसम्म पु¥याउने सबैभन्दा प्रभावकारी माध्यम पुस्तकालय भएको बताए । साहित्यिक कृति, दस्ताबेज र बौद्धिक सम्पदालाई दीर्घकालसम्म सुरक्षित राख्न पुस्तकालयको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले साहित्य र पुस्तकालयबीचको अन्तरसम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

यस्तै प्राज्ञ सदस्य डा. हरिप्रसाद तिमिल्सिनाले वीपी कोइरालाको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पार्दै उनले राजनीतिक परिवर्तनका संवाहक र राजनीतिक इमान्दारिताका आदर्श व्यक्तित्व रहेको बताए । कथाकारका रूपमा मनोवैज्ञानिक गहिराइ र उपन्यासकारका रूपमा यौन मनोविज्ञानलाई सन्तुलित ढंगले प्रस्तुत गर्ने सशक्त आख्यानकारका रूपमा वीपीको मूल्याङ्कन गरे । उनले वीपीका कृतिहरूमा स्वतन्त्रताप्रेमी पात्रहरूको चयनमार्फत प्रगतिशील चेतनालाई प्राथमिकता दिइएको उल्लेख गर्दै साहित्यकार र पुस्तकालय एकअर्काका परिपूरक भएको धारणा व्यक्त गरे ।

कार्यक्रमको प्रारम्भमा अध्यक्ष एकराज शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको उद्देश्य र वीपी कोइरालाले नेपाली साहित्यमा पु¥याएको योगदानबारे प्रकाश पारे । समापनका क्रममा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष डा. पुष्कर रिजालले धन्यवाद ज्ञापन गर्दै नेपाली राजनीति र साहित्य दुवै क्षेत्रमा वीपी कोइरालाले पु¥याएको विशिष्ट योगदानको स्मरण गरेका थिए ।

कार्यक्रममा भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष इन्द्रबहादुर बस्नेत, साहित्यकार सागर गैरे, शेखर दहित, हरी सुवेदी, पत्रकार जे. पाण्डे लगायतले पनि कार्यक्रमको विषयवस्तुमा केन्द्रित रहेर आफ्ना धारणा राखेका थिए । अन्तरक्रियामा सहभागी वक्ताहरूले साहित्य र पुस्तकालयबीचको सम्बन्धलाई ज्ञान उत्पादन, संरक्षण र प्रसारको आधारका रूपमा व्याख्या गर्दै बदलिँदो सूचना–प्रविधिको युगमा पनि पुस्तकालयलाई समाजको बौद्धिक, सांस्कृतिक तथा लोकतान्त्रिक चेतनाको केन्द्रका रूपमा सुदृढ बनाउन आवश्यक रहेको साझा निष्कर्ष व्यक्त गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन ७ गते बिहीबार