एक लाख ७८ हजार चल्ला उत्पादन



नेपालगन्ज (बाँके) ।

बाँकेको जानकी गाउँपालिका –४ स्थित खजुरामा रहेको कुखुरा विकास फार्मले गत आव २०८२–०८३ मा एक लाख ७८ हजारभन्दा बढी चल्ला उत्पादन गरेको छ । त्यसैगरी तीन लाख १९ हजारभन्दा बढी अण्डासमेत उत्पादन गरिएको छ । फार्म प्रबन्धक राधा पन्थी पाण्डेले गत आवमा फार्मबाट एक लाख ७८ हजार १७१ एक दिने लोकल चल्ला र तीन लाख १९ हजार ८३९ अण्डा उत्पादन भएको जानकारी दिइन् ।

उनले उत्पादन भएका अण्डामध्ये दुई लाख ४१ हजार ६८१ अण्डा (ओथारो अण्डा) चल्ला उत्पादनका लागि प्रयोग भएको, ६९ हजार ५०७ राम्रो, चार हजार छ वटा चर्केको अण्डा र तीन हजार १०७ ओथारो अण्डा बिक्री वितरण गरिएको बताइन् । चल्ला तथा अण्डालगायत बिक्रीबाट एक करोड १२ लाखभन्दा बढी राजस्व संकलन गरिएको उनले बताइन् । विभिन्न प्रजातिका लोकल कुखुराहरू अनुसन्धान, उत्पादन तथा बजारीकरण गर्दैआएको फार्मबाट गत आवमा चल्ला, अण्डा, कुखुरा, मललगायतको बिक्रीबाट एक करोड १२ लाख १४ हजार ८२२ रूपैयाँँ राजस्व संकलन भएको फार्म प्रबन्धक पाण्डेले जानकारी दिइन् ।

फार्मले वार्षिक लाखौँको सङ्ख्यामा विभिन्न प्रजातिका लोकल कुखुराका चल्ला उत्पादन गरेर बिक्री वितरण गर्दैैआएको हो । ग्रामीण कुखुराका चल्ला उत्पादन तथा वितरण, आनुवांशिक स्रोत संरक्षण, नवीनतम जातका पन्छीहरूको अनुसन्धान तथा कृषकलाई विभिन्न तालिम तथा प्राविधिक सहयोग, सेवा परामर्शसमेत फार्मले प्रदान गर्दैआएको फार्म प्रबन्धक पाण्डेले जानकारी दिइन् ।

फार्मभित्र जैविक सुरक्षा तथा अत्याधुनिक खोरसहितको कुखुरा फार्म, दाना मिल, ह्याचरी (चल्ला उत्पादन तथा वितरण), रोग निदान प्रयोगशाला सेवा, नवीनतम प्रजातिका पन्छीपालन, अध्ययन–परीक्षण, पानी शुद्धीकरण प्लान्ट सञ्चालन रहेको छ । फार्ममा पाँच हजार माउ अट्ने दुईवटा अत्याधुनिक खोर रहेका छन् । पाण्डेका अनुसार गत आवमा फार्मबाट एक लाख ५० हजार चल्ला उत्पादन गर्ने लक्ष्य राखिएकोमा लक्ष्यभन्दा बढी एक लाख ७८ हजार १७१ चल्ला उत्पादन गरिएको हो ।

बजेटको व्यवस्थाअनुसार हरेक वर्ष चल्ला उत्पादनको लक्ष्य निर्धारण गरिने उनको भनाइ छ । कृषकलाई एक दिने चल्ला सिधै फार्मबाट र हुर्किएका चल्ला ब्रुडर किसानमार्फत वितरण गर्ने व्यवस्था रहेको वरिष्ठ प्राविधिक अधिकृत ज्ञानु बुढाले बताइन् । उनका अनुसार हरेक हप्ताको सोमबार कृषकलाई फार्मबाट एक दिने चल्ला वितरण गरिँदैआइएको छ । एक दिने चल्लालाई प्रतिचल्ला ४५ रूपैयाँँ र ब्रुडर किसानबाट बिक्री गरिने हुर्किएका चल्लालाई लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयबाट तोकिएको दररेटमा ब्रुडर किसानले बिक्री गर्दैआएको उनले जानकारी दिइन् ।

ब्रुडर किसानबाट ४ देखि १२ हप्तासम्मका चल्ला वितरण हुने उनले बताइन् । फार्मबाट ग्रामीण ब्लाक अष्ट्रालोप र न्यु हेम्पसायर प्रजातिका कुखुराका चल्ला र लोकल खजुरा साकिनी, घाँटी खुइले, शुद्ध कालो, प्वाँख उल्टे, साकिनीका चल्ला उत्पादन, संरक्षण तथा बजारीकरण हुँदैआएको फार्मले जनाएको छ । अघिल्लो आव २०८१–०८२ मा फार्मबाट एक लाख ७८ हजार ६५९ चल्ला र तीन लाख चार हजार १०२ वटा अण्डा उत्पादन तथा बिक्री भएको थियो ।

जसबाट एक करोड ४२ लाख १०३ रूपैयाँँ राजस्व संकलन भएको थियो । त्यसैगरी आव २०८०–०८१ मा फार्मबाट एक लाख ८१ हजार ९६६ चल्ला उत्पादन भएका थिए भने चल्ला, अण्डा, कुखुरा, मललगायतको बिक्रीबाट एक करोड सात लाख दुई हजार १०९ रूपैयाँँ राजस्व संकलन भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन ५ गते मंगलबार