स्पेन बन्यो फुटबलको विश्व च्याम्पियन



सन् २०१० मा पहिलोपटक विश्वकप जितेर २०१४ र २०१८ मा देखिएको निराशा तथा २०२२ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको स्पेन २०२६ मा दोस्रोपटक उपाधि जितेर फेरि विश्वको सर्वोच्च स्थानमा फर्किएको छ । सन् १९७८, १९८६ र २०२२ को विश्वकप विजेता अर्जेन्टिनालाई फाइनलमा १–० गोल स्तब्ध पार्दै विश्व फुटबलको च्याम्पियन बन्न सफल भएको हो ।

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

विश्व फुटबलको आधारभूमि मानिने स्पेनसँग सम्बन्धित दुई शब्द निकै चर्चित छन् । ती हुन्,– ला रोजा र टिकी–टाका । स्पेनको राष्ट्रिय फुटबल टोलीलाई विश्व फुटबलमा ‘ला रोजा’ उपनामले चिनिन्छ । जसको अर्थ स्पेनिस भाषामा ‘रातो टोली’ भन्ने हुन्छ । जुन स्पेनको जर्सीको रंग, राष्ट्रिय झण्डा र फुटबलको वर्चश्वसम्म प्रतिनिधित्व गर्छ ।स्पेनी खेलाडीले लगाउने जर्सी रातो रंगको छ भने राष्ट्रिय झण्डामा समेत रातै रंगको प्रयोग हुन्छ । जुन उनीहरूको राष्ट्रिय पहिचान र वीरताको प्रतीक हो ।

विश्व फुटबलमा स्पेनले देखाएको उत्कृष्ट प्रदर्शन र सफलतालाई पछिल्ला वर्षहरूमा ‘ला रोजा’को साखका रूपमा लिइन्छ । हाल स्पेन पुरुष र महिला दुवैतर्फ विश्व फुटबलको सबैभन्दा शक्तिशाली टोलीमध्ये एक हो । स्पेनको वर्तमान फुटबललाई ‘स्वर्ग युग’को रूपमा चित्रण गरिन्छ । जुन टिमले पछिल्लो पाँच वर्षमा मात्रै १६ उपाधि जितेको छ । तीमध्ये स्पेनले हालसम्म हासिल गरेको प्रमुख उपलब्धि ‘फिफा विश्वकप २०२६’को विश्व च्याम्पियन बन्नु हो ।

अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा भएको फाइनल खेलमा साविक विजेता अर्जेन्टिनालाई १–० गोल अन्तरले स्तब्ध पार्दै स्पेनले उपाधि जितेको हो ।पहिलोपटक विश्वकप जितेको १६ वर्षपछि दोस्रोपटक विश्वकप विजेता बनेको स्पेनका लागि फेरान टोरेसले गरेको गोल निर्णायक बन्यो । त्यसो त स्पेनको पुरुष सिनियर टोली पछिल्ला तीन वर्षमा प्रमुख तीन उपाधि जितेको छ । सन् २०२३ मा नेशन्स लिग, २०२४ मा युरो कप र २०२६ मा विश्वकप नै जितेको छ । फुटबलको स्वर्ण युगमा प्रवेश गरेको स्पेनी महिला सिनियर टोलीले सन् २०२२–२०२६ सम्म ११ उपाधि जितेको थियो ।

स्पेनको यू–१९ टोली २०२२–२०२६ सम्मको ५ पटकको युरोपियन च्याम्पियन हो । स्पेनी यू–२० टोलीले सन् २०२२ मा उमेर समूहको विश्वकप जितेको थियो । यू–२३ टोलीले सन् २०२४ को ओलम्पिकमा स्वर्ण पदक जितेको थियो । विगत पाँच वर्षमा स्पेनले उमेर समूहदेखि सिनियर महिला र पुरुष टोलीमा जुन उपलब्धि हासिल गरेको छ, त्यसको प्रमुख श्रेय जान्छ, स्पेनको ‘टिकी–टाका’ शैली । यही ‘टिकी–टाका’ शैलीको माध्यमबाट विश्व फुटबलमा एउटा युगकै सुरुवात नै गरेको छ ।

सन् २०१० मा पहिलोपटक विश्वकपको उपाधि जित्दा स्पेनले आफ्नो विशिष्ट शैली र संयमताको उत्कृष्ट नमूना प्रदर्शन गर्दै विश्व विजेताको ताज पहिरिएको थियो । अहिले भने सबैभन्दा आकर्षक र सन्तुलित फुटबल खेल्ने टोलीको परिचय नै बनेको छ । बल नियन्त्रण, उच्च प्रेसिङ, तीव्र आक्रमण र अनुशासित रक्षाको मिश्रणले स्पेनलाई उपाधि दिलाएको छ । यसपटक भने स्पेनको सफलताको प्रमुख केन्द्र सामूहिक खेल प्रदर्शन नै रह्यो । स्पेनको रक्षा पङ्क्तिदेखि अग्रपङ्क्ति र अनुभवी खेलाडीको अनुभव र नयाँ पुस्ताका खेलाडीहरूको जोश जितको प्रमुख कारक बन्यो ।

स्पेनको राष्ट्रिय पुरुष फुटबल टोलीले हालसम्म फिफा विश्वकपको २२ मध्ये १६ वटा संस्करणमा सहभागिता जनाएको छ । स्पेनले सन् १९३४ मा इटलीमा भएको विश्वकपमा पहिलोपटक सहभागिता जनाएको हो । सन् १९५० को ब्राजिल विश्वकपमा स्पेनले चौथो स्थान हात पारेको थियो । सन् १९५४ मा भने स्पेन विश्वकपमा छनोट हुन सकेन । सन् १९७८ मा पनि स्पेनले विश्वकपमा सहभागिता जनाएको थियो । स्पेनले सन् १९८२ को विश्वकप आयोजना गरेको थियो ।

त्यतिबेला स्पेनी टोली दोस्रो चरणबाटै बाहिरिएको थियो । सन् १०१४ को विश्वकपमा साविक विजेताका रूपमा सहभागी भएको स्पेनले समूहगत चरणबाटै बाहिरिएर विश्व फुटबललाई नै स्तब्ध पारेको थियो । स्पेनका लागि सन् २०१८ र २०२२ को विश्वकप पनि त्यति उपलब्धिमूलक रहेन् । सन् २०२६ मा आएर स्पेनले ऐतिहासिक दोस्रोपटक विश्वकप जितेको छ ।

विश्व च्याम्पियन स्पेनको अविश्वसनीय यात्रा

अमेरिका, मेक्सिको र क्यानडामा सञ्चालन भएको फिफा विश्वकपा २०२६ मा स्पेन अपराजित रह्यो । समूह चरणदेखि फाइनलसम्म खेलेका विश्वकपका कूल आठ खेलमा स्पेनले कुनै पनि खेल हारेन । स्पेनले समूह चरणको पहिलो खेलमा नवप्रवेशी केप भर्डेसँग निराशाजनक रूपमा शून्य गोलमा बराबरी खेलेको थियो । समूह चरणको दोस्रो खेलमा एसियाली राष्ट्र साउदी अरेबियालाई, तेस्रो खेलमा उरुग्वेलाई १–० गोलको कठिन जित निकालेको थियो ।

उरुग्वे दुईपटक विश्वकप जितिसकेको टिम हो । सन् १९३० मा पहिलोपटक आयोजित विश्वकपको आयोजक र विजेता देश हो, उरुग्वे । यस्तै सन् १९५० मा ब्राजिलमा भएको विश्वकपको विजेता टोलीलाई निराशाजनक रूपमा समूह चरणबाटै घर पठाएको थियो स्पेनले । राउण्ड अफ ३२ मा स्पेनले अस्ट्रियालाई ३–० गोलले पराजित गर्दै राउण्ड अफ १६ मा प्रवेश गरेको थियो । राउण्ड अफ १६ मा क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई १–० गोलले पराजित गर्दै क्वार्टरफाइनलको यात्रा तय ग¥यो ।

क्वार्टरफाइनलमा स्पेनले २–१ गोलले पराजित गरेको थियो । समूह चरणमा कुनै पनि गोल नखाएर अपराजित यात्रा थालेको स्पेनले क्वाटरफाइनलमा मात्र बेल्जियमको एक गोल खाएको थियो । सो खेलमा स्पेनले बेल्जियमलाई एक गोलका विरुद्ध दुई गोलले हराएको थियो । जारी विश्वकपमा स्पेन खाएको एउटा मात्रै गोल त्यही हो । स्पेन सेमी फाइनलमा फ्रान्सलाई ३–० को सहज जित निकाल्दै फाइनलमा टिकट काटेको थियो । २०२२ को उपविजेता र जारी विश्वकपाको उपाधिको प्रमुख दाबेदार मानिएको फ्रान्सलाई पराजित गरेको थियो ।

सन् १९९८ मा फ्रान्सले पहिलोपटक आयोजक राष्ट्रको रूपमा फाइनलमा ब्राजिललाई ३–० गोलले हराएर उपाधि जितेको थियो भने सन् २०१८ मा फ्रान्सले फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गर्दै आफ्नो दोस्रो विश्वकप उपाधि उचालेको थियो । फाइनलमा साविक विजेता अर्जेन्टिनालाई स्तब्ध पार्दै दोस्रोपटक विश्वकप जित्न सफल भयो । अर्जेन्टिनाले सन् १९७८, १९८६ र २०२२ को विश्वकपको उपाधि जितेको हो । स्पेन कीर्तिमानी ३९ खेलसम्म अपराजित छ ।

करोडौँको पुरस्कार र व्यक्तिगत अवार्ड

सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेकोे विश्वकप विजेता स्पेनले ट्रफीसहित पुरस्कारबापत पाँच करोड डलर पाएको छ । सन् २०२२ को कतार विश्वकपको विजेता अर्जेन्टिनाले चार करोड २० लाख डलर पुरस्कार पाएको थियो । सन् २०२६ मा उपविजेतामा सीमित हुँदै दोस्रो स्थान हासिल गरेको अर्जेन्टिनाले पुरस्कारबापत तीन करोड ३० लाख पुरस्कार प्राप्त गरेको छ । तेस्रो स्थान हासिल गरेको इङ्गल्यान्डले दुई करोड ९० लाख डलर तथा चौथो स्थान हासिल गरेको फ्रान्सले दुई करोड ७० लाख डलर पुरस्कार प्राप्त गरेको छ ।

यस्तै, फिफाले विश्वकपको तयारीका लागि ४८ वटा प्रत्येक टिमलाई १५ लाख डलर प्रदान गरेको थियो । त्यस्तै क्वाटरफाइनल पुगेका प्रत्येक टोलीले एक करोड ९० लाख डलर पाएका पाएका छन् । यसअघि समूह चरण खेलेका प्रत्येक टोलीले ९० लाख डलर, राउण्ड अफ ३२ मा पुगेका प्रत्येकलाई एक करोड १० लाख डलर तथा राउण्ड अफ १६ मा पुगेका प्रत्येक टिमले एक करोड ५० लाख डलर प्राप्त गरेका थिए ।

सन् २०२२ को विश्वकपको तुलनामा यस पटकको विश्वकपमा पुरस्कारको राशिमा वृद्धि गरिएको थियो । फिफाले हालसम्मकै सर्वाधिक राशि पुरस्कारको व्यवस्था गर्दै कूल पुरस्कारका लागि ८७ करोड १० लाख अमेरिकी डलर छुट्याएको थियो । स्पेनका कप्तान रोड्रीले विश्वकप अवधिभर उत्कृष्ट खेल प्रदर्शनका साथै टिमको सक्षम नेतृत्व गरेबापत ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित हुँदै गोल्डेन बल पाए ।

स्पेनकै गोलकिपर उनाई सिमोनलाई प्रतियोगिता अवधिभर सबैभन्दा कम गोल खाएबापत उत्कृष्ट गोलकिपरका रूपमा गोल्डेन ग्लोभ प्रदान गरिएको थियो भने स्पेनको रक्षापङ्क्तिका पाउ कुर्बासी ‘सर्वोत्कृष्ट युवा खेलाडी’ बन्न सफल भए । विश्वकपभर सर्वाधिक १० गोल गरेका फ्रान्सका कप्तान एमबाप्पेले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट अवार्ड जिते । ८ गोल गरेका अर्जेन्टिनाका लियोनल मेस्सीले शिल्भर बुट र ७ गोल गरेका इंग्ल्यान्डका जुड बेलिङघमले ब्रोन्ज बुट अवार्ड जिते ।

आगामी विश्वकप कहिले र कहाँ हुन्छ ?

फिफा विश्वकपको इतिहासमा सन् २०२६ को संस्करण विश्वकप इतिहासमै ऐतिहासिक रूपमा सम्पन्न भएको छ । अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना भएको विश्वकप कूल ३९ दिन सञ्चालन भयो । यो विश्वकप जुन ११ देखि जुलाई १९ सम्म सञ्चालन भएको हो । विश्वकप इतिहासमै पहिलोपटक ४८ राष्ट्रले सहभागिता जनाएको विश्वकपमा कूल १०४ खेल भएका थिए । सन् १०३४ देखि सुरु भएको फिफा विश्वकप हरेक चार वर्षमा सञ्चालन हुँदै आएको छ ।

विश्व फुटबलको महाकुम्भ सम्पन्न भएसँगै आगामी संस्करण कहाँ र कहिले सञ्चालन हुन्छ भन्ने आम चासो देखिन्छ । सन् २०३० मा सञ्चालन हुने विश्वकप तीन देशले संयुक्त रूपमा आयोजना गर्नेछन् । सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा सञ्चालन हुने तय भइसकेको छ । सन् २०२६ मा राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा भएको विश्वकपमा पहिलोपटक ४८ राष्ट्रले सहभागिता जनाएका थिए ।

सन् २०३० को फिफा विश्वकपमा हाल ४८ टोलीहरू सहभागी हुने तय गरिएको छ । प्रतियोगिताका अधिकांश खेल यी राष्ट्रमै हुनेछन् । तर, प्रतियोगिताको १००औँ वार्षिकोत्सवसमेत मनाइने भएकोले केही खेल उरुग्वे र अर्जेन्टिनामा समेत सञ्चालन गरिनेछ । यी दुवै देशले उद्घाटनका एक–एक खेल खेलाउनेछन् । फिफाका अनुसार, उरुग्वेले सन् १९३० मा पहिलो विश्वकप आयोजना गरेको सम्मानस्वरुप एउटा खेल आयोजना गर्नेछ भने अर्जेन्टिनाको खेलले सो प्रतियोगितामा उपविजेताको रूपमा रहेको यसको भूमिकालाई कदर गर्नेछ ।

उरुग्वे पहिलो विश्वकप प्रतियोगिताको आयोजक र विजेता हो भने अर्जेन्टिना उपविजेता देश हुन् । सन् २०३० को विश्वकप यो छवटा देश र तीनवटा महादेशमा आयोजना हुने पहिलो पुरुष विश्वकप बन्नेछ । सन् २०३४ मा सञ्चालन हुने फिफा विश्वपदेखि भने ६४ राष्ट्रले सहभागिता सम्भावना रहेको छ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले नियामक निकायले प्रतियोगितालाई ६४ टोलीमा विस्तार गर्ने प्रस्तावको परीक्षण गर्ने बताएका छन् । फिफा विश्वकप सन् २०३४ भने एसियाली राष्ट्र साउदी अरेबियाले एकल रूपमा आयोजना गर्नेछ ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन ५ गते मंगलबार