कांग्रेस मुगुमा संस्थापनको पकड



मुगु, २ फागुन (कास) : नेपाली कांग्रेस मुगुको सभापतिमा संस्थापन पक्षका खडकबहादुर शाही निर्वाचित भएका छन् । ११५ मत ल्याएका शाहीले पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका उम्मेदवार पदम रावललाई पराजित गरेका हुन् । रावलले ७० मत ल्याएका थिए ।

महासमिति सदस्यतर्फ आदिवासी जनजाति २ र जिल्ला कार्यसमितिको कोषाध्यक्ष र १ महिला पदबाहेकका पदमा शुक्रबार भएको मतदानको परिणाम शनिबार घोषणा गरिएको हो । २१७ मतदाता संख्या रहेकोमा  १९८ मत खसेको थियो ।

सचिवमा देउवा पक्षका मञ्जन कार्की विजयी भएका छन् । सदस्यहरूमा संस्थापन पक्षबाट खुलातर्फ खगेन्द्र मल्ल, हरिजंग शाही, अपांगतर्फ गजेन्द्र मल्ल, जनजातितर्फ निमापुटिक तामाङ, दलिततर्फ झुमा विक निर्वाचित भएका छन् । देउवा पक्षबाट खुलामा लोकबहादुर शाही, जन्मजय भण्डारी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७२ फागुन २ गते आइतबार