
काठमाण्डाै ।
सरकारले विद्यालय तहको पाठ्यक्रममा सीपमा आधारित शिक्षा, कृत्रिम बौद्धिकता अर्थात् एआई, सूचना प्रविधि र जीवनोपयोगी शिक्षालाई प्राथमिकता दिने भएको छ । ‘विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६’ परिमार्जनका लागि गठित कार्यदलले ‘ब्यागलेस डे’ र ‘बुक फ्री फ्राइडे’ अभ्यास, नैतिक शिक्षा, खेलकुद विज्ञान, जलवायु परिवर्तन र सूचना प्रविधिको नैतिक प्रयोगलाई पाठ्यक्रममा समेट्ने तयारी गरेको हो ।
काठमाण्डाै विश्वविद्यालयका शिक्षा सङ्कायका तत्कालीन डीन प्रा. डा. बालचन्द्र लुइँटेलको संयोजकत्वमा गठित १९ सदस्यीय कार्यदलले यसको गृहकार्य गरिरहेको छ ।पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीका अनुसार परिमार्जनका क्रममा विभिन्न माध्यमबाट अहिलेसम्म झन्डै एक लाख ५० हजार सुझाव प्राप्त भइसकेका छन् ।
प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्म समेटिने यो प्रारूपमा डिजिटल रूपान्तरण, युवाका आकाङ्क्षा, समावेशिता, विपद् व्यवस्थापन र शिक्षण विधिलाई प्रमुख आधार बनाइएको छ । शैक्षिक क्षेत्रका जानकारहरूले व्यावहारिक, रोजगारीमुखी र तनावमुक्त मूल्याङ्कन प्रणालीमा जोड दिन सुझाव दिएका छन् ।









प्रतिक्रिया दिनुहोस्