सडक स्तरोन्नतिका लागि एक अर्ब विनियोजन



वीरेन्द्रनगर ।

कर्णाली करिडोरअन्तर्गत हुम्लाको बालुकुना–सलीसल्ला सडकखण्ड अब स्तरोन्नति तथा कालोपत्रे हुने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि उक्त सडकखण्डको स्तरोन्नति तथा कालोपत्रे गर्न एक अर्ब रूपैयाँँ बजेट विनियोजन गरेको हो । बजेट विनियोजनसँगै कर्णाली करिडोरको रणनीतिक सडक निर्माणले नयाँ गति लिने अपेक्षा गरिएको छ ।

यो सडकले वर्षौँदेखि पहिरो, धुलो, हिलो र सडक अवरोधको समस्याले यात्रुलाई सास्ती दिँदै आएको छ । कर्णाली करिडोर दक्षिण खण्ड (कोल्टी) कार्यालयका प्रमुख बिसुनदास लामाका अनुसार हुम्लाको सर्केगाड गाउँपालिका–१ अन्तर्गत पर्ने बालुकुनादेखि सलीसल्लासम्म करिब १३ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रेका लागि बजेट सुनिश्चित भइसकेको छ । बजेट व्यवस्थासँगै लामो समयदेखि रोकिँदै आएको निर्माण प्रक्रिया अब औपचारिक रूपमा अघि बढ्ने उनले जानकारी दिए ।

उनका अनुसार सडक निर्माणका लागि साउन महिनाभित्रै ठेक्का आह्वान गरिनेछ । ठेक्का प्रक्रिया सम्पन्न भएपछि निर्माण कम्पनी परिचालन गरी स्थलगत काम सुरु हुनेछ । निर्माणका क्रममा पहिरो नियन्त्रण तथा सडक संरक्षणलाई प्राथमिकता दिइनेछ । यो सडक खण्ड विशेषगरी वर्षायाममा बारम्बार पहिरो खस्ने, सडक अवरुद्ध हुने तथा सुक्खा पहिरोका कारण यात्रु र सवारीसाधन उच्च जोखिममा पर्ने क्षेत्रका रूपमा परिचित छ ।

त्यसैले निर्माणका क्रममा मेसिनरी वाल, ग्याबियन संरचना, जैविक इन्जिनियरिङ प्रविधिलगायत आधुनिक संरक्षण उपाय अपनाइने आयोजनाले जनाएको छ । यसले सडकको दीर्घकालीन स्थायित्व र सुरक्षित यातायात सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसैबीच कर्णाली करिडोरको अर्को महत्वपूर्ण खुलालु–सलीसल्ला खण्डमा समेत निर्माण गतिविधि तीव्र बन्दै गएको छ । खुलालु–बालुकुना सडकका लागि अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएपछि कालोपत्रे तथा स्तरोन्नतिको प्रक्रिया अगाडि बढाइएको आयोजना कार्यालयले जनाएको छ ।

आयोजनाका अनुसार सडकको ट्र्याक निर्माण सम्पन्न भइसकेपछि बहुवर्षीय ठेक्का प्रक्रियामार्फत कालोपत्रे गर्ने तयारी गरिएको हो । यसका लागि आवश्यक वित्तीय स्रोत सुनिश्चित गर्न अर्थ मन्त्रालयले सहमति दिइसकेको छ । कालीकोटको खुलालुदेखि कोटसम्म १३ किलोमिटर तथा भुक्काखोलादेखि बाजुराको पिलुचौरसम्म १५ किलोमिटर सडक कालोपत्रे गर्न करिब दुई अर्ब १५ करोड रूपैयाँँ बराबरको बहुवर्षीय ठेक्काको प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको थियो ।

आयोजना प्रमुख लामाका अनुसार उक्त प्रस्तावअनुसार स्रोत सुनिश्चित भइसकेको छ । अब करिब ४१ किलोमिटर सडकको ठेक्का व्यवस्थापन प्रक्रिया छिट्टै अघि बढाइनेछ । करिडोर प्रवेशद्वारका रूपमा रहेको खुलालु–सलीसल्ला खण्डअन्तर्गत ३५ किलोमिटर ग्राभेल सडकको स्तरोन्नति सम्पन्न भइसकेको छ । त्यस्तै पालाताको घाटाचौरदेखि भुक्काखोलासम्म १४ किलोमिटर क्षेत्रमा नेपाली सेनाले कडा चट्टान विस्फोट गरी सडक विस्तारको काम गरिरहेको छ ।

दुर्गम भू–भाग र कठिन भौगोलिक संरचनाका कारण यो खण्डलाई करिडोरकै सबैभन्दा चुनौतीपूर्ण निर्माण क्षेत्र मानिन्छ । यसैगरी पिलुचौरदेखि कुबाडीसम्म २३ किलोमिटर तथा कुबाडीदेखि तुम्चासम्म २७ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का व्यवस्थापन भइसकेको छ । यी खण्डमा निर्माण कम्पनी परिचालन भई काम सुरु भएको आयोजनाले जनाएको छ । सडकसँगै पुल निर्माणलाई पनि समानान्तर रूपमा अघि बढाइएको छ ।

करिडोरमा निर्माण गर्नुपर्ने १५ वटा पुलमध्ये हाल नौ वटा पुल निर्माणाधीन अवस्थामा रहेका छन् भने बाँकी ६ वटा पुलका लागि बजेट सुनिश्चित भइसकेको छ । ती पुल निर्माणका लागि करिब ६२ करोड रूपैयाँँ विनियोजन गरिएको आयोजनाले जनाएको छ । कालिकोट–बाजुरा सीमाक्षेत्रका भुक्काखोला, सेराखोला, बाँधुखोला, तुसारेखोला, पैमाखोला र मकाखोलामा बहुवर्षीय ठेक्कामार्फत पुल निर्माण प्रक्रिया अघि बढाइएको आयोजनाले जनाएको छ ।

पुल निर्माण सम्पन्न भएपछि वर्षायाममा हुने यातायात अवरोध उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ । वर्षौँदेखिको निर्माण ढिलाइ, बजेट अभाव र कठिन भूगोलका कारण प्रभावित हुँदै आएको करिडोरले पछिल्ला वर्षहरूमा स्रोत सुनिश्चित हुँदै गएपछि निर्माणले अपेक्षाकृत गति लिन थालेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार २५ गते बिहीबार