गेटा (कैलाली) ।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया शिक्षामन्त्री सस्मित पोखरेलले समय नदिँदा रोकिएको छ । पदाधिकारी नियुक्तिका लागि आवश्यक सिनेट बैठक बस्न नसक्दा विश्वविद्यालयको नेतृत्व अझै टुंगो लाग्न सकेको छैन । गत वैशाखमा सरकारले अध्यादेशमार्फत सबै विश्वविद्यालयका पदाधिकारीलाई पदमुक्त गरेको थियो ।
त्यसपछि नयाँ पदाधिकारी नियुक्तिका लागि सरकारले विश्वविद्यालय ऐनअनुसार सिफारिस समिति गठन गरेको थियो । समितिमा प्रा.डा. जयराज अवस्थी, प्रा.डा. लोचना श्रेष्ठ र प्रा.डा. दिनेशकुमार लम्साल सदस्य थिए । पछि प्रा.डा. लोचना श्रेष्ठले राजीनामा दिएपछि उनको स्थानमा प्रा.डा. शैलु प्रधानलाई मनोनीत गरिएको थियो । स्रोतका अनुसार सिफारिस समितिले अघिल्लो साता नै उपकुलपति र रजिष्ट्रारका लागि नाम सिफारिस गरिसकेको छ ।
तर, नियुक्तिका लागि आवश्यक सिनेट बैठक बोलाउन शिक्षामन्त्री पोखरेलले समय नदिएकाले प्रक्रिया अघि बढ्न सकेको छैन । यसबीच सरकारले केही दिनअघि अन्य विश्वविद्यालयका पदाधिकारी नियुक्त गरिसकेको भए पनि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी भने अझै नियुक्त भएका छैनन् ।
यसको प्रत्यक्ष असर विश्वविद्यालयको आगामी शैक्षिक योजनामा परेको छ । विश्वविद्यालयले आगामी आर्थिक वर्षदेखि चिकित्सा शिक्षाको स्नातक तहको अध्ययन सुरु गर्ने तयारी गरिरहेको अवस्थामा नेतृत्व अभावका कारण योजना कार्यान्वयनमा अन्योल बढेको सरोकारवालाहरूले बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्