दाङ ।
देउखुरी क्षेत्रमा अजिङ्गरले बाख्रालाई बेरेपछि स्थानीयवासी त्रसित बनेका छन् । चन्दनपुर सामुदायिक वन क्षेत्रमा बाख्रा चराइरहेको समयमा अजिङ्गरले एक्कासि आक्रमण गरी बेरेको देखेपछि स्थानीयले तत्काल उद्धारका लागि डिभिजन वन कार्यालय देउखुरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै डिभिजन वन कार्यालयका कर्मचारी, पत्रकार एवम् वन्यजन्तु उद्धारकर्ता शिवु खनाल घटनास्थलमा पुगेर अजिङ्गरलाई सकुशल उद्धार गरिएको हो ।
सोमबार दिउँसो गढवा गाउँपालिका वडा नम्बर ७ शान्तिपुर क्षेत्रमा करिब १३ फिट लामो र ३० किलोभन्दा बढी वजनको अजिङ्गर सर्प सकुशल उद्धार गरिएको छ ।
अजिङ्गरबाट घाइते भएको गढवा गाउँपालिका वडा नं. ७ शान्तिपुरकी सरिता बुढाथोकीको बाख्रा मरेको छ । घटनापछि गाउँमा त्रास फैलिएको छ भने वन क्षेत्र नजिक बसोबास गर्ने स्थानीयले यस्ता वन्यजन्तु गाउँ पस्ने क्रम बढ्दै गएको भन्दै वन्यजन्तु संरक्षणसँगै मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न आवश्यक पहल गर्न आग्रह गरेका छन् ।
स्थानीय क्षेत्रमा देखापरेको उक्त अजिङ्गरलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय देउखुरीलाई बुझाइएको सर्प उद्धारकर्ता शिवु खनालले जानकारी दिए । वन कार्यालयका अनुसार अजिङ्गर अविषालु भए पनि यसको संरक्षण आवश्यक रहेको र मानिस तथा वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि सचेतना आवश्यक पर्ने जनाएको छ । स्थानीयहरूले सर्पलाई मार्नेभन्दा पनि सुरक्षित उद्धार गरी संरक्षणमा जोड दिइएकोमा खुसी व्यक्त गरेका छन् ।
सिमसार संरक्षणले बढ्दै अजिङ्गरको सङ्ख्या
सिमसार क्षेत्र संरक्षण हुन थालेपछि देउखुरीमा अजिङ्गरको सङ्ख्या बढ्दै गएको छ । वनभित्र रहेका सिमसार, पोखरी, तालतलैया, नदी, खोला लगायतबाट संरक्षणमा टेवा पुगेपछि अजिङ्गरको सङ्ख्या बढ्दै गएको हो । देउखुरीको लमही, गढवा, राजपुर र राप्ती क्षेत्रमा पछिल्लो वर्ष यतादेखि अजिङ्गर देखिन थालेका हुन् । अन्य क्षेत्रका वन, नदी खोला, तालतलैया नजिकका बस्तीमा पनि अजिङ्गर देखापर्ने गरेका स्थानीय बताउँछन् ।
देउखुरी क्षेत्रबाट करिब एक दर्जनभन्दा बढी अजिङ्गरको उद्धार गरी सुरक्षित रूपमा प्राकृतिक वासस्थानमा छाडिएको डिभिजन वन कार्यालय देउखुरीका डिभिजनल वन अधिकृत गणेश खड्काले जानकारी दिए । उनका अनुसार यस वर्षको साउनदेखि यता चार वटा अजिङ्गरको उद्धार गरी सुरक्षित रूपमा छाडिएको छ । संरक्षणको सूचीमा सूचीकृत अजिङ्गर देउखुरी क्षेत्रमा अधिक देखापरेका छन् ।
‘देउखुरी क्षेत्रमा अधिक रूपमा सिमसार क्षेत्र रहेका छन्,’ डिभिजनल वन अधिकृत खड्काले भने, ‘अजिङ्गरलाई पर्याप्त आहारा पाइने, तालतलैया, नदी, खोला रहेका छन्, उपयुक्त हावापानी छ, उखु खेती पर्याप्त मात्रामा भएकाले यो क्षेत्रमा उपयुक्त वासस्थान छन् ।’ उद्धार गरिएको अजिङ्गरलाई पत्रकार तथा वन्यजन्तु उद्धारकर्ता शिवु खनालले सुरक्षित वासस्थानमा लगेर छाडिने गरेको जानकारी दिए । ‘अजिङ्गर संरक्षित वन्यजन्तु भएकाले यसलाई संरक्षण गर्नुपर्छ भनेर प्रचारप्रसार गर्दै आएका छौँ, यसबाट सर्वसाधारण जानकार भएका छन्,’ उनले भने । उनका अनुसार स्थानीय बासिन्दाको कुखुरा फार्म, खेतबारी, आँगन, घरभित्र अजिङ्गर आहाराको खोजीमा आउने गर्दछ ।









प्रतिक्रिया दिनुहोस्