कर्णाली पर्यटन दशक मनाउने घोषणा



नन्दराम जैशी । सुर्खेत ।

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–०८४ देखि ‘कर्णाली पर्यटन दशक’ सुरु गर्ने घोषणा गरेको छ । पर्यटनलाई प्रदेशको आर्थिक रूपान्तरणको मुख्य आधार बनाउने महत्वाकांक्षी लक्ष्यसहित प्रदेश सरकारले यस्तो घोषणा गरेको हो । पर्यटन दशकको अवधारणाले प्रदेश सरकार पर्यटनलाई भ्रमणसँग जोडिएको क्षेत्र नभई रोजगारी, उद्यमशीलता र दीर्घकालीन आर्थिक विकासको प्रमुख माध्यमका रूपमा स्थापित गर्न चाहेको स्पष्ट छ ।

तर विगतका योजनाको कार्यान्वयन अनुभव हेर्दा दशक अभियानको सफलता बजेट घोषणाभन्दा पनि त्यसको प्रभावकारी कार्यान्वयनमा निर्भर रहने देखिन्छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पर्यटन क्षेत्रको समग्र विकास, व्यवस्थापन र प्रवद्र्धनका लागि ५३ करोड ८६ लाख रूपैयाँँ बजेट विनियोजन गरेको छ । यसअन्तर्गत पर्यटकीय पूर्वाधार निर्माण, गन्तव्य संरक्षण, पहुँच विस्तार, सेवा गुणस्तर सुधार तथा स्थानीय समुदायको सहभागितालाई प्राथमिकतामा राखिएको छ ।

सरकारको अपेक्षाअनुसार दशक अभियान सफल भए कर्णाली नेपालको प्रमुख पर्यटन गन्तव्यका रूपमा स्थापित हुनेछ । सरकारले पर्यटन पूर्वाधार निर्माणसँगै स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ । पर्यापर्यटन, ग्रामीण पर्यटन तथा होमस्टे व्यवसाय प्रवद्र्धन गर्न हस्पिटालिटी सेवा, ट्रेकिङ गाइड, स्थानीय वास्तुकला संरक्षण तथा रैथाने परिकार प्रवद्र्धनसम्बन्धी सीपमूलक तालिम सञ्चालन गरिने योजना सार्वजनिक गरिएको छ ।

यसले पर्यटन क्षेत्रलाई स्थानीय उत्पादन, कृषि, संस्कृति तथा सेवा व्यवसायसँग जोड्दै रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य छ । यता पर्यटन व्यवसायीहरूले प्रदेश सरकारको घोषणालाई सकारात्मक रूपमा स्वागत गरेका छन् । तर उनीहरू बजेटको प्रभावकारी, पारदर्शी र योजनाबद्ध कार्यान्वयन हुनुपर्नेमा जोड दिन्छन् ।

पर्यटन तथा होटल व्यवसायी तर्कबहादुर शाहीका अनुसार कर्णालीमा पर्यटन विकासका सम्भावना नयाँ होइनन्, तर पूर्वाधार अभाव, कमजोर पहुँच, प्रचारप्रसारको कमी र बजेट कार्यान्वयनको सुस्त गतिका कारण अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन । पर्यटन दशक अभियान सफल बनाउन सडक र हवाई पहुँच सुधार, निजी क्षेत्रको लगानी आकर्षण, पर्यटन सेवाको गुणस्तर अभिवृद्धि, गन्तव्यको ब्रान्डिङ तथा दीर्घकालीन योजना आवश्यक हुने उनले बताए । अन्यथा ‘पर्यटन दशक’ घोषणा कागजमै सीमित हुने जोखिम रहेको उनको भनाइ छ ।

पाँच गन्तव्यमा केन्द्रित लगानी

प्रदेश सरकारले पर्यटन दशकको प्रारम्भिक चरणमै आगमी आर्थिक वर्ष कार्यान्वयन हुने गरी प्रदेशका पाँच प्रमुख पर्यटकीय गन्तव्यलाई प्राथमिकतामा राखेको छ । राराताल, काँक्रेविहार, बुलबुले उद्यान तथा चौहान पार्क, कुपिण्डे दह र स्यार्पु तालको संरक्षण, विकास तथा प्रवद्र्धनका लागि २१ करोड ३५ लाख रूपैयाँँ छुट्याइएको हो।

यी स्थल प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले कर्णालीका प्रतिनिधि गन्तव्य मानिन्छन् । प्रदेश सरकारले यिनका गुरुयोजनालाई प्रभावकारी बनाउँदै पर्यटक आकर्षण बढाउने रणनीति अघि सारेको छ । कर्णाली प्रदेश सरकारका अनुसार हिमाल, ताल, नदी, वन, जैविक विविधता तथा मौलिक संस्कृति पर्यटनका दृष्टिले प्रदेशका सबैभन्दा बलिया सम्पत्ति हुन् । यिनै सम्भावनालाई आर्थिक लाभमा रूपान्तरण गर्ने उद्देश्यले सरकारले पर्यटन दशक घोषणा गरेको हो ।

आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहका अनुसार पर्यटन पूर्वाधार, सेवा गुणस्तर र गन्तव्य व्यवस्थापनलाई सुदृढ बनाउँदै कर्णालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन मानचित्रमा स्थापित गर्ने नीति लिइएको छ । सरकारले पर्यटनसँग जोडिएका सहायक पूर्वाधार निर्माणका लागि पनि उल्लेखनीय बजेट विनियोजन गरेको छ ।

पार्क, उद्यान, खुला स्थान, पदमार्ग, दृश्यावलोकन स्थल तथा प्राकृतिक, धार्मिक र सांस्कृतिक पर्यटन पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि ३९ करोड ९६ लाख रूपैयाँँ बजेट छुट्याइएको आर्थिकमन्त्री शाहले बताए । कर्णाली सरकारले पहिलोपटक पर्यटनलाई दीर्घकालीन आर्थिक विकासको मेरुदण्डका रूपमा प्रस्तुत गर्दै दशक अभियान घोषणा गरेको कर्णाली सरकारका पर्यटनमन्त्री सुरेश अधिकारी बताउँछन् ।

उनका अनुसार बजेटले पर्यटन क्षेत्रप्रति सरकारको प्राथमिकता देखाएको भए पनि यसको वास्तविक सफलता योजनाको प्रभावकारी कार्यान्वयनपछि देखिने छ । ‘यसका लागि निजी क्षेत्रसँगको सहकार्य र स्थानीय समुदायको सक्रिय सहभागितामै निर्भर रहनेछ,’ उनले भने, ‘यदि घोषणाअनुरूप काम अघि बढ्न सके कर्णाली प्राकृतिक सौन्दर्यको भूमि मात्र होइन, नेपालको सबैभन्दा आकर्षक र दिगो पर्यटन गन्तव्यका रूपमा स्थापित हुने सम्भावना बलियो छ ।’

  • No tags available
प्रकाशित मिति : २०८३ असार १५ गते सोमबार