गुल्मीको मालिकामा बेसारको ब्रान्डिङ



गुल्मी ।

गुल्मीको मालिका गाउँपालिकामा बेसारको ब्रान्डिङ सुरु गरिएको छ । गाउँपालिकाको वडा नम्बर २ दर्लिङ्गमा बेसारको प्याकेटिङ गरी बिक्रीवितरण सुरु गरिएको हो ।
गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा जनविकास केन्द्रद्वारा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता विकास परियोजनाअन्तर्गत गठन भएको दिदीबहिनी कृषि तथा पशु विकास महिला सहकारीले बेसारको उत्पादन गरी बिक्रीवितरण सुरु गरेको हो ।

परियोजनाले मेसिन र अन्य उपकरण सहयोग गरेपछि महिलाहरूले बेसार उद्योग सञ्चालन गरेका हुन् । अहिले बेसारको मूल्य प्रतिकेजी चार सय रूपैयाँँ रहेको परियोजना संयोजक बाबुराम पन्थीले जानकारी दिए । सहकारीमा हाल गाउँपालिकाका वडा नम्बर १, २ र ३ का महिलाहरू आबद्ध छन् ।

सहकारीले बेसारका साथसाथै स्थानीय उत्पादन आटो, पिठो लगायतका खाद्यान्न पनि बिक्रीवितरण गर्ने लक्ष्य राखेको छ । हाल परियोजनाले मालिका गाउँपालिकामा कृषि र पशुसम्बन्धी उत्पादन र उत्पादकत्वसम्बन्धी काम गर्दै आएको संयोजक पन्थीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार १५ गते सोमबार