कार्यक्रमस्थलबाटै नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ



सुर्खेत ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ परेका छन् । उनलाई वीरेन्द्रनगरस्थित शुभम होटलमा आयोजित पार्टीको कार्यक्रमस्थलबाटै सोमबार जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको थियो । नेकपा एमालेको ‘निर्वाचन समीक्षा तथा पुनर्गठन’सम्बन्धी कार्यक्रममा सहभागी हुन उपाध्यक्ष पौडेल सुर्खेत पुगेका थिए ।

कार्यक्रम नसकिँदै सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ठाकुरप्रसाद पोखरेल आफैँ गाडी लिएर होटल पुगेका थिए । प्रहरीले ‘जाने बेला भयो, निस्कनुस्’ भन्दै उपाध्यक्ष पौडेललाई होटलबाहिर बोलाएर नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पु¥याएको थियो । एसपी पोखरेलले पौडेललाई आफ्नै गाडीमा राखेर कार्यालयमा पु¥याएका थिए । सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानका लागि पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्र पठाएपछि उपाध्यक्ष पौडेल पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहराले कर्णाली प्रदेश प्रहरी कार्यालयलाई पठाएको पत्रअनुसार पौडेललाई साँझ सवा ५ बजे वीरेन्द्रनगर नगरपालिका–३ स्थित ‘शुभ होटल’बाट नियन्त्रणमा लिइएको बताए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोकबाट प्राप्त पत्र र इमेलका आधारमा प्रहरीले पौडेलको खोजी गरेको थियो । विभागले पौडेलमाथि सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा २१ बमोजिमको कसुरमा अनुसन्धान भइरहेको भन्दै पक्राउ गरेर उपस्थित गराइदिन सुर्खेत प्रहरीलाई अनुरोध गरेको पत्रमा उल्लेख रहेको छ ।

जिप्रका सुर्खेतले प्रदेश कार्यालयलाई गराएको जानकारीअनुसार पक्राउ परेका पौडेललाई आवश्यक कानुनी प्रक्रियाका लागि सक्कल कागजातसहित विभाग पठाइसकिएको छ । उनलाई विभागमा बुझाउनका लागि प्रहरी नायब निरीक्षक (सई) श्यामप्रसाद यादवको जिम्मा लगाइएको सुर्खेत प्रहरीले जनाएको छ । सुर्खेत प्रहरीले सो जानकारीको बोधार्थ नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय र प्रदेश प्रहरी कार्यालय नेपालगन्जलाई समेत पठाएको छ ।

उपाध्यक्ष पौडेललाई कडा सुरक्षा घेरामा सोमबार राति सुर्खेतबाट नेपालगन्ज पु¥याइएको थियो । प्रहरी स्रोतका अनुसार नेपालगन्जमा राखिएका पौडेललाई आज बिहान जहाजमार्फत काठमाडौँ लगिनेछ । यस्तै उपाध्यक्ष पौडेललाई पक्राउ गर्नुअघि उनको घरमा छापा मारेको खुलेको छ । विभागले उनलाई नियन्त्रणमा लिनुअघि ललितपुरको भैंसेपाटीस्थित उनको निवासमा छापा मारेको हो ।

प्रहरीले छापा मारेर केही कागजात समेत नियन्त्रणमा लिएको विभागसम्बद्ध स्रोतले जानकारी दिएको छ । पौडेलले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभागसम्बद्ध उच्च स्रोतले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार ९ गते मंगलबार