प्रजनन र मानसिक स्वास्थ्यसम्बन्धी दुईदिने अभिमुखीकरण सम्पन्न



कोहलपुर ।

अपाङ्गता भएका महिलाको प्रजनन स्वास्थ्य तथा मानसिक स्वास्थ्य सम्बन्धी दुईदिने वृहत् अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। बाँके अपाङ्गता महिला संघको आयोजनामा तथा कोहलपुर नगरपालिकाको महिला, बालबालिका तथा समाजीकरण उपशाखाको सहकार्यमा प्रजनन स्वास्थ्य तथा मानसिक स्वास्थ्य सम्बन्धी दुईदिने वृहत् अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो ।

अपाङ्गता भएका महिलाहरुले प्रजनन स्वास्थ्य तथा मानसिक स्वास्थ्य समस्या भोग्न नपरोस् भनेर नगरपालिकाले सक्ने सचेता र अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै आएको बताइन् । कतिपए अवस्थामा अहिले पनि प्रजनन स्वास्थ्य तथा मानसिक स्वास्थ्य जस्ता समस्याहरु लुकाएर बस्ने प्रवृत्ति रहेकाले अब तयसको अन्त्य हुनुपर्नेमा उनले जोड दिइन् । नगरपालिका पनि अपांगता भएका व्यक्तिहरुका लागि सक्दो सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि गर्ने प्रतिवद्धता जनाइन् ।

अपाङ्गता भएका महिला तथा उनीहरुका अभिभावकहरुलाई लक्षित गर्दै स्वास्थ्यसम्बन्धी आधारभूत ज्ञान, अधिकार र व्यवहारिक सीप प्रदान गर्ने उदेश्यले कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा प्रजनन स्वास्थ्य, महिनावारी व्यवस्थापन, मानसिक स्वास्थ्य, लैंगिक समानता तथा स्वास्थ्य अधिकारका विषयमा विस्तृत प्रशिक्षण दिइएको अपाङ्गता महिला संघ बाँके अध्यक्ष विनिता शर्माले बताइन् । ग्रामीण तथा पिछडिएका समुदायका धेरै महिला र किशोरीहरू स्वास्थ्यसम्बन्धी आधारभूत जानकारीबाट वञ्चित रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले चेतना विस्तार र सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने उनले जानकारी दिइन् ।

स्वास्थ्य क्षेत्रमा कार्यरत विज्ञ तथा प्रशिक्षकहरूले किशोरावस्था तथा वयस्क जीवनमा देखिने शारीरिक र मानसिक परिवर्तन, तनाव व्यवस्थापन, आत्मविश्वास विकास र सकारात्मक सोच निर्माणका विषयमा सहभागीहरूलाई व्यवहारिक रूपमा प्रशिक्षण दिएका थिए । अभिमुखीकरणका क्रममा सहभागीहरूले प्रजनन स्वास्थ्य र मानसिक स्वास्थ्यसँग सम्बन्धित विभिन्न जिज्ञासा राखेका थिए। प्रशिक्षकहरूले ती जिज्ञासाहरूको वैज्ञानिक तथा व्यवहारिक ढंगले उत्तर दिँदै गलत धारणा र भ्रमहरू हटाउने प्रयास गरेका थिए।

त्यसैगरी, मानसिक स्वास्थ्यसम्बन्धी खुला छलफलका क्रममा सहभागी महिलाहरूले पछिल्लो समय बढ्दो तनाव, पारिवारिक जिम्मेवारी, सामाजिक दबाब र आर्थिक चुनौतीले मानसिक स्वास्थ्यमा प्रभाव पारिरहेको अनुभव साझा गरेका थिए । कार्यक्रममा यस्ता विषयमा खुलेर छलफल गर्न पाउँदा आफूहरू लाभान्वित भएको उनीहरूको प्रतिक्रिया थियो। सहभागीहरूले स्थानीय तह, स्वास्थ्य संस्था तथा सरोकारवाला निकायहरूले समुदायस्तरमा यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका छन्। साथै, किशोरीहरूलाई लक्षित गर्दै विद्यालय तथा समुदायमा नियमित स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव पनि दिएका छन्।

आयोजक बाँके अपाङ्ग महिला संघले महिलाको सशक्तीकरण, स्वास्थ्य अधिकारको सुनिश्चितता तथा सामाजिक समावेशीकरणलाई केन्द्रमा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै अपाङ्गता भएका महिलाहरूलाई स्वास्थ्यसम्बन्धी जानकारीमा पहुँच बढाउने तथा उनीहरूको आत्मनिर्भरता र सशक्तीकरणमा सहयोग पुर्‍याइने बताइएको छ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार ८ गते सोमबार