‘युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील छ’



काठमाडौँ ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील रहेको बताएका छन् । नेपाली युवा उद्यमी मञ्चले आइतबार आयोजना गरेको ‘युवा उद्यमशीलता सम्मेलन–२०८३’लाई सम्बोधन गर्दै मन्त्री यादवले युवालाई सीप, रोजगार र उद्यमशीलतासँग जोड्न सरकारले राष्ट्रिय अभियान अगाडि बढाएको बताए ।

उनले सरकार एक्लैले रोजगार सिर्जना गर्न नसक्ने र रोजगार सिर्जना गर्ने निजी क्षेत्रले नै भएको बताए । मन्त्री यादवले आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धनको दशक’का रूपमा मनाइने बताए । देशको समृद्धि युवाको पसिना स्वदेशमै बगाउँदा मात्र सम्भव हुने उनको भनाइ थियो ।

मन्त्री यादवले आफ्नो मन्त्रालयको ८० प्रतिशत समय वैदेशिक रोजगारीका समस्या समाधानमा खर्च भइरहेको बताए । ‘सरकार, रोजगारदाता र श्रमिक’ बीचको त्रिपक्षीय सहकार्यमार्फत रोजगारीका अवसर वृद्धि गरिने उनको भनाइ थियो । सूचना प्रविधि, पर्यटन, कृषि प्रशोधन र ‘ग्रीन इकोनोमी’मा नेपालको उज्ज्वल भविष्य रहेको मन्त्री यादवले उल्लेख गरे । उनले सरकार सधैँ उद्यमीको साथमा रहेको बताए ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार १ गते सोमबार