काभ्रे बस दुर्घटना: मृत्यु भएका आठै जनाको सनाखत



काठमाडौँ ।

बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनामा ज्यान गुमाएका सबै ८ जनाको सनाखत भएको छ ।प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका व्यक्तिहरूको पहिचान पुष्टि गरिएको हो ।

दुर्घटनापछि घाइते तथा मृतकको उद्धार गरी विभिन्न अस्पतालमा लगिएको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टका अनुसार दुर्घटनामा रोशी गाउँपालिका–६ का ७३ वर्षीय मेघ बहादुर तामाङ, ५५ वर्षीय राजु तामाङ र ७५ वर्षीय ईन्द्रबहादुर तामाङको मृत्यु भएको छ ।

त्यस्तै, रोशी गाउँपालिका–७ बस्ने ३४ वर्षीया फुलमाया तामाङ, ६० वर्षीया माया लामा र वडा नं. ८ बस्ने ६० वर्षीया प्यारीमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार नेपाली सेनामा अमल्दार पदमा कार्यरत ३० वर्षीय बमबहादुर भण्डारी र सिन्धुलीको घ्याङलेख गाउँपालिका–४ बस्ने २२ वर्षीया सुमी लामाको मृत्यु भएको छ । बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस शुक्रबार दुर्घटनामा परेकाे हाे ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ ३० गते शनिबार