गर्मी अत्यधिक बढेपछि कोहलपुरका विद्यालय तीन दिन बिदा



कोहलपुर ।

पछिल्ला केही दिनयता बाँकेसहित तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढ्दै गएपछि कोहलपुर नगरपालिकाले विद्यालयहरूमा तीन दिन बिदा दिने निर्णय गरेको छ। उच्च तापक्रमका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले यो निर्णय गरेको जनाएको छ।

कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख रबिलाल मिजारका अनुसार जेठ २५ गतेदेखि २७ गतेसम्म तीन दिन नगरभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरूमा तीन दिन बिदा दिने निर्णय गरिएको बताए। मौसमको अवस्था तत्काल सुधार हुने सम्भावना नदेखिएको र तापक्रम लगातार बढ्दो क्रममा रहेकाले विद्यार्थीहरूको सुरक्षालाई प्राथमिकतामा राखेर बिदा जानकारी दिए ।

हालका लागि तीन दिन विद्यालय बन्द रहने भए पनि परिस्थितिअनुसार आगामी दिनमा बिदा थप गरिने पनि बताइएको छ । दिउँसोको समयमा सडकहरू सुनसान देखिन थालेका छन् भने सर्वसाधारण घरभित्रै बस्न बाध्य भएका छन्। स्वास्थ्यकर्मीहरूले पनि अत्यधिक गर्मीले बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूमा बढी असर पार्ने भएकाले विशेष सावधानी अपनाउन सुझाव दिएका छन्।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २४ गते आइतबार