‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य



सुनसरी ।

धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा निर्माणाधीन ज्येष्ठ नागरिक उद्यान नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, ग्रामीण परिवेश झल्काउने संरचना, सांस्कृतिक सामग्री तथा प्राकृतिक सौन्दर्यका कारण उद्यानले दैनिक आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न थालेको छ ।

ज्येष्ठ नागरिकलाई लक्षित गरी निर्माण भइरहेको यस उद्यानमा अपाङ्गतामैत्री संरचनासहित आरामदायी, सुरक्षित र सहज वातावरणको व्यवस्था गरिएको छ । उद्यान आसपासमा श्रम संस्कृति उद्यानसहित दर्जनौँ उद्यान निर्माण भइसकेका छन्, जहाँ दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने गरेको छ । यसले धरानको पर्यटन प्रवर्द्धनमा थप योगदान पुर्‍याएको छ ।

धनकुटाको छथर जोरपाटीबाट परिवारसहित धरान घुम्न आएकी रमिला राई ज्येष्ठ नागरिक उद्यान पुगिन् । अवलोकनपछि उनले ज्येष्ठ नागरिकका लागि यस्तो सुविधा सम्पन्न उद्यान निर्माण हुनु खुसीको विषय भएको बताइन् । “हामीजस्ता बूढाबूढीका लागि यस्तो उद्यान बनेकामा धेरै खुसी लागेको छ ।

हिँड्न सजिलो, बस्न मिल्ने र शान्त वातावरण भएकाले यहाँ समय बिताउन निकै रमाइलो लाग्यो”, उनले भनिन्, “पहिले झाडीले ढाकिएको घना जङ्गल रहेको स्थानमा अहिले सुन्दर उद्यान निर्माण भएको देख्दा निकै खुसी लागेको छ ।”उद्यानभित्र खरले छाइएका र कमेरो माटोले लिपिएका आकर्षक साना घर निर्माण गरिएका छन् । ग्रामीण परिवेश झल्काउने यी संरचनाले उद्यानको सौन्दर्यलाई थप मनमोहक बनाएको छ । साथै उद्यानभित्र आकर्षक पोखरीसमेत निर्माण गरिएको छ । पोखरीले उद्यानको प्राकृतिक आकर्षणलाई अझ बढाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २२ गते शुक्रबार