चन्द्रगिरि स्थित मत्स्यनारायण मेलामा घुइँचो



काठमाडौँ ।

यही जेठ ३ गतेदेखि चन्द्रगिरि नगरपालिका-९ मत्स्यनारायण मन्दिरमा मेला लागेको छ। यो वर्ष अधिकमास (पुरुषोत्तम महिना) परेकाले मन्दिर परिसरमा लाग्ने मेलामा घुइँचो बढेको हो । मन्दिरमा नारायणको दर्शन २० मिनेटभित्र गर्न सकिने व्यवस्था गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ।

समितिद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा चन्द्रगिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले उपत्यकाका विभिन्न स्थानबाट मन्दिर पुग्ने पहुँच मार्गको स्तरोन्नति, दर्शनार्थीको लाइन व्यवस्थापन र सुरक्षा प्रबन्ध व्यवस्थित र प्रभावकारी बनाइएको बताए। “साथमा मन्दिर परिसरको भौतिक सुधार, मेला र मन्दिरका थप पक्ष उजागर गर्न अध्ययन अनुसन्धान र राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसारका लागि गुरुयोजना अघि बढाएका छौँ”, उनले भने।

चन्द्रगिरि-९ का वडाध्यक्ष अच्युत अधिकारीले मन्दिर परिसर र वरपरका पुरातात्विक संरचनामा रहेका कङ्क्रिट संरचना क्रमशः हटाउँदै मौलिकपन कायम गरिने जानकारी दिए। उनका अनुसार मेला अविधभर दर्शनार्थी व्यवस्थापन, खानेपानी, सरसफाइ र स्वास्थ्य व्यवस्थापनका लागि एक दर्जन सामाजिक संस्था क्रियाशील छन् ।“मन्दिरमा पुरुषोत्तम मेला लागिरहेको छ ।

पुरुषोत्तम मास माहात्म्यका अनुसार सृष्टिको सुरुमा अपहेलित यो मासले भगवान् पुरुषोत्तम (नारायण) को तपस्या गर्‍यो । त्यसपछि नारायणले उक्त मासको स्वामित्व लिनुभएको भन्ने जनविश्वाससहित यस मासलाई पुरुषोत्तम महिना भनिएको हो”, मन्दिरका पुजारी सुदामाप्रसाद आचार्यले भने।उनका अनुसार अन्य कुनै पनि तिथि अनुसारका श्राद्ध, यज्ञ तथा पूजा आदि नैमित्तिक एवं काम्य कर्म नहुने यो महिनामा मत्स्य तीर्थ मानिने मत्स्यनारायणको मन्दिरमा पुगी स्नानसहित दर्शन र पूजाअर्चना गरेमा सयौँ अश्वमेघ यज्ञ गरे बराबरको फल प्राप्त हुन्छ।

लिच्छविकालीन वास्तुकला र शिल्पमा आधारित मत्स्यनारायण मन्दिर र त्यहाँका देवालयहरु उपत्यकाका प्राचीन सम्पदामध्यको एक मानिन्छ। परिसरलाई अतिक्रमणबाट जोगाउन नगरपालिकाले पहल गरिरहेको नगरप्रमुख गिरीले जानकारी दिए।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ १४ गते बिहीबार