विद्युत् विस्तार बढ्दा पनि ऊर्जाको मुख्य आधार अझै दाउरा



काठमाडौँ ।

पछिल्ला वर्षहरूमा विद्युत् विस्तार उल्लेख्य रूपमा वृद्धि भए पनि ऊर्जाको स्रोतमा अझै पनि दाउराको प्रयोग अत्यधिक भइरहेको पाइएको छ ।अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार, गत वर्षको तुलनामा चालु आवको आठ महिनाको अवधिमा झिनो मात्रामा मात्रै दाउराको प्रयोग घटेको छ ।

आव २०८१/८२ को फागुन मसान्तसम्ममा ऊर्जाको स्रोतका रूपमा ५१ दशमलव नौ प्रतिशत दाउरा प्रयोग भएको थियो । चालु आवको सोही अवधिसम्म ४८ दशमलव नौ प्रतिशत प्रयोग भएको छ । यस्तै, कृषि अवशेष चार दशमलव सात प्रतिशत, गुइँठा एक दशमलव तीन प्रतिशत, पेट्रोलियम पदार्थ २१ दशमलव आठ प्रतिशत, विद्युत् १२ दशमलव एक प्रतिशत र नवीकरणीय ऊर्जा दुई दशमलव एक प्रतिशत बराबर रहेको छ ।

गत फागुन मसान्तसम्म परम्परागत, व्यापारिक र नवीकरणीय स्रोतबाट गरी आठ हजार २४ टन बराबरको (टन अफ आयल इक्भ्यिालेन्ट) ऊर्जा खपत भएको छ । यस्तै, नवीकरणीय ऊर्जा स्रोतबाट विद्युत्को पहुँच पुगेको जनसंख्या आठ दशमलव छ प्रतिशत बराबर पुगेको छ । गत आवको फागुन मसान्तसम्म त्यस्तो ऊर्जाको पहुँच पुगेका जनसंख्या मात्रै आठ दशमलव पाँच प्रतिशत बराबर थियो ।

आव २०८१/८२ मा घरायसी बायोग्यासतर्फ चार हजार ३८६ प्लान्ट जडान भएकामा चालु आवको फागुन मसान्तसम्म चार हजार ६२७ प्लान्ट जडान भएको छ । आव २०८१/८२ मा सौर्य ऊर्जा प्रविधिभित्र ६२ दशमलव सात मेगावाट विद्युत् उत्पादन भई विद्युतीकरण भएकामा चालु आवको फागुन मसान्तसम्म ११८ किलोवाट बराबर विद्युत् उत्पादन भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ १३ गते बुधबार