नारायणगढ (चितवन) ।
भरतपुर महानगरपालिका–११ बसेनीस्थित जेनजी आन्दोलनका सहिद सारकुमार राईको घर ९डेरा० मा आज केही समयका लागि पीडा भुलाउने वातावरण बन्यो । लामो समयदेखि शोक र पीडामा रहेको परिवारमा सहिद राईकी छोरी आकृति राईले माध्यामिक शिक्षा परीक्षा एसइईमा राम्रो अङ्कसहित उत्तीर्ण भएपछि खुसी छाएको हो ।
आकृतिको पढाइको जिम्मेवारी लिएका गोल्याण ग्रुपका अध्यक्ष तथा पदाधिकारीको टोली उहाँलाई बधाई दिन घरमै पुगेको थियो । आकृतिकी आमा सुनिता राईले छोरीको सफलताले परिवारमा आशा र आत्मविश्वास बढाएको बताए । उनले भने, “अब आँट आउन थालेको छ । मेरो नानीले केही गर्छे जस्तो लागेको छ ।”
उनले छोरीको शिक्षामा सहयोग गर्ने गोल्याण ग्रुपप्रति आभार व्यक्त गर्दै दुःख र अन्योलबीच आएको सहयोग परिवारका लागि मलमसरह बनेको बताउनुभयो । परिवारमा परेको पीडाले छोरी पहिलेभन्दा अझ आत्मविश्वासी र समाजमा केही गर्न सक्ने खालकी बनेको उनको भनाइ थियो ।
उनले भने, “पहिले धेरै नबोल्ने छोरी अहिले तीन–चार जना मानिस भएको ठाउँमा बोल्न सक्ने भएकी छ । उसले मलाई सम्झाउने गर्छे ।” गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणले आकृतिले पीडालाई पन्छाएर पढाइमा उत्कृष्ट नतिजा ल्याएको बताए । उनले आफूहरूसँगै शिक्षक र परिवारको सहयोगले आकृतिलाई विज्ञान विषय अध्ययनतर्फ अघि बढ्न थप प्रेरणा मिलेको उल्लेख गरे ।
उनले भने, “पीडाबाट कसरी अगाडि बढ्ने भन्ने कुरा आकृतिको पढाइले सिकाउँछ । राम्रो अभिभावक र शिक्षक पाए विद्यार्थी अझ राम्रो गर्न सक्छन् । आकृतिकी आमाले पीडाका बाबजुद ठूलो साथ दिनुभएको छ ।” उाले विद्यार्थी पास मात्रै नभई आत्मनिर्भर बन्न सक्ने खालको हुनुपर्ने बताउँदै विद्यार्थीको चाहना र क्षमताअनुसार शिक्षा प्राप्त गर्न सहयोग गर्दै आएको जानकारी दिए।
उदयपुरको चौदण्डीगढी नगरपालिका स्थायी घर भएकी आकृतिले कक्षा ८ देखि भरतपुरस्थित मनशिक्षा मन्दिर माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएकी छन् । उनले विद्यालय परिवार र सहयोगी संस्थाको साथले पढाइ सहज भएको बताइन् । उनले भनिन्, “गोल्याण के हो भन्ने पहिले थाहा थिएन । भेट भएपछि आफ्नै परिवार जस्तो लागेको छ ।” आकृतिले अब भरतपुरस्थित आरोमा कलेजमा प्लस टु अध्ययन गर्ने बताउँदै भविष्यप्रति आशावादी रहेको धारणा राखिन्। प्लस टु अध्ययनपछि बिएससी नर्सिङ अध्ययन गरी देशमै सेवा गर्ने इच्छा रहेको उनले बताइन् ।
मनशिक्षा मन्दिर माध्यमिक विद्यालय का प्रधानाध्यापक इन्द्रेश शाहले आकृति मेहिनती र जिम्मेवार विद्यार्थी रहेको बताए । उनले पारिवारिक पीडाका बाबजुद विद्यालय र पछि गोल्याण ग्रुपबाट प्राप्त सहयोगले आकृतिमा थप उत्साह आएको उल्लेख गर्नुभयो । उनले भने, “परिवारमा पीडा नभई अनुकूल वातावरण भएको भए आकृतिको बढी अङ्क ल्याउने सम्भावना थियो ।” अब आृकतिले अध्ययन गर्ने कलेज आरोमा कलेज भरतपुरका प्रिन्सिपल शेरबहादुर क्षेत्रीले आकृतिको अध्ययनका लागि कलेज पूर्णरूपमा सहयोग गर्न तयार रहेको बताए । गोल्याण ग्रुपसँग समन्वय गरेर आवश्यक जिम्मेवारी लिने प्रतिबद्धता उनले व्यक्त गरे ।
गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स, कम्युनिकेशन्स एण्ड पीआर प्रमुख ज्योति गैरेले आकृतिको सफलताको सम्मान स्वरूप घरमा नै आएर भेटेर बधाई कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनका अनुसार आकृति जेनजी आन्दोलनका सहिद परिवारबाट एसइई उत्तीर्ण गर्ने पहिलो सन्तान हुन् । जेनजी आन्दोलनका सहिदका ३२ जना बालबालिकालाई गोल्याण ग्रुपले कक्षा १२ सम्म शैक्षिक वृत्ति प्रदान गरिरहेको छ । प्रत्येक विद्यार्थीलाई मासिक रु ४० हजारका दरले वार्षिक रु चार लाख ८० हजार उपलब्ध गराइँदै आएको छ ।
उनले चितवनमा आकृतिसहित कक्षा ४ मा अध्ययनरत अर्का एक सहिद परिवारका बालबालिकालाई सहयोग गरिरहेको बताए । देशभरका विद्यालय जाने तयारीमा रहेका तथा विभिन्न कक्षामा अध्ययनरत सहिद परिवारका बालबालिकालाई गोल्याण ग्रुपले सहयोग गर्दै आएको उनले जानकारी दिए । आकृति राई ३।४० जीपीएसहित एसइई उत्तीर्ण भएकी हुनुभएको हो । उहाँ पहिलो एसइई उत्तीर्ण हुने जेनजी आन्दोलनका सहिद परिवारको सन्तान हुन्। रासस









प्रतिक्रिया दिनुहोस्