नेपालगन्ज (बाँके) ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्र, सानोठिमी भक्तपुरको आयोजनामा बिहीबार नेपालगन्जमा बाँकेका सञ्चार संस्था तथा सञ्चारकर्मीसँग सहकार्य तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिक्षा क्षेत्रमा गुणस्तर अभिवृद्धि, परीक्षण प्रणाली तथा सञ्चारमाध्यमको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको केन्द्रले जनाएको छ ।
कार्यक्रममा शैक्षिक गुणस्तर परीक्षण केन्द्रका निर्देशक प्रमिला बखती र महानिर्देशक जयराम अधिकारीले केन्द्रका काम, जिम्मेवारी, उद्देश्य तथा हालसम्म भएका गतिविधिका विषयमा सहजीकरण गरेका थिए । उनीहरूले विद्यालय शिक्षा प्रणालीमा गुणस्तर सुनिश्चित गर्न केन्द्रले विभिन्न अध्ययन, परीक्षण तथा मूल्याङ्कनसम्बन्धी कार्यहरू गर्दै आएको जानकारी दिए ।
महानिर्देशक अधिकारीले शिक्षाको गुणस्तर सुधारका लागि केवल नीति निर्माण मात्र पर्याप्त नहुने भन्दै त्यसको प्रभावकारी कार्यान्वयन, निरन्तर परीक्षण र तथ्यमा आधारित मूल्याङ्कन प्रणाली आवश्यक रहेको बताए । उनले शिक्षा क्षेत्रमा भएका सुधार तथा कमजोरीबारे जनस्तरसम्म सही सूचना पु¥याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे ।
त्यस्तै निर्देशक बखतीले केन्द्रले विद्यार्थी सिकाइ उपलब्धिको परीक्षण, शैक्षिक अवस्थाको विश्लेषण तथा शैक्षिक नीतिनिर्माणका लागि आवश्यक तथ्याङ्क उपलब्ध गराउने कार्य गरिरहेको जानकारी दिइन् । उनले शिक्षा क्षेत्रसँग सम्बन्धित विषयमा तथ्यमा आधारित समाचार र सामग्री उत्पादन गर्न सञ्चारकर्मीको सहयोग आवश्यक रहेको धारणा राखिन् ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले पनि शैक्षिक क्षेत्रका विषयमा समाचार सम्प्रेषण गर्दा प्राप्त हुने सूचना, तथ्याङ्कको उपलब्धता तथा सहकार्यका सम्भावनाबारे जिज्ञासा राखेका थिए । सहभागीहरूले शिक्षा क्षेत्रका विषयलाई अझ प्रभावकारी रूपमा जनस्तरसम्म पु¥याउन सम्बन्धित निकाय र सञ्चार क्षेत्रबीच नियमित समन्वय तथा सहकार्य आवश्यक रहेको बताएका थिए ।
अन्तरक्रियामा सञ्चार संस्था प्रतिनिधि, पत्रकार तथा सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा शिक्षा क्षेत्रका नीति, कार्यान्वयन प्रक्रिया र गुणस्तर परीक्षणसँग सम्बन्धित विभिन्न पक्षमा छलफलसमेत भएको थियो । आयोजकका अनुसार शिक्षा क्षेत्रका विषयमा आमसञ्चार माध्यमसँग समन्वय बढाइ गुणस्तरीय शिक्षासम्बन्धी जानकारी आम नागरिकसम्म पु¥याउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
शिक्षा विकास तथा समन्वय इकाई बाँकेको सभाहलमा सम्पन्न भएको कार्यक्रममा इकाई प्रमुख धनसुदन चौलागाईँ तथा नेपाल पत्रकार महासङ्घ बाँके शाखाका अध्यक्ष नवीन गिरीले पनि आआफ्ना धारणा राखेका थिए । कार्यक्रममा शैक्षिक गुणस्तर परीक्षण केन्द्रका महानिर्देशक अधिकारी, निर्देशक बखतीका साथै शाखा अधिकृत मुक्तादेवी पोख्रेल र प्राविधिक सहायक शोभा गाहा मगर पनि सहभागी थिए ।









प्रतिक्रिया दिनुहोस्