म्याग्दी ।
म्याग्दीको धौलागिरि गाउँपालिका र बागलुङको ढोरपाटन नगरपालिका क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सर्वेक्षण गरिएको छ। नेपाल पन्छीविद् सङ्घको प्राविधिक टोलीले धौलागिरि गाउँपालिका–१ गुर्जा, ४ बगर र ढोरपाटन नगरपालिकाको बुर्तीवाङ घुसाखानीमा चिरकालिजको स्थलगत सर्वेक्षणका साथै समुदायस्तरमा संरक्षणसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको थियो।
सङ्घका अध्यक्ष हथन चौधरी, उपाध्यक्ष मनशान्ता घिमिरे, कार्यकारी निर्देशक लक्ष्मणप्रसाद पौडेल, अनुसन्धान अधिकृत विराटराज रजक र सदस्य केशव चोखालको टोलीले स्थानीय समुदायको सहयोगमा बगरदेखि घुसाखानीसम्म सर्वेक्षणको काम गरेको थियो।दातृ निकाय टोलेडोजुको सहयोगमा डिभिजन वन कार्यालय म्याग्दी, बागलुङ र ढोरपाटन शिकार आरक्षसँगको समन्वयमा चिरकालिजको सर्वेक्षण गरिएको कार्यकारी निर्देशक पौडेलले बताए ।
चिरकालिजको प्रजनन हुने याम पारेर वासस्थान नजिकैको बगर, गुर्जा र घुसाखानीमा चिरकालिजको सर्वेक्षण गरिएको थियो। चिरकालिजको अनुमानित सङ्ख्यासहितको प्रतिवेदन चाँडै सार्वजनिक गरिने कार्यकारी निर्देशक पौडेलले बताए।सर्वेक्षकले चिरकालिजको आवाज सुनेर बसोबास रहेको पुष्टि र अनुमानित सङ्ख्या पहिचान गर्ने गर्छन् । यसअघि धौलागिरि गाउँपालिका–३ दर र वडा नं ४ मुदीमा चिरकालिजको वासस्थान रहेको भेटिएको थियो ।
अध्ययनमा सहभागी विराट रजकका अनुसार मुदीमा तीन र दरमा सात जोडी चिरकालिज भेटिएका थिए।चोरीशिकारी, अनियन्त्रित डढेलो र जलवायु परिवर्तन चिरकालिज संरक्षणका लागि चुनौतीपूर्ण मानिएको छ । चोरीशिकारी बाहेक गुडबाट अण्डा टिप्ने, पासो थाप्ने, चल्ला छोपेर घरमा ल्याएर पाल्न खोज्ने, अण्डा पार्ने, कोरल्ने र चल्ला निकाल्ने समयमा हुने डढेलोका कारण चिरकालिज लोप हुने अवस्थामा छ।
सङ्घले पछिल्लो ६ वर्षयता दातृ निकाय ‘टुलेडोज’को सहयोगमा म्याग्दीको धौलागिरि गाउँपालिकाको साथै मुस्ताङको घाँसा क्षेत्रको कालीगण्डकी बेसिनमा चिरकालिजको सङ्ख्या पहिचानका लागि अध्ययन र संरक्षणको कार्य गर्दै आएको छ।कालीगण्डकी बेसिनमा हालै भएको अध्ययनका क्रममा १८ जोडी चिरकालिज भेटिएका थिए । धौलागिरि ढोरपाटनपछि सर्वेक्षण टोली मुस्ताङ पुगेको छ । समुद्री सतहदेखि एक हजार ४०० मिटरदेखि तीन हजार ६०० मिटरसम्मको उचाइमा चिरकालिज पाइने गर्छ।
सामान्य कालिजजस्तै यो तल्लो तटीय क्षेत्रमा पाइँदैन । यो चरा झट्ट हेर्दा कालिजको पोथीजस्तै देखिए पनि धेरै भिन्नता हुन्छ । वैशाख, जेठ र असार चिरकालिजले अण्डा पार्ने, कोरल्ने र चल्ला निकाल्ने समय हो । चिरकालिजको भालेको पुच्छर लामो, आँखाको रङ पनि रातो हुने, शरीरमा सेतो थोप्लामा कालो बुट्टा हुन्छ भने आकारमा पोथी भालेभन्दा सानो र पुच्छर पनि छोटो हुन्छ।
भिरमा नै वासस्थान बनाउने यो पन्छीले एकपटकमा सातदेखि १५ वटासम्म फुल पार्छ। अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन सिकार आरक्ष र रारा राष्ट्रिय निकुञ्जका साथै संरक्षित क्षेत्रभन्दा बाहिर पर्वतसँगै म्याग्दी र बागलुङ तथा कर्णाली तथा सुदूरपश्चिम चिरकालिजको वासस्थान हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा यसलाई लोपोन्मुख पन्छीको रूपमा सूचीकृत गरेको छ। रासस









प्रतिक्रिया दिनुहोस्