नेपालगन्जमा भुसुनाको बिगबिगी



पछिल्ला केही दिनयता नेपालगन्जमा दिउँसोको समयमै टोक्ने भुसुनाहरूको बिगबिगी बढेको धेरैले अनुभव गरेका छन् । प्रायः घरबाहिर बस्दा वरिपरि झुम्मिएर टोक्न थाल्ने समस्याबाट पीडित भएको धेरैले बताउन थालेका छन् ।

नेपालगन्ज ।

बाँके नेपालगन्ज निवासी मधुसुदन शर्माले पछिल्ला केही दिनमा घर आसपासमा भुसुना (साना उड्ने किरा)को सङ्ख्या बढेको महसुस गरे । प्रायः आँखामा झुम्मिने र छालामा टोक्ने ती किराहरूले सताएको भनेर परिवारका अरु सदस्यले पनि गुनासा गरेको उनले बताए ।

‘आमाले पनि किराहरू बढेको भनेपछि मैले के कारणले यस्तो भएको होला भनेर खोजीनीति गरेँ । केही दिनअघि बारीमा हाल्नका लागि मल ल्याएको थिएँ त्यसैबाट पो आए कि भन्ने ठानेको त अरुले पनि त्यस्तै अनुभव फेसबुकमा लेख्न थाले,’ शर्माले भने । पछिल्ला केही दिनयता नेपालगन्जमा दिउँसोको समयमै टोक्ने भुसुनाहरूको बिगबिगी बढेको धेरैले अनुभव गरेका छन् ।

प्रायः घरबाहिर बस्दा वरिपरि झुम्मिएर टोक्न थाल्ने समस्याबाट पीडित भएको धेरैले बताउन थालेका छन् । नेपालगन्ज निवासी एक विद्यालयका प्रधानाध्यापक समेत रहेका हरित अभियानी हेमन्तराज काफ्लेले पनि विद्यालयमा बालबालिकाहरू भुसुनाबाट धेरै प्रताडित भएको बताए । उनले केही विद्यार्थीको आँखा पनि पाकेको जस्तो देखिएपछि घरमै बस्न सल्लाह दिएको उनले बताए ।

‘यसलाई अहिले धेरैले अनुभव गरे पनि यसको परिणामबारे धेरै सचेत भएको देखिएन । यसले कालाजारदेखि अरु समस्याहरू पनि निम्त्याउन सक्ने भएकोले सचेत हुन जरुरी ठानेको छु,’ काफ्लेले भने । उनले पछिल्लो एक दशकयताकै सबैभन्दा बढी भुसुनाको प्रभाव महसुस गरेको पनि दाबी गरे । नेपालगन्जमा फोहोर व्यवस्थापन सही तरिकाले हुन नसकेकोले पनि भुसुनाको समस्या बढेको हुनसक्ने स्थानीयहरू बताउँछन्।

‘सरसफाइ भएन । नालाहरू ढक्कनविहीन छन् । त्यसैबाट पो भुसुनाको सङ्ख्या बढेको हो कि,’ शर्माले आशंका व्यक्त गरे । काफ्लेले पनि सरसफाइको कमी तथा न्युरोड, बागेश्वरी मन्दिर हुँदै बग्ने नाला र गणेशपुर हुँदै बग्ने नालामा ढक्कन नहुँदा पनि भुसुनाको बिगबिगी बढेको हुनसक्ने बताए । नेपालगन्ज उपमहनगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले भने हालसम्म भुसुनाको प्रभावबारे जानकारी आफूले नपाएको बताए ।

उनले यस विषयमा चासो दिएर बुझ्ने प्रयास गर्ने पनि उनले बताए । फत्तेबाल आँखा अस्पताल नेपालगन्जका प्रमुख मेडिकल निर्देशक डा. देवराज भारतीले अहिलेसम्म भुसुनाकै कारण आँखामा समस्या भएको भन्ने समस्या लिएर मानिसहरू आएको आफूलाई जानकारी नभएको बताए । यद्यपि कसैकसैलाई भुसुनाले आँखामा पनि समस्या ल्याउन भने सक्ने उनले बताए ।

गर्मीयाममा आँखा पाक्ने समस्या बढ्ने जोखिम भने हुने उनले बताए । भेरी अस्पतालमा छालारोग विशेषज्ञ डा. बद्री चापागाईंले पनि अहिलेसम्म भुसुनाकै कारण छालामा समस्या लिएर बिरामीहरू नआएको बताए । उनले पनि भुसुनाले टोकेमा छालामा एलर्जी हुने समस्या देखिन सक्ने बताए । नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाका निरीक्षक सरोज रिमालले भुसुनाको टोकाइबाट कालाजारजस्तो रोग पनि सर्ने भएकोले त्यसबाट जोगिने उपायहरू गर्नुपर्ने बताए ।

भुसुनाको टोकाइले काराजार सर्ने जोखिम हुनुका साथै टोकेको ठाउँमा अत्यधिक चिलाउने, छालामा एलर्जी हुने, भुसुनाहरू धेरै सङ्ख्यामा झुण्डिएर बस्ने र मानिसको अनुहार, आँखा र कान वरिपरि आउने हुनाले काममा बाधा उत्पन्न हुने गर्दछ । भुसुनाको असरबाट बच्न घर वरिपरि सरसफाइ राख्ने, खाल्डाखुल्डी र ओसिलो ठाउँमा फोहोर जम्न नदिने, झुल टाँगेर सुत्ने र बेलुकाको समयमा शरीर पूरै छोपिने कपडा लगाउने गर्नुपर्छ ।

भुसुनाको टोकाइपछि लगातार ज्वरो आएमा वा छालामा असर देखिएमा स्वास्थ्यकर्मीकहाँ पुग्नुपर्छ । अभियानी काफ्लेले अहिले नै ठूलो प्रभाव नदेखिए पनि लामो समय भुसुनाको बिगबिगी रहेमा महामारी पनि फैलन सक्ने भएकोले स्थानीय सरकारले समयमै नियन्त्रणका उपायहरू अवलम्बन गर्नु जरुरी रहेको बताए ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ ६ गते बुधबार