सुर्खेत ।
कर्णाली प्रदेशका ७९ स्थानीय तहमा स्वीकृत दरबन्दीअनुसार ठूलो सङ्ख्यामा कर्मचारी अभाव रहेको पाइएको छ । भौगोलिक रूपमा विकट तथा दुर्गम मानिने कर्णाली प्रदेशका स्थानीय तहमा आवश्यक जनशक्ति नहुँदा सेवा प्रवाह पनि प्रभावित हुन सकेको छैन । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका अनुसार कूल पाँच हजार ६६० स्वीकृत दरबन्दीमध्ये एक हजार ३६३ पद अझै रिक्त रहेका छन् ।
यो सङ्ख्या कूल दरबन्दीको करिब एक चौथाइ हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव लक्ष्मीकुमार विकले प्रदेशका अधिकांश स्थानीय तहमा प्राविधिक तथा प्रशासनिक कर्मचारी अभाव देखिएको जानकारी दिए । उनका अनुसार दुर्गम भूगोल, यातायात तथा आधारभूत सुविधाको कमी, कर्मचारीको सरुवा र टिकाउ व्यवस्थापनमा समस्या हुँदा दरबन्दी पूर्ति गर्न कठिनाइ भइरहेको छ ।
विशेषगरी स्वास्थ्य, शिक्षा, इन्जिनियरिङ तथा प्रशासनतर्फका कर्मचारीको अभाव बढी रहेको छ । कर्मचारी अभावका कारण नागरिकलाई स्थानीय तहबाट प्रदान गरिने दैनिक सेवा, योजना कार्यान्वयन तथा विकास निर्माणका काम प्रभावित हुने गरेका छन् । प्रदेश सरकारले रिक्त दरबन्दी पूर्तिका लागि संघीय सरकारसँग समन्वय गरिरहेको जनाएको छ ।
साथै स्थानीय तहमा कर्मचारी टिकाइराख्न प्रोत्साहनका कार्यक्रम आवश्यक रहेको सरोकारवालाले बताएका छन् । रिक्त दरबन्दीअनुसार इञ्जिनियरिङ सेवातर्फ एक हजार ५५ स्वीकृत दरबन्दी रहेकोमा ६३४ पदपूर्ति छ भने ४२१ रिक्त रहेका छन् । यो सेवामा नवौँ–दशौँ तहमा शून्य पदपूर्ति रहेका सचिव विकले बताए । उनका अनुसार प्रशासन सेवातर्फ एक हजार ५४१ स्वीकृत दरबन्दीमा एक हजार ६४ पदपूर्ति हुँदा ४७७ रिक्त छ ।
स्वास्थ्य सेवातर्फ एक हजार ८८४ स्वीकृत दरबन्दीमा एक हजार ७३२ पदपूर्ति र १५२ दरबन्दी रिक्त रहेका जनाइएको छ । कृषि सेवातर्फ ८१४ स्वीकृत दरबन्दीमा ५७७ पदपूर्ति र २३७ रिक्त छन् । विविध सेवातर्फ १८३ स्वीकृत दरबन्दीमा १५८ पदपूर्ति र २५ रिक्त रहेका कार्यालयका सचिव विकले जानकारी दिए । प्रदेशका ७९ स्थानीय तहमध्ये डोल्पाको डोल्पो बुद्ध गाउँपालिकामा ५३ दरबन्दीमाध्ये १५ जना मात्र कार्यरत छन्।
वीरेन्द्रनगर नगरपालिका सुर्खेतको १०५ स्वीकृत दरबन्दीमा ११६ जना कार्यरत छन् । यो पालिकामा ११ जना कर्मचारी बढी रहेका कार्यालयका सचिव विकले बताए । डोल्पो बुद्धमा दरबन्दीअनुसार कर्मचारी नदेखिनुमा करारबाट काम चलेको हुनसक्ने भन्दै मुख्यमन्त्री कार्यालयले अब सबै स्थानीय तहको रिक्त दरबन्दीको विवरण मागेर प्रदेश लोकसेवा आयोगमा पठाउने र रिक्त पद पूर्ति गर्ने जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्