बिकेको पत्रकारिताविरुद्ध जिम्मेवार पत्रकारिता



सही अर्थमा पत्रकारिता एउटा सार्वजनिक सेवा हो । शिक्षकले ज्ञान दिन्छ, डाक्टरले स्वास्थ्य दिन्छ, न्यायाधीशले न्याय दिन्छ । पत्रकारले समाजलाई सत्य दिन्छ । सत्यबिना कुनै पनि लोकतन्त्र बलियो हुन सक्दैन । किनभने लोकतन्त्र जनताको सूचित निर्णयमा आधारित हुन्छ । यदि जनतालाई गलत सूचना दिइयो भने लोकतन्त्रको आधार नै कमजोर हुन्छ ।

डा.डक्टप्रसाद धिताल

‘इमानदारीका साथ भन्नुपर्दा एउटा बिकेको पत्रकार हजार जना आतंकवादीभन्दा खतरनाक हुन्छ ।’ यो वाक्य केवल भावनात्मक आक्रोश होइन, यो समाजले भोगिरहेको कटु यथार्थको एउटा तिखो अभिव्यक्ति हो । आतंकवादीले एकपटक गोली चलाउँछ, एउटा ठाउँ ध्वस्त पार्छ, केही जीवन समाप्त गर्छ । तर, बिकेको पत्रकारले समाजको चेतना मार्छ, सत्यलाई विकृत बनाउँछ, जनमतलाई भ्रमित पार्छ, निर्दोषलाई अपराधी र अपराधीलाई महान देखाउँछ । एउटा गलत समाचारले हजारौँ मानिसको सोच बिगार्न सक्छ, समुदायलाई विभाजित गर्न सक्छ, राष्ट्रलाई अस्थिर बनाउन सक्छ र भविष्यलाई नै अन्धकारतर्फ धकेल्न सक्छ । पत्रकारिता केवल पेशा होइन, यो जिम्मेवारी हो । यो समाजको आँखा समेत हो, कान समेत हो, चेतना समेत हो । पत्रकारिता लोकतन्त्रको चौथो अंग हो भन्ने कुरा केवल किताबमा सीमित वाक्य होइन । न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाभन्दा बाहिर उभिएर समाजमा सत्यको निगरानी गर्ने शक्ति नै पत्रकारिता हो । जब यो शक्ति इमानदार हुन्छ, राष्ट्र सुरक्षित हुन्छ । जब यो शक्ति बिक्छ, राष्ट्रको आत्मा नै घाइते हुन्छ । आजको समयमा पत्रकारिताको स्वरूप बदलिएको छ । सूचना प्रविधिको तीव्र विकाससँगै समाचार उत्पादन र वितरणको गति अविश्वसनीय बनेको छ । सामाजिक सञ्जाल, युट्युब, टिकटक, फेसबुक, अनलाइन पोर्टल, डिजिटल टेलिभिजन र व्यक्तिगत प्लेटफर्महरूले सूचना संसारलाई खुला बनाएका छन् । तर यही खुलापनले जिम्मेवारीहीनता पनि बढाएको छ । अहिले पत्रकारिता र प्रचारबीचको सीमा धमिलो हुँदै गएको छ । सत्य र अफवाह एउटै गतिमा दौडिरहेका छन् । पत्रकारिता गर्ने नाममा कसैले कसैलाई ब्ल्याकमेल गरिरहेको छ, कसैले झुट बेचिरहेको छ, कसैले पहुँच र पैसाको भरमा चरित्र हत्या गरिरहेको छ । यही परिस्थितिमा ‘पीत पत्रकारिता’, ‘झोले पत्रकारिता’, ‘खौवा पत्रकारिता’ र ‘हावामा गरिने पत्रकारिता’जस्ता शब्दहरू जनमानसमा प्रचलित भएका छन् । यी शब्दहरू केवल गाली होइनन्् । यी समाजको पीडा हुन् । जनता पत्रकारिताप्रति किन निराश हुँदैछन् ? किन पत्रकारितामाथि प्रश्न उठिरहेका छन् ? किन कतिपय पत्रकारमाथि विश्वास घट्दै गएको छ ? र किन अझै पनि केही पत्रकारहरू समाजका लागि आशाको किरण बनेका छन् ? यही प्रश्नहरूको उत्तर खोज्ने प्रयास यो आलेख हो ।

पत्रकारिताको वास्तविक अर्थ

पत्रकारिता भन्नाले केवल समाचार लेख्नु वा क्यामेरा बोकेर घटनास्थल पुग्नु मात्र होइन । पत्रकारिता भनेको समाजको नबोलेको सत्य बोल्नु हो । जहाँ अन्याय हुन्छ, त्यहाँ प्रश्न उठाउनु हो । जहाँ पीडा हुन्छ, त्यहाँ आवाज बन्नु हो । जहाँ भ्रष्टाचार हुन्छ, त्यहाँ पर्दाफास गर्नु हो । जहाँ राज्य मौन हुन्छ, त्यहाँ नागरिकको प्रतिनिधि बन्नु हो । सही अर्थमा पत्रकारिता एउटा सार्वजनिक सेवा हो । शिक्षकले ज्ञान दिन्छ, डाक्टरले स्वास्थ्य दिन्छ, न्यायाधीशले न्याय दिन्छ । पत्रकारले समाजलाई सत्य दिन्छ । सत्यबिना कुनै पनि लोकतन्त्र बलियो हुन सक्दैन । किनभने लोकतन्त्र जनताको सूचित निर्णयमा आधारित हुन्छ । यदि जनतालाई गलत सूचना दिइयो भने लोकतन्त्रको आधार नै कमजोर हुन्छ । पत्रकारिता केवल समाचार होइन, जिम्मेवार सूचना हो । सत्य, निष्पक्षता, सन्तुलन, प्रमाण, संवेदनशीलता र जनउत्तरदायित्व पत्रकारिताका आधारभूत मूल्य हुन् । तर जब यी मूल्य हराउँछन्, पत्रकारिता व्यवसाय मात्र बन्छ । अझ खराब अवस्थामा यो दलाली र प्रोपोगाण्डाको औजार बन्छ । आज समाजमा धेरै प्रकारका पत्रकारिता देखिन्छन् । कोही सत्यका लागि लडिरहेका छन् भने कोही पैसाका लागि झुकेका छन् । कोही जनताको आवाज बनेका छन् भने कोही शक्तिशालीको मुखपत्र बनेका छन् । यही भिन्नताले पत्रकारिताको वास्तविक चरित्र देखाउँछ ।

पीत पत्रकारिताः जब समाचार व्यापार बन्छ

‘पीत पत्रकारिता’ भन्ने शब्द आज नेपाली समाजमा निकै चर्चित छ । यसको अर्थ हो—सत्यभन्दा सनसनी बेच्ने पत्रकारिता । यस्तो पत्रकारितामा तथ्यभन्दा शीर्षक ठूलो हुन्छ । प्रमाणभन्दा आरोप ठूलो हुन्छ । उद्देश्य जनतालाई सुसूचित गर्नु होइन, दर्शक र भ्युज बढाउनु हुन्छ ।
आज धेरै अनलाइन पोर्टलहरू केवल क्लिकका लागि समाचार बनाइरहेका छन् । एउटा सानो घटनालाई अतिरञ्जित गरेर प्रस्तुत गरिन्छ । कसैको व्यक्तिगत जीवनलाई सार्वजनिक तमाशा बनाइन्छ । कुनै समाचारको आधा सत्य देखाएर बाँकी आधा लुकाइन्छ । कसैको चरित्र हत्या गरिन्छ । यो प्रवृत्ति किन बढ्यो ? यसको मुख्य कारण प्रतिस्पर्धा हो । डिजिटल युगमा सबैभन्दा पहिले समाचार हाल्ने दौड छ । ‘पहिला हाल, पछि सच्याउ’ भन्ने मानसिकताले पत्रकारिताको विश्वसनीयता कमजोर बनाएको छ । धेरैले तथ्य जाँच गर्न समय खर्च गर्दैनन् । किनकि उनीहरूलाई सत्यभन्दा ट्राफिक चाहिएको हुन्छ ।

पीत पत्रकारिताले समाजमा के असर पार्छ ?

पहिलो, यसले जनतालाई भ्रमित बनाउँछ । दोस्रो, यसले निर्दोष व्यक्तिको प्रतिष्ठा ध्वस्त पार्न सक्छ । तेस्रो, यसले सामाजिक तनाव बढाउन सक्छ । चौथो, यसले पत्रकारितामाथिको विश्वास घटाउँछ । जब जनता समाचारमाथि विश्वास गर्न छोड्छन्, तब अफवाहले ठाउँ लिन्छ । त्यो समाजका लागि खतरनाक अवस्था हो ।

झोले पत्रकारिताः पहुँचको घमण्ड र जिम्मेवारीको पतन

झोले पत्रकारिता भन्नाले शक्तिको आडमा गरिने पत्रकारिता बुझिन्छ । यस्तो पत्रकारिता गर्नेहरू आफूलाई कानुनभन्दा माथि सम्झन्छन् ।उनीहरू समाचारभन्दा पहुँच बेचिरहेका हुन्छन् । उनीहरू कसैलाई धम्क्याउँछन्, कसैलाई तर्साउँछन्, कसैसँग लाभ लिन्छन् । कतिपय पत्रकारले आफ्नो परिचयपत्रलाई समाजसेवाको प्रतीक होइन, दबाबको हतियार बनाएका छन् । सरकारी कार्यालयमा गएर प्रभाव देखाउने, व्यवसायीसँग विज्ञापनको नाममा रकम असुल्ने, कसैको कमजोरी समातेर ब्ल्याकमेल गर्ने प्रवृत्ति समाजमा देखिएको छ । यस्ता व्यक्तिहरूले सम्पूर्ण पत्रकार समुदायको प्रतिष्ठामा चोट पु¥याउँछन् । एउटा पत्रकार गलत बाटोमा हिँड्दा हजारौँ इमानदार पत्रकारमाथि प्रश्न उठ्छ । यही कारणले समाजमा ‘सबै पत्रकार उस्तै हुन्’ भन्ने गलत धारणा पनि फैलिन्छ । तर सत्य के हो भने सबै पत्रकार बिकेका हुँदैनन् । सबै पत्रकार दलाल हुँदैनन् । अझै पनि धेरै पत्रकारहरू आफ्नो जीवन जोखिममा राखेर सत्यका लागि लडिरहेका छन् । तर समस्या के हो भने केही गलत पात्रहरूले सम्पूर्ण क्षेत्रलाई बदनाम गरिरहेका छन् ।

खौवा पत्रकारिताः जब कलम पेटको दास बन्छ

पत्रकारिता एउटा कठिन पेशा हो । विशेषगरी नेपालजस्तो विकासोन्मुख मुलुकमा पत्रकारहरूको आर्थिक अवस्था धेरै राम्रो छैन । धेरै पत्रकार न्यून पारिश्रमिकमा काम गरिरहेका छन् । कतिपयले महिनौँ तलब पाउँदैनन् । यही अवस्थाले केहीलाई सम्झौतामा धकेल्छ । खौवा पत्रकारिता भनेको कुनै व्यक्ति, संस्था, दल वा समूहको स्वार्थमा आधारित पत्रकारिता हो । यस्तो पत्रकारितामा पत्रकार स्वतन्त्र हुँदैन । ऊ कसैको एजेन्डा बोकेको हुन्छ । जसले पैसा दिन्छ, उसकै पक्षमा समाचार लेखिन्छ । जसले विज्ञापन दिन्छ, उसकै आलोचना रोकिन्छ । यसले पत्रकारिताको आत्मा नै मार्छ । किनकि पत्रकारिताको पहिलो धर्म स्वतन्त्रता हो । पत्रकार कुनै दलको कार्यकर्ता बन्नु हुँदैन । कुनै व्यापारीको एजेन्ट बन्नु हुँदैन। कुनै शक्तिकेन्द्रको कठपुतली बन्नु हुँदैन । पत्रकारको निष्ठा केवल सत्य र जनताप्रति हुनुपर्छ । तर आज कतिपय मिडिया संस्थाहरू राजनीतिक दलसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका छन् । कसैले एउटा दलको मात्र गुणगान गाइरहेको हुन्छ, कसैले अर्को दलको मात्र आलोचना गरिरहेको हुन्छ । यस्तो अवस्थामा निष्पक्ष पत्रकारिता संकटमा पर्छ ।

हावामा गरिने पत्रकारिताः अफवाहको महामारी

सामाजिक सञ्जालको युगमा सबै मानिस ‘सूचना उत्पादक’ बनेका छन् । मोबाइल फोन र इन्टरनेटको पहुँचले सूचना लोकतान्त्रिक बनाएको छ। तर यही सुविधाले गलत सूचना फैलाउने काम पनि तीव्र बनाएको छ । आज धेरैले कुनै प्रमाणबिना समाचार बनाइरहेका छन् । ‘स्रोतका अनुसार’, ‘भित्रभित्रै’, ‘विश्वसनीय स्रोतले बतायो’ भन्दै तथ्यहीन सामग्री प्रस्तुत गरिन्छ । कतिपय युट्युबरहरू भ्युजका लागि झुटा थम्बनेल र भ्रामक शीर्षक प्रयोग गर्छन् । कसैको मृत्यु नभए पनि ‘देश शोकमा’, ‘अब रहेनन्’ जस्ता शीर्षक हालिन्छ । यो हावामा गरिने पत्रकारिता हो । यसले समाजलाई गम्भीर रूपमा क्षति पु¥याउँछ । अफवाहले हिंसा निम्त्याउन सक्छ । गलत समाचारले आत्महत्या, सामाजिक बहिष्कार वा राजनीतिक तनाव सिर्जना गर्न सक्छ । पत्रकारितामा अनुमान होइन, प्रमाण बोल्नुपर्छ । शंका होइन, तथ्य प्रस्तुत गर्नुपर्छ । यदि प्रमाण छैन भने त्यो समाचार होइन ।

खोज पत्रकारिताः अन्धकार चिर्ने साहस

अब प्रश्न उठ्छ, के पत्रकारिता पूर्ण रूपमा बिग्रिसकेको छ ? उत्तर हो—छैन । किनकि अझै पनि खोज पत्रकारिता जीवित छ । अझै पनि केही पत्रकारहरू छन् जो सत्यका लागि डराउँदैनन् । उनीहरू धम्की सहन्छन्, दबाब झेल्छन्, आर्थिक कठिनाइ भोग्छन्, तर सत्य छाड्दैनन् ।
खोज पत्रकारिता भनेको सतहमा देखिएको कुराभन्दा भित्रको सत्य खोज्नु हो । यो कठिन काम हो । यसका लागि धैर्यता, अनुसन्धान क्षमता, साहस र नैतिकता आवश्यक हुन्छ । विश्व इतिहासमा धेरै ठूला भ्रष्टाचार, मानवअधिकार उल्लंघन र अपराधहरू खोज पत्रकारिताले नै उजागर गरेको छ । पत्रकारहरूले सरकार हल्लाएका छन्, शक्तिशालीलाई अदालतसम्म पु¥याएका छन्, जनतालाई सुसूचित गरेका छन् ।
नेपालमा पनि खोज पत्रकारिताले धेरै महत्त्वपूर्ण भूमिका खेलेको छ । भ्रष्टाचार, तस्करी, मानव बेचबिखन, अनियमितता, राजनीतिक बेइमानी र प्रशासनिक कमजोरीहरू उजागर गर्न पत्रकारहरूको ठूलो योगदान छ । साँचो पत्रकारले कसैको डर मान्दैन । ऊ सत्यको पक्षमा उभिन्छ । ऊ बिक्दैन । ऊ झुक्दैन । ऊ समाजको विवेक बन्छ ।

पत्रकारिताः राष्ट्रको चौथो अंग

लोकतन्त्रमा पत्रकारितालाई चौथो अंग किन भनिन्छ ? किनकि पत्रकारिताले सत्तालाई निगरानी गर्छ । यदि सरकार गलत गर्छ भने प्रश्न उठाउँछ। यदि न्यायालयमा कमजोरी छ भने उजागर गर्छ । यदि संसद् मौन छ भने जनताको आवाज बनाउँछ । पत्रकारिताबिना लोकतन्त्र अपांग हुन्छ । स्वतन्त्र प्रेस नभएको देशमा भ्रष्टाचार बढ्छ, तानाशाही मौलाउँछ, नागरिक अधिकार कमजोर हुन्छन् । त्यसैले प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड हो । तर स्वतन्त्रता भनेको अराजकता होइन । पत्रकारितामा स्वतन्त्रतासँगै जिम्मेवारी पनि आवश्यक हुन्छ । गलत सूचना फैलाउने अधिकार कसैलाई छैन । कसैको चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन । प्रेस स्वतन्त्रता र प्रेस दुरुपयोगबीचको भिन्नता बुझ्नुपर्छ ।
आज पत्रकारितामाथि राजनीतिक, आर्थिक र सामाजिक दबाब बढिरहेको छ । कतिपय पत्रकार धम्कीमा छन् । कतिपयमाथि मुद्दा लगाइन्छ । कतिपयलाई विज्ञापन रोक्ने धम्की दिइन्छ । यस्तो अवस्थामा पत्रकारिताको स्वतन्त्रता जोगाउनु समाजको साझा जिम्मेवारी हो ।

आवाजविहीनहरूको आवाज

पत्रकारिताको सबैभन्दा सुन्दर पक्ष के हो भने यसले आवाजविहीनहरूको आवाज बन्छ । एउटा गरिब किसानको समस्या सरकारसम्म पु¥याउने शक्ति पत्रकारितासँग छ । एउटा पीडित महिलाको न्यायको आवाज बन्ने क्षमता पत्रकारितासँग छ । एउटा दुर्गम गाउँको पीडा राजधानीसम्म ल्याउने माध्यम पत्रकारिता हो ।जब कुनै गरिब नागरिक अदालत, प्रशासन वा राजनीतिसम्म पुग्न सक्दैन, त्यतिबेला पत्रकारिता उसको आशा बन्छ । यही कारणले पत्रकारिता केवल पेशा होइन, सामाजिक उत्तरदायित्व हो । तर दुःखको कुरा, कतिपय मिडियाले गरिबको आवाजभन्दा सेलिब्रिटीको विवादलाई प्राथमिकता दिन थालेका छन् । किसानको समस्याभन्दा टिकटकको स्क्यान्डल ठूलो समाचार बन्न थालेको छ । जनताको वास्तविक मुद्दा ओझेलमा परेको छ ।पत्रकारिताले फेरि जनताको मुद्दातर्फ फर्किनुपर्छ । शिक्षा, स्वास्थ्य, बेरोजगारी, भ्रष्टाचार, कृषि, श्रमिक, महिला हिंसा, बालअधिकार, वातावरण, विकास, न्याय—यी विषयहरू पत्रकारिताको केन्द्र बन्नुपर्छ ।

सामाजिक सञ्जाल र पत्रकारिताको चुनौती

आजको युग डिजिटल युग हो । सामाजिक सञ्जालले सूचना प्रवाहलाई तीव्र बनाएको छ । फेसबुक, युट्युब, टिकटक र एक्स जस्ता प्लेटफर्महरूले आम मानिसलाई पनि आफ्नो विचार व्यक्त गर्ने अवसर दिएका छन् । यसको सकारात्मक पक्ष पनि छ । अब कुनै घटना लुकाउन सजिलो छैन । नागरिक पत्रकारिता बढेको छ । दुर्गम ठाउँको समाचार पनि छिटो बाहिर आउँछ । तर यसको नकारात्मक पक्ष झन् गम्भीर छ । अहिले फेक न्यूज ठूलो समस्या बनेको छ । एडिट गरिएको भिडिओ, पुरानो फोटो, भ्रामक पोष्ट र अफवाहहरू तीव्र गतिमा फैलिरहेका छन् । कतिपयले पत्रकारिता र कन्टेन्ट क्रिएसनलाई एउटै कुरा सम्झिरहेका छन् । मनोरञ्जन बनाउन सकिन्छ, तर पत्रकारिता तथ्यमा आधारित हुनुपर्छ । पत्रकारितामा प्रमाण आवश्यक हुन्छ । आज पत्रकारिताको सबैभन्दा ठूलो चुनौती विश्वसनीयता जोगाउनु हो । जनता कसलाई विश्वास गर्ने ? यही प्रश्न गम्भीर बनेको छ । त्यसैले पत्रकारहरूले अझ बढी जिम्मेवार बन्नुपर्छ ।

पत्रकारको नैतिकता किन आवश्यक छ ?

पत्रकारितामा नैतिकता सबैभन्दा महत्त्वपूर्ण कुरा हो । पत्रकारले समाचार बनाउँदा आफ्नो व्यक्तिगत रिस, राजनीतिक झुकाव वा आर्थिक स्वार्थलाई अलग राख्नुपर्छ ।

नैतिक पत्रकारिताका केही आधारभूत सिद्धान्तहरूः
१. सत्यता
२. निष्पक्षता
३. सन्तुलन
४. प्रमाणको सम्मान
५. मानव संवेदनशीलता
६. गोपनीयताको सम्मान
७. उत्तरदायित्व

यदि पत्रकारले गल्ती गर्छ भने सच्याउने साहस पनि हुनुपर्छ । गल्ती लुकाउने होइन, स्वीकार गर्ने संस्कार आवश्यक छ । आज धेरै समस्या पत्रकारितामा नैतिकताको कमीका कारण उत्पन्न भएका छन् । पैसा, पहुँच र लोकप्रियताको लोभले पत्रकारिताको मूलधर्म कमजोर बनाएको छ ।

किन बिक्छन् केही पत्रकार ?

यो प्रश्न पनि महत्त्वपूर्ण छ । सबै दोष केवल व्यक्तिलाई दिएर समस्या समाधान हुँदैन । पत्रकारिता क्षेत्रको संरचनात्मक समस्या पनि बुझ्नुपर्छ । नेपालमा धेरै पत्रकार असुरक्षित अवस्थामा काम गरिरहेका छन् । न्यून तलब, रोजगारको अस्थिरता, राजनीतिक दबाब, विज्ञापनमा निर्भरतार संस्थागत कमजोरीले पत्रकारलाई कमजोर बनाउँछ । जब पत्रकार आर्थिक रूपमा असुरक्षित हुन्छ, उसलाई प्रभावित गर्न सजिलो हुन्छ । त्यसैले पत्रकारितालाई स्वच्छ बनाउन पत्रकारहरूको आर्थिक अवस्था पनि सुधार गर्नुपर्छ । तर आर्थिक समस्या भए पनि इमानदारी बेच्नु समाधान होइन । इतिहासले सधैँ सत्यका पक्षमा उभिनेहरूलाई सम्मान गरेको छ । पैसा कमाउने धेरै बाटा हुन सक्छन्, तर पत्रकारितामा सत्य गुमेपछि केही बाँकी रहँदैन ।

जनता पनि जिम्मेवार छन्

पत्रकारिताको गुणस्तर केवल पत्रकारले मात्र तय गर्दैनन्, जनताले पनि तय गर्छन् । यदि जनता सनसनी खोज्छन् भने मिडियाले सनसनी बेच्ने प्रयास गर्छ । यदि जनता तथ्य खोज्छन् भने मिडिया जिम्मेवार बन्न बाध्य हुन्छ । आज धेरै मानिस शीर्षक मात्र पढेर प्रतिक्रिया दिन्छन् । तथ्य जाँच नगरी शेयर गर्छन् । यसले गलत सूचना फैलाउन मद्दत गर्छ । जनताले पनि मिडिया साक्षर बन्नुपर्छ । कुन समाचार विश्वसनीय हो ? कुन स्रोत प्रमाणित हो ? कसरी तथ्य जाँच गर्ने ? यी कुरा बुझ्न आवश्यक छ । सही पत्रकारितालाई समर्थन गर्नुपर्छ । जिम्मेवार मिडियालाई हेर्नुपर्छ । झुट बेच्ने प्लेटफर्मलाई बहिष्कार गर्नुपर्छ ।

पत्रकारिता र राष्ट्र निर्माण

एउटा राष्ट्र केवल सडक, भवन र पुलले बन्दैन । राष्ट्र चेतनाले बन्छ । त्यो चेतना निर्माण गर्ने प्रमुख शक्ति पत्रकारिता हो । सही पत्रकारिताले नागरिकलाई जागरूक बनाउँछ । भ्रष्टाचारविरुद्ध बोल्न सिकाउँछ । अधिकार र कर्तव्य बुझाउँछ । लोकतन्त्रलाई बलियो बनाउँछ ।
तर गलत पत्रकारिताले समाजलाई विभाजित गर्छ । जातीय, धार्मिक, राजनीतिक द्वन्द्व बढाउँछ । घृणा फैलाउँछ । भ्रम पैदा गर्छ । त्यसैले पत्रकारिता राष्ट्र निर्माणको आधार पनि बन्न सक्छ र राष्ट्र विनाशको कारण पनि । यो पत्रकारको कलमले तय गर्छ ।

साँचो पत्रकार को हो ?

साँचो पत्रकार त्यो हो जो सत्यसँग सम्झौता गर्दैन । साँचो पत्रकार त्यो हो जो कमजोरको पक्षमा उभिन्छ । साँचो पत्रकार त्यो हो जो प्रश्न गर्न डराउँदैन । साँचो पत्रकार त्यो हो जो आफ्नो पेसालाई दलालीमा बदल्दैन । पत्रकारिता लोकप्रिय बन्ने माध्यम होइन, जिम्मेवारी बहन गर्ने बाटो हो । पत्रकारले समाजलाई प्रभावित गर्छ । त्यसैले उसको प्रत्येक शब्दमा जिम्मेवारी हुनुपर्छ । साँचो पत्रकारले कहिल्यै आफ्नो कलम बेच्दैन । ऊ पैसाभन्दा सत्यलाई ठूलो ठान्छ । ऊ शक्तिभन्दा जनतालाई ठूलो ठान्छ ।

युवा पुस्ता र पत्रकारिताको भविष्य

आज धेरै युवा पत्रकारितामा आकर्षित भइरहेका छन् । यो सकारात्मक कुरा हो । तर उनीहरूले पत्रकारिता केवल भाइरल हुने माध्यम होइन भन्ने बुझ्नुपर्छ । पत्रकार बन्नु भनेको जिम्मेवार नागरिक बन्नु हो । अध्ययन, अनुसन्धान, भाषा, तथ्य, विश्लेषण र नैतिकता पत्रकारिताका आधार हुन् । केवल मोबाइल क्यामेरा बोकेर लाइभ गर्नुलाई पत्रकारिता भन्न मिल्दैन । युवा पत्रकारहरूले खोज पत्रकारितालाई प्राथमिकता दिनुपर्छ । समाजका वास्तविक मुद्दा उठाउनुपर्छ । सत्यको पक्षमा उभिनुपर्छ । यदि नयाँ पुस्ताले जिम्मेवार पत्रकारिता अपनायो भने भविष्य उज्यालो छ । यदि उनीहरू पनि भ्युज, पैसा र सनसनीको पछि दौडे भने पत्रकारिताको संकट झन् गहिरो हुनेछ ।

राज्य, मिडिया हाउस र समाजको भूमिका

पत्रकारितालाई स्वस्थ बनाउन केवल पत्रकारको प्रयास पर्याप्त हुँदैन । राज्य, मिडिया संस्था र समाज सबैको भूमिका आवश्यक हुन्छ । राज्यले प्रेस स्वतन्त्रताको सम्मान गर्नुपर्छ । पत्रकारलाई डर र दबाबमुक्त वातावरण दिनुपर्छ । मिडिया संस्थाहरूले पत्रकारलाई उचित पारिश्रमिक, तालिम र सुरक्षा दिनुपर्छ । केवल नाफामुखी सोचले पत्रकारिता बच्दैन । समाजले पनि जिम्मेवार पत्रकारितालाई सम्मान गर्नुपर्छ । सत्य बोल्ने पत्रकारको साथ दिनुपर्छ ।

जब पत्रकारिता बिक्छ

जब पत्रकारिता बिक्छ, तब सत्य हार्छ । जब सत्य हार्छ, तब न्याय कमजोर हुन्छ । जब न्याय कमजोर हुन्छ, तब लोकतन्त्र संकटमा पर्छ । बिकेको पत्रकारिताले समाजलाई अन्धकारमा धकेल्छ । यसले अपराधीलाई संरक्षण दिन्छ । भ्रष्टलाई शक्तिशाली बनाउँछ । निर्दोषलाई कमजोर बनाउँछ । त्यसैले एउटा बिकेको पत्रकार हजार आतंकवादीभन्दा खतरनाक हुन्छ भन्ने कुरा केवल अतिशयोक्ति होइन । आतंकवादीले शरीर मार्छ, बिकेको पत्रकारले चेतना मार्छ । चेतना मरेपछि समाज जीवित भएर पनि मृतजस्तै हुन्छ ।

निष्कर्षः कलमको धर्म

कलम अत्यन्त शक्तिशाली हुन्छ । यसले क्रान्ति ल्याउन सक्छ, युद्ध रोक्न सक्छ, न्याय दिलाउन सक्छ, समाज बदल्न सक्छ । तर यही कलम गलत हातमा प¥यो भने विनाश पनि ल्याउन सक्छ । पत्रकारिताको वास्तविक धर्म सत्य हो । पत्रकारिताको वास्तविक उद्देश्य जनताको सेवा हो। पत्रकारिताको वास्तविक शक्ति विश्वास हो । यदि पत्रकारिताले विश्वास गुमायो भने उसले सबै कुरा गुमाउँछ । त्यसैले पत्रकारले सधैँ आफूलाई एउटा प्रश्न सोध्नुपर्छ—‘म सत्यको पक्षमा छु कि स्वार्थको ?’ समाजलाई बिकेको पत्रकारिता होइन, जिम्मेवार पत्रकारिता चाहिएको छ। समाजलाई सनसनी होइन, सत्य चाहिएको छ । समाजलाई दलाली होइन, खोज पत्रकारिता चाहिएको छ । आज आवश्यक छ, इमानदार कलम । जिम्मेवार समाचार । प्रमाणमा आधारित बहस । जनताको आवाज बन्ने मिडिया । किनकि अन्ततः पत्रकारिता केवल पेसा होइन, यो समाजको आत्मा हो । जब कलम इमानदार हुन्छ, राष्ट्र उज्यालो हुन्छ । जब कलम बिक्छ, अन्धकार गहिरिन्छ । त्यसैले आज पनि सन्देश एउटै छः ‘पत्रकार बन्नु सजिलो होला, तर साँचो पत्रकार बन्न साहस चाहिन्छ ।’

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ ६ गते बुधबार