सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन



गण्डकी ।

जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट रु ४४ लाख ८ हजार ५०० राजस्व सङ्कलन गरेको छ । यस अवधिमा पाँच हजार २६३ सवारीसाधनका चालक कारबाहीमा परेका कार्यालयका प्रहरी निरीक्षक सुजितकुमार देवकोटाले जानकारी दिए ।

ट्राफिक नियम उल्लङ्घन गरी सञ्चालन भएका सवारीसाधनका चालकलाई कारबाही गर्ने गरिएको उहाँको भनाइ छ । वैशाख महिनामा २२ सवारीसाधन दुर्घटनामा परेको कार्यालयले जनाएको छ । दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको र २६ जना घाइते भएका थिए ।बाह्र वटा सवारीसाधन दुर्घटना तीव्र गतिका कारण भएको उहाँको भनाइ छ ।

चालकले सवारी चालक अनुमतिपत्र नलिई चलाएका पाँच र मादक पदार्थ सेवन गरी चलाएका तीन सवारीसाधन दुर्घटना परेको कार्यालयले जनाएको छ ।“मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारीसधान चलाउने, तीव्र गतिमा सवारीसाधन हाँक्ने चालकलाई लक्षित गरी ट्राफिक जाँच बढाइएको छ”, प्रहरी निरीक्षक देवकोटाले भने, “जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयले संयुक्त रूपमा सवारीसाधन जाँच गर्दै आएको छ ।”

सवारी दुर्घटना न्यूनीकरणसँगै सवारीसाधन जाँचका क्रममा प्रहरी कर्मचारीले नागरिकप्रति गर्नुपर्ने व्यवहार, प्रहरीले अपनाउनुपर्ने सुरक्षा सावधानीलगायत विषयमा नमुना जाँच कार्यक्रमसमेत भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए। रासस

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ ५ गते मंगलबार