काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाभित्रका चार सामुदायिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा शत्प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ गराउन सफल भएका छन् । यस्तो नतिजा ल्याउनेमा केन्द्रीय बहिरा माध्यमिक विद्यालय नक्साल, श्रम राष्ट्रिय माध्यमिक विद्यालय कुमारीगाल, बाल व्यवसायी माध्यमिक विद्यालय सिफल र बाल सेवा माध्यमिक विद्यालय झोछेँ रहेका छन्।
२७ वर्षदेखि निरन्तर सफल केन्द्रीय बहिरा मावि
नक्सालमा रहेको केन्द्रीय बहिरा माध्यमिक विद्यालयले २०५५ सालदेखि नियमित रूपमा शत्प्रतिशत नतिजा ल्याइरहेको छ । विसं २०२८ मा स्थापित उक्त विद्यालय परिवारको अथक मिहिनेतले यस्तो नतिजा ल्याउन सफल भएको प्रधानाध्यापक उपेन्द्र यादव बताउँछन् ।उक्त विद्यालयमा अध्ययन गर्ने कान नसुन्ने (बहिरा) २१ जना विद्यार्थी यस वर्षको एसइई परीक्षामा सहभागी भएका थिए ।
यहाँ यस्ता विद्यार्थीलाई दृश्यको माध्यमबाट शिक्षण सिकाइ गरिँदै आएको छ । विविध समस्याका बाबजुत २७ वर्षदेखि नतिजामा सधैँ अगाडि रहेको प्रधानाध्यापक यादवले बताए।
विगत दश वर्षदेखि शतप्रतिशत
यस्तै, विसं २०७२ देखि निरन्तर शत्प्रतिशत नतिजा ल्याउन सफल भएको श्रम राष्ट्रिय माध्यमिक विद्यालयले २०८२ सालको एसइईमा पनि आफूलाई अब्बल सावित गरेको छ।
विद्यालयका सहायक प्रधानाध्यापक सरोज खनालले फरक पठनपाठन संस्कार र निरन्तर मेहनतले उत्कृष्ट नतिजा ल्याउन सहज भएको बताए। उनले भने, “हामी चाडपर्वको दिनबाहेक अन्य कुनै पनि बिदामा विद्यालय बन्द गर्दैनौँ । अनिवार्य विषयहरू गणित, विज्ञान र अङ्ग्रेजीको नियमित पठनपाठन हुन्छ । यसरी राम्रो नतिजासहित ल्याउन अहोरात्र खटिने सबै विषयगत शिक्षकका कारण यस्तो सम्भव भएको हो ।”
विद्यालयले बालबालिकाको पठनपाठनमा सहजताका लागि उनीहरूका अभिभावकलाई समेत आयआर्जनका लागि सिलाइबुनाइको काम प्रदान गर्दै आएको छ । यसले अभिभावकलाई आफ्ना बालबालिकाको न्यूनतम आवश्यकता पूर्तिका लागि सघाउँ पुगेको प्रधानाध्यापक ढुङ्गानाको भनाइ छ। हाल उक्त विद्यालयमा ८९ जना शारीरिक रूपमा अशक्त बालबालिकासहित चार सय २७ बालबालिकाले अध्ययन गरिरहेका छन्।
‘महानगरको लगानीले हामीलाई सहज भइरहेको छ’
यसपटक एसइईमा शतप्रतिशत नतिजा ल्याउनेमा बाल सेवा माध्यमिक विद्यालय झोछेँले पनि पर्छ । विगतमा भौतिक पूर्वाधारको अभावका कारण यस विद्यालयमा बालबालिका टिकाउनै कठिन थियो । पछिल्लो समय महानगरपालिकाले शिक्षामा गरेको लगानी र विद्यालय परिवारको निरन्तर मिहिनेतले बालबालिकालाई टिकाउन र गुणस्तरीय शिक्षण सिकाइका लागि पनि सहज भएको प्रधानाध्यापक मञ्जु पाठकले बताइन् ।
उनका अनुसार यस विद्यालयमा करिब ९० प्रतिशत बालबालिका आर्थिक रूपमा विपन्न परिवारका छन् । एकपटक भर्ना गरिसकेपछि चाहेर पनि विद्यालयले अभिभावकसँग बसेर सिकाइ सुधारका लागि छलफल गर्ने अवस्था नै छैन ।
“अभिभावकमा भर्ना गरिसकेपछि सबै जिम्मेवारी विद्यालयको हो भन्ने धारणा छ । कापीकलम, विद्यालयको पोसाक आफ्ना नानीबाबुको पढाइ कस्तो छ, नियमित विद्यालय गएका छन् कि छैनन् भन्ने विषयमा उहाँहरु बेखबरजस्तै हुनुहुन्छ”, प्रअ पाठक भनिन्, “विभिन्न सङ्घसंस्थासँग आग्रह गरेर केही बालबालिकाको घरमा रासनपानी र विद्यालयमा आवश्यक पर्ने कापीकलमसहित अन्य शैक्षिक सामग्री व्यवस्था गर्दै आएका छौँ । त्यसैले विभिन्न समस्याका बीच पनि राम्रो नतिजा ल्याइरहेका छौँ ।”
हरेक वर्ष नतिजा सुधार्दै महानगर
महानगर शिक्षा विभागका प्रमुख नमराज ढकालले यस वर्ष महानगरका ७६ दशमलव ७५ प्रतिशत विद्यार्थी एसइईमा ‘ग्रेडेड’ भएको जानकारी दिए । नतिजा सुधार कार्यक्रम लागू भएका विद्यालयमा एसइई नतिजा सन्तोषजनक रहेको उनले बताए ।
यसपटक यहाँका ६० वटा विद्यालयबाट चार हजार १६७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । गत वर्ष चार हजार ८५ जना परीक्षार्थीमध्ये तीन हजार १०९ जना (७६ दशमलव ०८ प्रतिशत) ग्रेडेड थिए । यस वर्ष ८२ जना बढी विद्यार्थी परीक्षामा सहभागी भएका थिए।
सहभागीमध्ये तीन दशमलव छदेखि चार जिपिए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या पाँच सय ४३ छ । यस्तै, तीन दशमलव छदेखि चार जिपिए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या पाँच सय ४३ छ । यस्तै, तीन दशमलव दुईदेखि तीन दशमलव ६ जिपिए ल्याउने विद्यार्थीका दुईदेखि तीन दशमलव छदेखि चार जिपिए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या पाँच सय ४३ छ ।
यस्तै, तीन दशमलव दुईदेखि तीन दशमलव छ जिपिए ल्याउने विद्यार्थीका छ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या एक हजार चार, दुई दशमलव आठदेखि तीन दशमलव दुई जिपिए ल्याउने एक हजार १५३, दुई दशमलव चारदेखि दुई दशमलव आठ जिपिए ल्याउने चार सय ६९ र दुईदेखि दुई दशमलव चार जिपिए ल्याउने १४ जना छन् । यसमा गएको वर्षमाथि उल्लिखित जिपिए ल्याउने क्रमशः सात सय ७४, एक हजार १५६ जना, नौ सय दुई, दुई सय ४६ र १४ जना रहेका थिए ।
यसरी उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या वृद्धि भइरहेको र तल्लो तहको जिपिए प्राप्त गर्ने विद्यार्थीहरुको सङ्ख्या घट्दै गएको पाइन्छ । गत वर्ष नौ सय ७६ जना ‘ननग्रेडेड’ भएकामा यस वर्ष त्यो सङ्ख्या नौ सय ६९ जना छ ।
नतिजा सुधार गर्न महानगरको प्रयास
विद्यालयको शैक्षिक गुणस्तरमा आएको सुधार, विद्यार्थीमा मिहिनेत गर्ने बानीको विकास, शिक्षकको अध्यापनप्रति बढ्दो लगाव, नतिजा सुधारका लागि महानगरले बिदाका समयमा पनि सञ्चालन गरेका ‘क्याम्प’ कक्षा तथा विशेष निगरानीका कारण नतिजामा सुधार भइरहेको जानकारहरू बताउँछन्।
महानगर शिक्षा अधिकृत केशव ज्ञवालीका अनुसार सिकाइप्रति विद्यार्थीको रुचि जगाउन, सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन र तनावरहित सिकाइलाई अभ्यासमा ल्याउन ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रमले राम्रो योगदान गरिरहेको छ । यस कार्यक्रममा विद्यार्थीले पाठ्यक्रम, सहपाठ्यक्रम र अतिरिक्त पाठ्यक्रमलाई एकीकृत गरेर विद्यार्थीको बहुआयामिक सिकाइको अभ्यास हुने गरेको उनले जानकारी दिए।
“शिक्षामा रूपान्तरण ल्याउन विद्यार्थीको सिकाइ सुधार गर्नु महानगरको प्राथमिकता हो । यसलाई सम्भव बनाउन विद्यार्थीको सिकाइमा कमजोरीका कारण बुझेर सोहीअनुसार सुधार कार्यक्रम कार्यान्वयन भइरहेका छन्”, शिक्षा अधिकृत ज्ञवालीले भने,“शिक्षकको दक्षता अभिवृद्धि गर्न शिक्षक तालिम सञ्चालन गरिएको छ । स्मार्ट कक्षा कोठामा अध्ययन गर्न साधन उपकरण र पूर्वाधार थपिएको छ । रासस









प्रतिक्रिया दिनुहोस्