नेपालगन्ज ।
बाँकेको राप्ती नदीको कम्दी खण्डमा गएको शनिबार पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जना अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पौडी खेल्ने क्रममा बेपत्ता भएकी डुडुवा गाउँपालिका–५ कम्दीकी ११ वर्षीया खुसी सिजापति अझै फेल परेकी छैनन् । सँगै बेपत्ता भएका सोही स्थानका नौ वर्षीय शुलभ रावतको शव भने आइतबार फेला परेको थियो ।
सिजापतिको खोजी कार्य जारी रहे पनि मंगलबार बेलुकीसम्म उनी फेला नपरेको बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए । उनका अनुसार सिजापतिको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बल लगायतको टिम खटिइरहेको छ भने स्थानीयहरूले पनि खोजी कार्यमा सघाइरहेका छन् । तर पनि उनलाई फेला पार्न नसकिएको जिसीले बताए ।
शनिबार दिउँसो ४ बजे घरबाट निस्किएका उनीहरू घर नफर्केपछि अभिभावकले प्रहरीलाई खबर गरेका थिए । उनीहरू डुबेको घटनाबारे भैँसी गोठालाले शनिबार राति परिवारका सदस्यहरूलाई जानकारी दिएका थिए । त्यसपछि उनीहरूको खोजी गर्दा सुलभको शव केही तल अड्किएको अवस्थामा फेला परेको थियो ।









प्रतिक्रिया दिनुहोस्