दुई दिनसम्म चलेको मेलाले विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा मात्रै नभई सिकाइका नयाँ अभ्यासहरू आदानप्रदान गर्ने साझा मञ्च पनि प्रदान गरेको छ । मेलाका अवसरमा विद्यालयका हरेक कुनामा केही न केही नयाँ देख्न पाइन्थ्यो । कतै विद्यार्थीहरूले आफ्नै हातले बनाएका विज्ञानका नमुना प्रस्तुत गरिरहेका थिए भने कतै स्थानीय स्रोतसाधनबाट तयार पारिएका शैक्षिक सामग्रीले सबैको ध्यान तानिरहेका थिए । देउडा गीतको लय, सांस्कृतिक नृत्य, हाजिरीजवाफ प्रतियोगिता, पुस्तक प्रदर्शनी र सिर्जनात्मक गतिविधिले विद्यालय परिसरलाई साँच्चिकै ‘पढाइको पर्व’मा रूपान्तरण गरेको थियो ।
नन्दराम जैशी । सुर्खेत ।
कर्णालीका दुर्गम बस्तीहरूमा अझै पनि विद्यालयलाई कक्षाकोठा, पाठ्यपुस्तक र परीक्षाको सीमाभित्र हेर्ने प्रवृत्ति कायमै छ । तर जुम्लाको हिमा गाउँपालिकाले भने शिक्षालाई फरक ढंगले परिभाषित गरिरहेको छ । यहाँ शिक्षालाई किताबका पानामा मात्रै सीमित गरिएको छैन, बरु सिर्जनशीलता, विज्ञान, कला, संस्कृति, नेतृत्व र जीवनोपयोगी सीपसँग गाँसिएको एउटा उत्सव बनाइएको छ । यही सोचलाई व्यवहारमा उतार्ने अभियान हो, पढाइ मेला ।
नेपालमै पहिलोपटक स्थानीय तहको पहलमा निरन्तर आयोजना हुँदै आएको यो पढाइ मेला अहिले हिमा गाउँपालिकाको मात्र नभई समग्र कर्णाली प्रदेशकै शैक्षिक पहिचान बन्दै गएको छ । यसपटक कालिका माध्यमिक विद्यालय, तलिकुडुको प्राङ्गणमा चौथो संस्करणको ऐतिहासिक मेला सुरु हुँदा विद्यालय परिसर नै विशाल महोत्सवजस्तै देखिएको थियो । बाजागाजा, फूलमाला र अविरले सजिएको स्वागत, विद्यार्थीहरूको उत्साह, अभिभावकहरूको उपस्थिति र जनप्रतिनिधिको सहभागिताले विद्यालय परिसर दिनभर जीवन्त रह्यो ।
यहाँ औपचारिक भाषणभन्दा बढी आकर्षण विद्यार्थीका सिर्जना, विज्ञानका प्रयोग, सांस्कृतिक प्रस्तुति र प्रतिभाको प्रदर्शनमा देखिन्थ्यो । जहाँ हिमा गाउँपालिकाभित्रका १९ वटै सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारी तथा स्थानीय बुद्धिजीवी एउटै थलोमा जम्मा भएका थिए । शुक्रबार र शनिबार दुई दिनसम्म चलेको मेलाले विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा मात्रै नभई सिकाइका नयाँ अभ्यासहरू आदानप्रदान गर्ने साझा मञ्च पनि प्रदान गरेको छ ।
मेलाका अवसरमा विद्यालयका हरेक कुनामा केही न केही नयाँ देख्न पाइन्थ्यो । कतै विद्यार्थीहरूले आफ्नै हातले बनाएका विज्ञानका नमुना प्रस्तुत गरिरहेका थिए भने कतै स्थानीय स्रोतसाधनबाट तयार पारिएका शैक्षिक सामग्रीले सबैको ध्यान तानिरहेका थिए । देउडा गीतको लय, सांस्कृतिक नृत्य, हाजिरीजवाफ प्रतियोगिता, पुस्तक प्रदर्शनी र सिर्जनात्मक गतिविधिले विद्यालय परिसरलाई साँच्चिकै ‘पढाइको पर्व’मा रूपान्तरण गरेको थियो ।
मेलाको उद्घाटन गर्दै समाजसेवी तथा नेपाली काँग्रेसका नेता दिपबहादुर शाहीले हिमा गाउँपालिकाको यो प्रयासले जिल्लाको शैक्षिक इतिहासमा नयाँ अध्याय थपेको बताए । उनका अनुसार शिक्षा समाज परिवर्तनको सबैभन्दा प्रभावकारी माध्यम भएकाले पढाइ मेलाले विद्यार्थीमा आत्मविश्वास, सिर्जनशीलता, नेतृत्व क्षमता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने अपेक्षा छ ।
‘स्थानीय सरकार, विद्यालय, अभिभावक र समुदायबीचको सहकार्यलाई अझ मजबुत बनाउनुपर्छ,’ उनले भने, ‘सबै पक्ष एक ठाउँमा उभिए हिमाले शिक्षा क्षेत्रमा कर्णालीकै मात्र होइन, नेपालकै नमुना बन्न सक्छ ।’ हिमा गाउँपालिकाले पढाइ मेलालाई वार्षिक कार्यक्रमका रूपमा निरन्तरता दिँदै आएको हो । यसले विद्यालयहरूलाई केवल नतिजा निकाल्ने संस्थाभन्दा अघि बढाएर सिकाइको प्रयोगशाला बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीले पुस्तकमा पढेको ज्ञानलाई व्यवहारमा उतार्ने, आफ्नो प्रतिभा सार्वजनिक गर्ने र सिकाइलाई रमाइलो अनुभवमा बदल्ने अवसर यही मेलाले प्रदान गरेको छ ।
शिक्षाविद्हरूका अनुसार यस्ता मेलाले विद्यार्थीको आत्मविश्वास बढाउने, शिक्षकलाई नवीन शिक्षण विधि अपनाउन प्रेरित गर्ने र अभिभावकलाई विद्यालयसँग थप नजिक ल्याउने काम गर्छन् । त्यसैले हिमा गाउँपालिकाको यो अभ्यास अन्य स्थानीय तहका लागि पनि अनुकरणीय मोडेलका रूपमा स्थापित हुँदै गएको छ । यो पढाइ मेलाले गुणस्तरीय शिक्षा ठूलो बजेटले मात्र होइन, नवीन सोच, सामूहिक प्रतिबद्धता र निरन्तर अभ्यासले सम्भव हुन्छ भन्ने पुष्टि गरेको छ ।
नेपालकै नमुनाको पहिचान
शिक्षालाई उत्सव बनाउने यही अभियानले हाल हिमा गाउँपालिकालाई नेपालकै नमुना पढाइ मेलाको पहिचान दिलाइरहेको छ । वर्षभरिका शैक्षिक गतिविधिको समीक्षा, आत्ममूल्यांकन र आगामी कार्यदिशा तय गर्ने साझा मञ्चका रूपमा पनि पढाइ मेलाले महत्वपूर्ण भूमिका खेल्ने हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही बताउँछन्।
‘पढाइ मेलाले हिमाको समग्र शैक्षिक रूपान्तरणमा एउटा इँटा थपेको छ भने विद्यालय, विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा, विद्यार्थीमा सिर्जनशीलता र उत्कृष्ट बन्ने प्रेरणा दिएको छ,’ उनले भने, ‘गाउँपालिकाले कूल विकास बजेटको ४३.३७ प्रतिशत शिक्षा क्षेत्रमा लगानी गरेको छ, विद्यालयबाहिर रहेका शतप्रतिशत बालबालिकालाई विद्यालयमा भर्ना गर्न सफल भएका छौँ ।’
अध्यक्ष शाहीले विद्यालय व्यवस्थापन समिति अध्यक्ष केवलबहादुर शाही, प्रधानाध्यापक डिल्लीप्रसाद आचार्य, शिक्षक, अभिभावक, विद्यार्थी तथा व्यवस्थापनमा खटिएका सम्पूर्णलाई धन्यवाद व्यक्त गरे । हिमा गाउँपालिकाले शिक्षालाई विकासको पहिलो प्राथमिकतामा राखेको उनले बताए । ‘स्थानीय सरकार पूर्वाधार निर्माण गर्ने निकाय नभई नागरिकका वास्तविक समस्याको समाधान गर्ने जिम्मेवार सरकार पनि हो,’ उनले थपे, ‘हामी जनताको घरदैलोको सरकार हौँ, तर कार्यसम्पादनका क्रममा कुनै कमजोरी भए वा मेरो बोली, व्यवहार मन नपरेको खण्डमा स्थानीय सरकारको प्रमुखका हैसियतले सार्वजनिक रूपमा क्षमायाचना छ ।’
अध्यक्ष शाहीले आफ्नो निर्वाचन घोषणापत्रअनुसार शिक्षालाई केन्द्रमा राखेर काम गरिरहेको उल्लेख गर्दै हिमा गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरे । हाजिरीजवाफ, राष्ट्रपति रनिङ शिल्ड, एसइई नतिजा, कक्षा ८ को परीक्षालगायत विभिन्न क्षेत्रमा हिमाका विद्यालयहरूले हासिल गरेका सफलताले शिक्षा क्षेत्रमा गरिएको लगानीको प्रतिफल देखिन थालेको उनले बताए ।
उनका अनुसार चौथो पढाइ मेलाको पहिलो दिन उद्घाटन, शैक्षिक प्रदर्शनी, विज्ञान प्रदर्शनी, हाजिरीजवाफ प्रतियोगिता, सांस्कृतिक प्रस्तुति, देउडा तथा सिर्जनात्मक गतिविधिसँगै सम्पन्न भएको थियो । दोस्रो दिन असार १४ गते विभिन्न विधाका अन्तिम प्रतिस्पर्धा, पुरस्कार वितरण तथा समापन समारोह आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जालन्धर भुसालले जानकारी दिए । दोस्रो दिनभर हाजिरीजवाफ, देउडा गीत प्रतियोगिता, सीप परीक्षण, हस्तकला, वक्तृत्वकला प्रतियोगितालगायत विविध कार्यक्रम गरिएको थियो ।
हिमाले हरेक वर्ष पढाइ मेला गरी नमुना काम गरेको छ । मेलामा समग्र मूल्यांकनमा हिमा गाउँपालिकाको–२ ओदीको नेत्रज्योति माध्यमिक प्राविधिक विद्यालय प्रथम भएको छ । उक्त विद्यालयका प्रधाननध्याप रंग रोकायाले नेत्रज्योति मावि चार पटककै मेलामा प्रथम भएको जानकारी दिए ।
शैक्षिक यात्रामा ऊर्जा थप्न प्रशंसा

हिमा गाउँपालिकाले आयोजना गरेको चौथो पढाइ मेलालाई शिक्षा क्षेत्रका सरोकारवालाले गुणस्तरीय शिक्षाको अभियानका रूपमा व्याख्या गर्दै यसको खुलेर प्रशंसा गरेका छन् । उनीहरूले मेलाले विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा, विद्यार्थीको प्रतिभा विकास र समुदायमा शिक्षाप्रतिको सकारात्मक वातावरण निर्माण गरेको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य अमरजंग शाहीले पढाइ मेलालाई केवल प्रतियोगिता नभई सामाजिक जागरणको अभियानका रूपमा लिनुपर्ने धारणा राखे ।
शिक्षा, संस्कार, संस्कृति र विज्ञानलाई एउटै मञ्चमा जोड्ने यस्तो कार्यक्रमले विद्यार्थीलाई व्यवहारिक ज्ञानतर्फ उन्मुख गराउने उनको भनाइ थियो । प्रमुख प्रशासकीय अधिकृत जालन्धर भुसालले शिक्षामा गरिएको लगानीलाई नतिजामुखी बनाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताए । विद्यालयहरूबीचको स्वस्थ प्रतिष्पर्धाले शैक्षिक गुणस्तर वृद्धि हुने उल्लेख गर्दै उनले पढाइ मेला त्यसैको सफल अभ्यास भएको बताए ।
गाउँपालिकाका शिक्षा विभाग प्रमुख तथा वडा नम्बर ४ का अध्यक्ष जग्ग रोकायाले पहिलो संस्करणदेखि चौथोसम्म आइपुग्दा पढाइ मेलाले व्यापक विस्तार पाएको बताए । उनका अनुसार यो कार्यक्रम पुरस्कार जित्ने प्रतिष्पर्धामा मात्र सीमित नरही शिक्षक, विद्यार्थी र अभिभावकबीच सिकाइ अनुभव आदानप्रदान गर्ने साझा थलोका रूपमा स्थापित भएको छ । कार्यक्रम आयोजना गरिएको कालिका माध्यमिक विद्यालय, तलिकुडुका प्रधानाध्यापक डिल्लीप्रसाद आचार्यले चौथो पढाइ मेला आयोजना गर्ने अवसर विद्यालयका लागि गौरवको विषय भएको बताए ।
विद्यालय परिवारले रातदिन खटेर कार्यक्रम सफल बनाएको उल्लेख गर्दै उनले यस्ता अवसरले विद्यालयको पहिचान अझ उचो बनाउने विश्वास व्यक्त गरे । गाउँपालिकाका कर्मचारी लोकप्रसाद उपाध्यायले पढाइ मेलाले विद्यार्थीको प्रतिभा पहिचान गर्नुका साथै सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउने अपेक्षा व्यक्त गरे । कार्यक्रम व्यवस्थापनमा संलग्न कर्मचारी नर्सिङ थापाका अनुसार मेलामा विद्यार्थीहरूले स्थानीय स्रोतसाधन प्रयोग गरेर तयार गरेका विज्ञानका नमुना प्रस्तुत गरेका थिए ।
सौर्य ऊर्जा, कृषि, वातावरण संरक्षण, जल संरक्षण तथा प्रविधिमा आधारित सिर्जनात्मक सामग्रीले अवलोकनकर्ताको ध्यान आकर्षित गरेको थियो । नेत्रज्योति प्राविधिक माध्यमिक विद्यालय, ओदीका कक्षा १० का विद्यार्थी अकेश रोकायाले पढाइ मेलाले किताबको ज्ञानसँगै व्यवहारिक सिकाइको अवसर दिएको बताए । अन्य विद्यालयका साथीहरूसँग सिक्ने, प्रतिस्पर्धा गर्ने र आफ्ना प्रतिभा प्रस्तुत गर्ने अवसरले पढाइप्रतिको उत्साह अझ बढाएको उनको भनाइ थियो ।
पहिलो साक्षर र बालविवाहमुक्त पालिका
हिमा गाउँपालिकाले शिक्षा, सामाजिक रूपान्तरण र आधारभूत सेवाको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्दै आफूलाई नमुना स्थानीय तहका रूपमा स्थापित गरेको छ । गाउँपालिकाले साविक कर्णाली अञ्चलकै पहिलो साक्षर गाउँपालिकाको गौरव प्राप्त गरेको हो भने नेपालकै दोस्रो बालविवाहमुक्त गाउँपालिकाको पहिचान बनाउन सफल भएको छ । शिक्षा र सामाजिक सुधारलाई प्राथमिकतामा राख्दै सञ्चालन गरिएका विभिन्न अभियान तथा जनचेतनामूलक कार्यक्रमको परिणामस्वरूप हिमाले साक्षरता र बालविवाह न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको हो ।
स्थानीय सरकार, विद्यालय, अभिभावक, समुदाय तथा सरोकारवाला निकायको साझा प्रयासले गाउँपालिकाले यी ऐतिहासिक उपलब्धि हासिल गर्न सकेको उपाध्यक्ष सुर्पना शाहीले बताइन् । उनका अनुसार सामाजिक विकाससँगै आधारभूत पूर्वाधार विस्तारमा पनि हिमा गाउँपालिका अग्रस्थानमा देखिएको छ । पहाडी तथा हिमाली जिल्लामध्ये ‘एक घर–एक धारा’ कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्दै एक हजार ६६८ घरधुरीमा स्वच्छ खानेपानीको पहुँच पु¥याउने पहिलो गाउँपालिका बनेको छ ।
यस उपलब्धिले स्थानीय बासिन्दाको दैनिक जीवन सहज बनाउनुका साथै स्वास्थ्य र सरसफाइमा समेत सकारात्मक प्रभाव परेको गाउँपालिकाको दाबी छ ।
गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ र सामाजिक रूपान्तरणलाई विकासको मुख्य आधार मानेर योजनाबद्ध रूपमा काम गर्दै आएको जनाएको छ । स्थानीय तहको प्रभावकारी नेतृत्व, जनसहभागिता र विकासप्रतिको प्रतिबद्धताले हिमालाई कर्णाली क्षेत्रकै अग्रणी गाउँपालिकाका रूपमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।
साक्षरता, बालविवाह नियन्त्रण र स्वच्छ खानेपानीजस्ता क्षेत्रमा हासिल भएका यी उपलब्धिलाई गाउँपालिकाले आगामी दिनमा पनि दिगो बनाउँदै समृद्ध र सभ्य समाज निर्माणतर्फ आफ्नो अभियानलाई निरन्तर अघि बढाउने जनाएको छ । गाउँपालिका अध्यक्ष शाहीले आफ्नो कार्यकालमा गाउँपालिकाभित्रका अधिकांश विद्यालयमा भवन, शौचालय, खानेपानी, घेराबारा, खेलमैदान, विज्ञान प्रयोगशाला, आईसीटी ल्याब, फर्निचर, सडक तथा कोचिङ कक्षा लगायतका पूर्वाधार र शैक्षिक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
कालिका मावि, अन्नपूर्ण मावि, भानु मावि, नेत्रज्योति प्राविधिक मावि, कैलाश आवि, महादेव आधारभूत विद्यालय, लक्ष्मी देवल आवि, कालिका आवि देवारगाउँ, राहदेव मावि मोफ्ला, बाँजागाड, जोगिबाडा, ओदी र कोइरेली लगायतका विद्यालयमा सम्पन्न विकास निर्माणका काम सार्वजनिक गर्दै शिक्षा क्षेत्रमा समान विकासको नीति अपनाइएको उनले स्पष्ट पारे ।
अभिभावकलाई आफ्ना बालबालिकाको शिक्षाप्रति थप जिम्मेवार बन्न आग्रह गर्दै शिक्षक, विद्यालय व्यवस्थापन समिति, समुदाय र स्थानीय सरकारबीचको सहकार्यबाट मात्र गुणस्तरीय शिक्षा सम्भव हुने बताए । अध्यक्ष शाही नेतृत्वको जनप्रतिनिधि टिमको कार्यकाल आगामी वैशाखमा सकिँदैछ । यो कार्यकालमा उनको नेतृत्वले गरेका धेरै सफल तथा उदाहरणीय कामको उचित मूल्यांकन गर्दै हिमावासीले फेरी उनलाई पालिकाको नेतृत्व गर्ने अवसर दिन्छन् ? वा के गर्छन् त्यो हेर्न बाँकी नै छ ।









प्रतिक्रिया दिनुहोस्