व्यवहारिक कृषि शिक्षाको नमुना बन्दै जय कालिका मावि



सुबाष रेग्मी । बढैयाताल (बर्दिया) ।

बर्दियाको बढैयाताल गाउँपालिका नौ मुनालबस्तीस्थित जय कालिका माध्यमिक विद्यालयले प्राविधिक कृषि धार (बाली विज्ञान)अन्तर्गत व्यवहारिक कृषि शिक्षालाई प्रभावकारी बनाउने उद्देश्यले विद्यालयको नौ बिघा प्रयोगात्मक कृषि फार्ममा सामूहिक धान रोपाइँ कार्यक्रम सम्पन्न गरेको छ । बुधबार सम्पन्न रोपाइँ कार्यक्रममा बाली विज्ञान अध्ययनरत १५० विद्यार्थी र ४० जना शिक्षकको सक्रिय सहभागिता रहेको थियो ।

विद्यालयले कक्षाकोठामा सिकाइने सैद्धान्तिक ज्ञानलाई प्रत्यक्ष रूपमा खेतमा प्रयोग गर्ने वातावरण निर्माण गर्दै आएको छ । सोही उद्देश्यअनुसार आयोजना गरिएको धान रोपाइँ कार्यक्रममा विद्यार्थीहरूले धान उत्पादन प्रक्रियाका विभिन्न चरणबारे व्यवहारिक अनुभव हासिल गरेका थिए । विद्यालयका अनुसार प्राविधिक कृषि शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभई उत्पादन प्रविधि र सीपसँग जोडिनुपर्ने भएकाले यस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको हो ।

वद्यालयको नौ बिघा प्रयोगात्मक कृषि फार्ममा आयोजित कार्यक्रममा विद्यार्थी र शिक्षकहरू बिहानैदेखि सक्रिय भएका थिए । विद्यार्थीहरूले धानको बिरुवा तयार गर्ने, खेत व्यवस्थापन गर्ने, रोपाइँका लागि आवश्यक तयारी गर्ने वैज्ञानिक विधिअनुसार धान रोप्ने तथा बाली व्यवस्थापनका विभिन्न पक्षबारे प्रत्यक्ष अभ्यास गरेका थिए । कृषि विषयका शिक्षकहरूले विद्यार्थीलाई माटोको अवस्था पहिचान, स्वस्थ बिरुवा छनोट, उचित दूरीमा रोपाइँ, मल व्यवस्थापन सिँचाइ व्यवस्था रोग तथा कीरा नियन्त्रण र उत्पादन वृद्धि गर्ने वैज्ञानिक विधिबारे जानकारी गराएका थिए ।

खेतमै पुगेर अभ्यास गर्दा विद्यार्थीको सिकाइ अझ प्रभावकारी भएको शिक्षकहरूको भनाइ छ । विद्यालयका प्रधानाध्यापक रामप्रसाद लुइँटेलले प्राविधिक शिक्षाको मुख्य उद्देश्य विद्यार्थीलाई व्यवहारिक रूपमा दक्ष र आत्मनिर्भर बनाउनु रहेको बताए । उनका अनुसार कृषि शिक्षा केवल किताबमा सीमित विषय नभई जीवन र उत्पादनसँग जोडिएको शिक्षा हो । विद्यालयले सञ्चालन गरेको प्रयोगात्मक कृषि फार्म विद्यार्थीका लागि सिकाइ र अभ्यासको महत्वपूर्ण केन्द्र बनेको उनले बताए ।

प्रधानाध्यापक लुइँटेलका अनुसार विद्यालयले आगामी दिनमा आधुनिक कृषि प्रविधि व्यावसायिक खेती, कृषि उद्यमशीलता तथा उत्पादनमुखी शिक्षालाई अझ प्रभावकारी बनाउने योजनासहित विभिन्न व्यवहारिक कार्यक्रमलाई निरन्तरता दिनेछ । विद्यालयको प्रयोगात्मक कृषि फार्मलाई थप व्यवस्थित बनाउँदै विद्यार्थीलाई आधुनिक कृषि प्रणालीसँग परिचित गराउने लक्ष्य रहेको उनले बताए ।

प्राविधिक कृषि धार (बाली विज्ञान) अध्ययन गर्ने विद्यार्थीका लागि व्यवहारिक अभ्यास अत्यन्त महत्वपूर्ण मानिन्छ । बाली उत्पादन, माटो व्यवस्थापन, रोग तथा कीरा नियन्त्रण, कृषि प्रविधिको प्रयोग र उत्पादन व्यवस्थापनजस्ता विषय प्रत्यक्ष अभ्यासबाट अझ राम्रोसँग बुझ्न सकिने भएकाले विद्यालयले नियमित रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । धान रोपाइँ कार्यक्रममा सहभागी विद्यार्थीहरूले विद्यालयमै उपलब्ध प्रयोगात्मक कृषि फार्ममा काम गर्न पाउँदा उत्साहित भएको बताएका छन्।

खेतमै काम गर्दा धान उत्पादनको सम्पूर्ण प्रक्रियाबारे जानकारी प्राप्त भएको, समूहमा काम गर्ने क्षमता विकास भएको र आधुनिक खेती प्रणालीबारे प्रत्यक्ष अनुभव हासिल भएको उनीहरूको भनाइ छ । विद्यालयका शिक्षकहरूले व्यवहारिक सिकाइले विद्यार्थीको आत्मविश्वास, जिम्मेवारीबोध र श्रमप्रतिको सम्मान बढाउने बताएका छन् । कृषि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नका लागि विद्यालय तहबाटै सीपमूलक शिक्षा आवश्यक रहेको उनीहरूको भनाइ छ ।

जय कालिका माध्यमिक विद्यालयले प्रयोगात्मक कृषि फार्मलाई उत्पादनसँगै अध्ययन र अनुसन्धानको केन्द्रका रूपमा विकास गर्दै आएको छ । विद्यालयले धान, तरकारी तथा अन्य मौसमी बाली उत्पादनमार्फत विद्यार्थीलाई वास्तविक कृषि कार्यको अनुभव प्रदान गर्दै आएको जनाएको छ । स्थानीय अभिभावक तथा समुदायले पनि विद्यालयको यो अभ्यासलाई सकारात्मक रूपमा लिएका छन् ।

विद्यालयले आफ्नै प्रयोगात्मक कृषि फार्ममार्फत विद्यार्थीलाई सीप र अनुभव प्रदान गर्नु ग्रामीण क्षेत्रमा प्राविधिक शिक्षाको प्रभावकारी उदाहरण भएको उनीहरूको धारणा छ । नेपाल कृषिप्रधान देश भए पनि कृषि क्षेत्रमा दक्ष र प्रविधिमैत्री जनशक्तिको आवश्यकता बढ्दै गएको अवस्थामा जय कालिका माध्यमिक विद्यालयले सञ्चालन गरेको यस्तो कार्यक्रमले व्यवहारिक कृषि शिक्षाको महत्वलाई थप उजागर गरेको छ । शिक्षालाई उत्पादनसँग, ज्ञानलाई व्यवहारसँग र सीपलाई आत्मनिर्भरतासँग जोड्ने उद्देश्यका साथ सञ्चालन गरिएको सामूहिक धान रोपाइँ कार्यक्रमले विद्यार्थीलाई भविष्यका लागि आवश्यक ज्ञान सीप र अनुभव प्रदान गरेको छ ।

विद्यालयको नौ बिघा प्रयोगात्मक कृषि फार्ममा सम्पन्न सामूहिक धान रोपाइँ कार्यक्रम केवल एउटा कृषि गतिविधि मात्र नभई प्राविधिक कृषि शिक्षाको प्रभावकारी अभ्यासका रूपमा स्थापित भएको छ । जय कालिका माध्यमिक विद्यालयले व्यवहारिक र उत्पादनमुखी शिक्षामार्फत दक्ष, आत्मनिर्भर र उद्यमशील जनशक्ति उत्पादन गर्ने दिशामा महत्वपूर्ण कदम अघि बढाएको देखिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार २५ गते बिहीबार