सम्पादकीयः सञ्चार स्वतन्त्रताको पक्षमा सर्वोच्चको सन्देश



सर्वोच्च अदालतले निजी क्षेत्रका सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय खारेज गर्नु केवल एउटा प्रशासनिक निर्णय उल्ट्याउने घटना मात्र नभएर यो संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता, समानताको सिद्धान्त र लोकतान्त्रिक शासन व्यवस्थाको पक्षमा आएको महत्वपूर्ण फैसला हो । अदालतको यो निर्णयले राज्यका स्रोत र अवसरको वितरणमा निष्पक्षता कायम गर्नुपर्ने संवैधानिक दायित्वलाई पुनः स्मरण गराएको छ । गत चैत १८ गते सरकारले संघीय, प्रदेश र स्थानीय तहका सबै सरकारी विज्ञापन तथा सार्वजनिक सूचनाहरू गोरखापत्र संस्थान, रेडियो नेपाल, नेपाल टेलिभिजनलगायत सरकारी स्वामित्वका सञ्चारमाध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्ने निर्णय गरेको थियो । यस निर्णयले निजी क्षेत्रका पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चारमाध्यमलाई सरकारी विज्ञापनबाट पूर्ण रूपमा वञ्चित गराएको थियो । सरकारको तर्क सार्वजनिक सञ्चारमाध्यमलाई सुदृढ बनाउने हुन सक्छ, तर त्यसका लागि निजी सञ्चारमाध्यमलाई निषेध गर्नु लोकतान्त्रिक मूल्य र प्रतिस्पर्धाको भावनाविपरीत थियो । नेपालको सञ्चार क्षेत्रको ठूलो हिस्सा निजी क्षेत्रले धानेको छ । देशका दुर्गम बस्तीदेखि सहरसम्म सूचना प्रवाह, जनचेतना अभिवृद्धि, सरकारी कार्यक्रमको जानकारी, स्थानीय मुद्दाको उठान र नागरिकको आवाज सशक्त रूपमा प्रस्तुत गर्ने काम निजी सञ्चारमाध्यमले निरन्तर गर्दै आएका छन् ।

यस्ता संस्थालाई सरकारी विज्ञापनबाट वञ्चित गर्नु आर्थिक रूपमा कमजोर बनाउने मात्र होइन, अप्रत्यक्ष रूपमा उनीहरूको अस्तित्वमाथि नै दबाब सिर्जना गर्ने कदम पनि हो । आर्थिक रूपमा निर्बल बनाइएको सञ्चारमाध्यमबाट स्वतन्त्र पत्रकारिता अपेक्षा गर्न कठिन हुन्छ । सरकारी विज्ञापन कुनै सरकारको व्यक्तिगत सम्पत्ति होइन । त्यो सार्वजनिक स्रोत हो, जसको उपयोग पारदर्शी, समान र वस्तुगत मापदण्डका आधारमा हुनुपर्छ । सरकारले कुनै सञ्चारमाध्यमलाई प्रोत्साहन गर्न सक्छ, सार्वजनिक सेवा प्रसारणलाई थप सहयोग गर्न पनि सक्छ, तर त्यसका लागि निजी सञ्चारमाध्यमलाई पूर्ण रूपमा बहिष्कार गर्ने नीति उचित मान्न सकिँदैन । यस्तो अभ्यासले भविष्यमा असहमति राख्ने वा सरकारप्रति आलोचनात्मक हुने सञ्चारमाध्यमलाई आर्थिक रूपमा दण्डित गर्ने खतरनाक नजिर बसाल्न सक्थ्यो । सर्वोच्च अदालतको निर्णयले यही सम्भावित जोखिमलाई समयमै रोकिदिएको छ । अदालतले सरकारका नीति तथा निर्णय पनि संविधानको सीमाभित्र रहनुपर्ने स्पष्ट सन्देश दिएको छ । लोकतन्त्रमा सरकार आलोचनाबाट डराउने होइन, आलोचनालाई सुधारको अवसरका रूपमा ग्रहण गर्ने संस्कार विकास गर्नुपर्छ । सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने माध्यमका रूपमा विज्ञापन नीति प्रयोग गरिनु लोकतान्त्रिक शासन प्रणालीका लागि स्वस्थ अभ्यास हुन सक्दैन । यद्यपि यस घटनाले अर्को महत्वपूर्ण प्रश्न पनि उठाएको छ । सरकारी विज्ञापन वितरण प्रणाली अझै स्पष्ट, पारदर्शी र मापदण्डमा आधारित बन्न सकेको छैन ।

कतिपय अवस्थामा राजनीतिक पहुँच, निकटता वा प्रभावका आधारमा विज्ञापन वितरण हुने गुनासो पनि रहँदै आएको छ । त्यसैले अब सरकार र सरोकारवालाले सबै सञ्चारमाध्यमलाई समान अवसर दिने, पहुँच, प्रभाव, विश्वसनीयता, पाठक तथा दर्शक–श्रोता सङ्ख्या, कानुनी दायित्वको पालना र व्यावसायिक मापदण्डका आधारमा विज्ञापन वितरण गर्ने वैज्ञानिक प्रणाली विकास गर्न आवश्यक छ । सञ्चारमाध्यम लोकतन्त्रको चौथो अंग मानिन्छ। यसको स्वतन्त्रता केवल सञ्चार संस्थाको हितका लागि होइन, नागरिकको सुसूचित हुने अधिकारको संरक्षणका लागि पनि अपरिहार्य हुन्छ । सर्वोच्च अदालतको पछिल्लो फैसला यही संवैधानिक मूल्यको रक्षा गर्ने दिशामा आएको सकारात्मक हस्तक्षेप हो । अब सरकार पनि अदालतको भावनालाई सम्मान गर्दै विभेदकारी नीतिभन्दा निष्पक्ष, पारदर्शी र सबैलाई समान अवसर दिने विज्ञापन प्रणाली निर्माणतर्फ अघि बढ्नुपर्छ । लोकतन्त्र बलियो हुने बाटो राज्य र स्वतन्त्र सञ्चारमाध्यमबीच प्रतिस्पर्धा होइन, पारस्परिक सम्मान, कानुनी समानता र उत्तरदायित्वपूर्ण सहकार्यबाट नै खुल्छ । सरकारी विज्ञापन राज्यको स्रोत हो, सरकारको कृपा होइन । त्यसैले यसको वितरणमा निष्पक्षता, पारदर्शिता र समानताको सिद्धान्त अनिवार्य रूपमा लागू हुनुपर्छ । सर्वोच्चको यो फैसला सञ्चार स्वतन्त्रताको मात्र होइन, लोकतान्त्रिक शासन प्रणाली र नागरिकको सुसूचित हुने अधिकारको पनि महत्वपूर्ण संवैधानिक संरक्षणका रूपमा स्मरणीय रहनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार ३१ गते बुधबार