शिक्षक र अभिभावकलाई मोटिभेसनसम्बन्धी तालिम



कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ मा रहेको डाइनानिमक माध्यमिक विद्यालयका शिक्षक र अभिभावकलाई एकदिने मोटिभेसनसम्बन्धी तालिम प्रदान गरिएको छ । शिक्षक र अभिभावकहरूलाई सकारात्मक सोचतर्फ आकर्षित गर्ने उद्देश्यले ॐ शान्ति कोहलपुर–१० बाँकेको आयोजनामा एकदिने मोटिभेसन तालिम सम्पन्न भएको हो ।

उक्त कार्यक्रम कोहलपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्र श्रेष्ठको सक्रियतामा डाइनामिक स्कुलमा कार्यक्रम सम्पन्न भएको हो । पूर्वअध्यक्ष श्रेष्ठले यसअघि त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई तालिम प्रदान गरिएको र यसपटक शिक्षक र अभिभावकहरूलाई तालिम प्रदान गरिएको बताए । उनका अनुसार हजारौँ बालबालिकाहरूलाई ज्ञान प्रदान गर्ने शिक्षक र अभिभावकहरूलाई विद्यार्थीहरूको उज्जवल भविष्यका लागि खेल्नुपर्ने भूमिकाका विषयमा तालिम प्रदान गरिएको छ ।

‘स्वस्थ र स्वच्छ जीवन आवश्यक छ । त्यसको लागि व्यक्तिलाई प्रेरणा आवश्यक हुन्छ । कोहलपुरमा हामीले अभियानकै रूपमा सञ्चालन गर्नको लागि यस्तो कार्यक्रम सुरुवात गरेका छौँ,’ श्रेष्ठले भने । एकदिने मोटिभेसनसम्बन्धी तालिममा प्रशिक्षार्थी शिक्षक र अभिभावकहरूलाई अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जीवन प्रबन्धन तथा माइन्ड मेमोरी एक्सपर्ट डा.रोजयोगी एल.पी पोखरेलले जीवन जिउने कला र घरेलु आयुर्वेदिक दबाइको सेवन गर्ने विधिबारे प्रकाश पारेका थिए ।

तालिममा प्रशिक्षक पोखरेल, संयोजनकर्ता राजेन्द्रकुमार श्रेष्ठ, खेमराज शाह, ब्रम्हाकुमारी रमिला, पद्मा, स्कुलका सहायक प्रधानाध्यापक रविन्द्र रेग्मी र स्कुलका शिक्षक र अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार २२ गते सोमबार