सात वर्षदेखि निरन्तर पनौती सरसफाइ अभियान



काभ्रेपलाञ्चोक ।

सात वर्षदेखि महिला समूहको सक्रियतामा काभ्रेपलाञ्चोकको पनौतीमा ‘क्लिन पनौतीः ग्रीन पनौती’ अभियान सञ्चालन गर्दै आइएको छ । अभियान्ता समूहले प्रत्येक शनिबार ऐतिहासिक एवं पुरातात्विक पनौती नगरक्षेत्रस्थित रोशी खोला र पुण्यवती खोला सरसफाइ अभियान सञ्चालन गर्दै आएको हो ।

आज अभियानको ३७६औँ हप्ता पुगेको छ । स्थानीय काभ्रेली सक्रिय महिला सङ्गठनद्वारा विसं २०७५ फागुन १८ गतेदेखि अभियान सुरु गरिएको थियो । प्रत्येक शनिबार निरन्तर सञ्चालन हुँदै आएको सरसफाइ अभियानअन्तर्गत आज पनि स्थानीय अगुवाहरूको सक्रियतामा त्रिवेणाीघाट तथा पुण्यवती खोला क्षेत्र सरसफाइ गरिएको छ ।

“सुरुआतको चरणमा हामी महिला मात्रै सहभागी थियौँ, पछिल्ला केही वर्षदेखि स्थानीयले सरसफाइमा सहयोग गर्दै आउनुभएको छ”, अभियन्ता सुमित्रा आचार्यले भनिन् । उनकै अध्यक्षतामा समूह गठन गरी सरसफाइ थालिएको थियो ।ऐतिहासिक महत्व बोकेको पनौती क्षेत्र धार्मिक पर्यटनका हिसाबले निकै महत्वपूर्ण क्षेत्रको सरसफाइ गर्नु स्थानीयको कर्तव्य हुने भएकाले सरसफाइ अभियान सञ्चालन गरिएको आचार्यले बताइन् ।

“सरसफाइ अभियान धार्मिक पर्यटनको थप प्रचाप्रसारको उद्देश्य पनि हो”, उनले भनिन, “अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिनेछौँ।”पनौती नगरकोे ऐतिहासिक एवं पर्यटकीय क्षेत्र दुई खोला समेटिएको वडा ४, ६ र ७ नं पर्दछ । पनौती त्रिवेणी नागरिक सरसफाइ अभियान नाम दिएर चार वर्षअघि सरसफाइ थालिएको हो ।

प्रत्येक १०० हप्तामा सरसफाइ महोत्सव आयोजना गरी ठूलो जनसहभागिता जुटाउँदै सरसफाइ एवं प्लेकार्ड बोकेर जनचेतनाका लागि पनौती बजार परिक्रममा गर्दै आइएको अभियन्ता आचार्यले जानकारी दिइन् ।स्थानीय गीता तिमल्सिनाले अभियान सफल हुँदै जानुका साथै नागरिकमा धार्मिक तथा ऐतिहासिक सम्पदा वरपर सरसफाइ गर्नुपर्ने विषयमा सचेतना बढ्दै गएको बताइन् ।

“स्थानीय महिलाको सक्रियतामा सरसफाइ अभियान तीन सय पचासभन्दा बढी हप्ता पुग्नु गौरवको विषय हो”, उनले भनिन् । जिल्लामा सबैभन्दा बढी मठमन्दिर रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय महत्व बोकेको पनौती विश्व सम्पदामा सूचीकृतको प्रक्रियामा छ ।पनौतीमा प्रत्येक १२ वर्षमा एकमहिने मकर मेला लाग्दछ भने प्रत्येक वर्षको जेष्ठ त्रयोदशीदेखि पूर्णिमासम्म ज्याः पुन्हि अर्थात् हिलेजात्रा धुमधामसँग मनाउँदै आइएको छ ।

राजा प्रताप मल्लले विसं १२७ मा काठमाडौँमा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख छ ।किंवदन्तीअनुसार तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा भनिएको स्थलमा पुण्यमाता र रोशी खोलाबाहेक पद्यमावती नदी गुप्तरुपमा बहिरहेको मान्यता छ । भारतको प्रयागमा गङ्गा र यमूना नदीको सङ्गममा गुप्तरुपले सरस्वती मिसन नदी बहेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुण्यमाता नदीलाई लिलावती र गुप्तरुपले बहेकी ब्रम्हायणी मन्दिरको मुनिबाट दूध बग्ने नदीलाई पद्यमावती मानिँदै आइएको छ । रासस

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २ गते शनिबार